रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर देखिएको विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ । आगामी दिनमा पुनः विवाद उत्पन्न भए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत सचिवालय गठन गर्ने सहमति भएको छ ।
जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित गरिएको थियो । विवाद चर्किँदै गएपछि पार्टीका नेता तथा कार्यकर्ताले केन्द्रीय अध्यक्ष, महासचिव, संगठन विभाग र प्रदेश कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीपछि बसेको छैठौँ पूर्ण जिल्ला कमिटी बैठकमा अध्यक्षता ग्रहण गर्दै जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम कडेरियाले सचिवालय गठन प्रक्रिया हाललाई स्थगित गरिएको घोषणा गरे । बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेल, गीता कार्की तथा जिल्ला कमिटी पदाधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा नेतृत्वबाट प्रक्रिया सञ्चालनमा केही कमी–कमजोरी भएको स्वीकारसमेत गरिएको थियो ।
बैठकका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय सदस्य माधव ढुंगेलले कार्यकर्ताबीच व्यापक असन्तुष्टि देखिएकाले सचिवालय गठन स्थगित गरिएको विषय सबै माझ खुलस्त पारेका थिए ।
यसअघि पौष २१ गते जिल्ला पार्टी नेतृत्व, केन्द्रीय सदस्य तथा असन्तुष्ट नेता–कार्यकर्ताबीच करिब ६ घण्टा लामो छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सोही कारण सचिवालय बैठक पटक–पटक समय तोकिए पनि सञ्चालन हुन सकेन ।
यही नामसूचीको सचिवालय गठन विषयमा यसअघि भाद्र महिनामै पूर्व जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईं र जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरियाबीच विवाद भएको र त्यसबेला पनि प्रक्रिया स्थगित भएको थियो । पछिल्लो बैठकमा भने हालको नेतृत्वले पाँचौँ जिल्ला कमिटी बैठकबाट म्यान्डेट लिएर सचिवालय सदस्य टुंग्याइसकेको दाबी गरेको थियो ।
तर असन्तुष्ट पक्षले तत्काल पूर्व इन्चार्जसँग स्पष्टता लिन आग्रह गरेपछि नवनिर्वाचित केन्द्रीय सदस्य माधव ढुंगेल र पूर्व जिल्ला इन्चार्ज कमल चौलागाईंबीच भिडियो कलमार्फत कुराकानी भएको थियो । सो क्रममा पूर्व इन्चार्ज कमलप्रसाद चौलागाईंले उक्त दाबी अस्वीकार गर्दै झुटा आरोप लगाएर अर्काको टाउकोमा दोष थोपर्ने काम नगर्न चेतावनी दिएको असन्तुष्ट पक्षको भनाइ छ ।
विधि–विधान बाहिर गएर बैठक सञ्चालन गर्न खोजिएको भन्दै असन्तुष्ट समूहले चर्को विरोध जनाउँदै जबर्जस्ती निर्णय भए जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरी मिडियामार्फत सार्वजनिक गर्ने चेतावनीसमेत दिएका थिए ।
भोलिपल्ट सम्पन्न छैठौँ पूर्ण जिल्ला कमिटी बैठकले भने फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका ८ जना उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।
नेकपा एमाले रामेछापमा अघिल्लो नेतृत्वले समेत सचिवालय गठन गर्न नसकेको र वर्तमान नेतृत्वले पनि आसेपासे केन्द्रित निर्णय गरेको आरोपपछि इमान्दार र वफादार कार्यकर्ताले विरोध जनाएका हुन् । नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचन र २०८४ को स्थानीय तथा प्रदेश निर्वाचनको टिकट आफ्नो पकडमा पार्ने उद्देश्यले विभिन्न षड्यन्त्र गरिएको र चुनावको मुखमा पार्टीलाई कमजोर बनाउने प्रयास भएको ठहर गर्दै नेतृत्वलाई सचेत गराउन खबरदारी गरिएको उनीहरूको भनाइ छ ।
पार्टी केन्द्रीय कमिटी, संगठन विभाग र प्रदेश कमिटीमा उजुरी परेपछि केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुंगेलको उपस्थितिमा भएको छलफलबाट सचिवालय गठन प्रक्रिया हाललाई स्थगित गर्ने, आगामी सातौँ पूर्ण बैठकबाट अनुमोदन गर्ने र यदि पुनः विवाद आए निर्वाचनमार्फत टुंग्याउने सहमति भएको जानकारी गराइएको छ ।
