खाँडादेवी गाउँपालिका बन्यो, अध्यक्षका आफन्तको भर्ति केन्द्र

 शनिबार, माघ ५, २०७५ | onlinenews
Share this

रामेछाप–रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ, बहिनीज्वाई श्याम लामा सहित २१ जना पालिकामा जागिरे भएको खुलेको हो ।
स्थानीय बेदराज लामाले आफ्ना नाताका मानिसलाई मात्र गाउँपालिकामा अध्यक्ष तामाङले जागिर दिएको भन्दै आक्रोश पोखेका छन् । अचम्म त के छ भने अधिकृत तहदेखि सवारी चालकसम्म २१ जना कर्मचारी छनौट हुँदा १ भन्दा बढीको आवेदन नै नपरेको पालिकाले दाबी गरेको छ ।
खाँडादेवी गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार अध्यक्ष प्रेमबहादुर तामाङकी छोरी पशु चिकित्सक पदमा, ज्वाइँ कम्प्युटर अपरेटर पदमा, भाइ सूचना तथा प्रविधि अधिकृत पदमा निर्विवाद नियुक्त भएका हुन् ।
पालिका अध्यक्ष तामाङले समेत कुनै पनि पदमा कसैले आवेदन नगरेकाले आफ्नी छोरीसहित घरपरिवारकै मानिस छनौट भएको बताएका छन् । उनले आफन्त मात्र भर्ति गरेको भन्ने आरोप सत्य नभएको दाबी गर्दै आफूलाई सहयोग पुगोस् भनेर आफन्त ल्याएको स्वीकार गरेका छन् ।
कर्मचारी आवश्यकताका लागि गत असोजमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाले पनि कसैको आवेदन नपरेपछि गत मंसिरमा अध्यक्ष तामाङका एकाघरका नातेदार सहितका आफन्तहरु छनौट भएको सुवेदीले जनाएका छन् ।
यसअघि खाँडादेवी गाउँपालिका भवनमा अनियमितता भएको आशंका गर्दै अधिकांश वडाअध्यक्षले गाउँपालिकाकोे भवन उद्घाटन कार्यक्रम नै बहिस्कार गरेका थिए । हालै भएको पालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा एउटा मात्र निजी रेडियोलाई लाभ हुनेगरी अध्यक्ष प्रेमबहादुर तामाङले गतिविधि गरेको भन्दै रामेछापका अधिकांश विद्युतीय सञ्चार माध्यमले कार्यक्रम नै बहिस्कार गरेका थिए ।

(समाचार उत्पादक निगरानी समूह)

Share this

प्रतिकृया

Add