गाउँपालिका अध्यक्षले आफ्नो कर्तुत लुकाउन मेरो चरित्र हत्या गरे : वडा अध्यक्ष बोहरा

 शुक्रबार, साउन २४, २०७६ | onlinenews
Share this

रामेछाप– गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो चरित्रहत्या गरेको लिखु तामाकोशी गाउँपालिका–७ का अध्यक्ष शुभास बोहराले बताएका छन् । गाउँपालिका अध्यक्ष खड्का आफूले गरेको कर्तुत ढाकछोप गर्न आफ्नो चरित्र हत्या गरेको वडा अध्यक्ष बोहराको आरोप छ ।
गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले वडा अध्यक्ष शुभास बोहराले आफ्नो हत्या योजना बनाएको भनि मिडियाबाजी गरेपछि वडा अध्यक्ष शुभास बोहरले एक विज्ञप्ति प्रकाशित गरि गाउँपालिका अध्यक्ष खड्काको भनाईको खण्डन गरेका छन् । वडा अध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना भनेर गाउँपालिका अध्यक्ष खड्काले मिडिया मार्फत सार्वजनिक गरेको भनाईप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको वडा अध्यक्ष बोहराद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँको विद्युतिकरणमा विनियोजन गरिएको बजेट पारदर्शी हुनुपर्ने कार्यपालिका सदस्यहरुले कुरा उठाएपछि केही समय पहिलेदेखि नै लिखु तामाकोसी गाउँपालिकामा समस्या देखिदै आएको थियो । कार्यपालिका सदस्यहरुले दुरागाउँमा विद्युतिकरणको लागि विनियोजन गरिएको बजेटको अनुगमन गरि पारदर्शीता कायम गर्नुपर्ने माग राख्दै आएका थिए । तर गाउँपालिका अध्यक्ष खड्काले भने अनुगमन गर्नुपर्ने कार्यपालिका सदस्यहरुको मागलाई अस्वीकार गर्दै आएको कार्यपालिका सदस्यहरुको भनाई छ ।
अघिल्लो आर्थिक वर्षमा विनियोज गरेको बजेटको अनुगमन नगरि चालू आर्थिक वर्षको लागि पनि बजेट विनियोजन गर्नुपर्ने गाउँपालिका अध्यक्षको प्रस्तावलाई कार्यपालिका सदस्यहरुले अस्वीकार गरेपछि गाउँपालिका अध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का अध्यक्ष शुभास बोहरामाथि आक्रमण समेत गरेका थिए । त्यसपछि कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन भने १५ जना कार्यपालिका सदस्यहरु मध्य १२ जना कार्यपालिका सदस्यहरु शान्ति सुरक्षा नभएको भन्दै सदरमुकाम मन्थलीमै बस्दै आएका छन् ।
गत वर्ष कार्यान्वयन गरिएका योजनाहरुको अनुगम गरि पारदर्शीता कायम गर्नुपर्ने साथै आफूहरुको सुरक्षाको ग्यारेन्टि भएमात्र गाउँपालिका फर्कने कार्यपालिका सदस्यहरुको भनाई छ ।
विद्युतीकरणमा गाउँपालिका अध्यक्षले गरेको अनियमितताको विषयले चर्को रुप लिइरहेको बेला आफूले गरेको अनियमिततालाई ढाकछोप गर्न गाउँपालिका अध्यक्षले आफ्नो हत्या गर्ने योजनामा वडा अध्यक्ष शुभास बोहरा लागेको भनि बदनियतपूर्ण र कल्पना समेत गर्न नसकिने निकृष्ट र घिनलाग्दो आरोप लगाएको बोहरद्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ । विना प्रमाण कपोकल्पित आरोप लगाएको भनि वडा अध्यक्ष बोहराले आरोपप्रति घोर भत्सर्ना गर्दैै आरोप प्रमाणित गर्न समेत चुनौति दिएका छन् ।
घटनाको सत्यतथ्य छानविन गरि आवश्यक कारबाही गर्न पनि वडा अध्यक्ष बोहराले विज्ञप्ति मार्फत नेपाल सरकार र उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेका छन् । कपोकल्पित र झुठा आरोपबाट कति पनि विचलिन नभई अनियमितता, बिकृति, विसंगति, भ्रष्टाचार, घूसखोरी अन्याय र अत्याचारको विरुद्धमा निरन्तर लडिरहने पनि वडा अध्यक्ष बोहराले विज्ञप्ति मार्फत प्रतिवद्धता जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेताहरुले बोहराले गाउँपालिका अध्यक्ष खड्काको हत्या योजना बनाएको भनि गरिएको प्रचार गतल भएको बताएको छ । विभिन्न आपराधिक गतिविधिमा सम्लग्न गुण्डालाई प्रहरीले पक्राउ गरेको विषयलाई ट्वीस गरेर वडा अध्यक्ष बोहरामाथि गाउँपालिका अध्यक्षले झुठा आरोप लगाएको नेकपा रामेछापको भनाई छ ।

Share this

प्रतिकृया

Add