सुनापतिमा खानेपानी, क्लिनिक र प्रसूति गृह उद्घाटन

 शुक्रबार, कार्तिक २९, २०७६ | onlinenews
Share this

तिलक कार्की,
रामेछाप– सुनापति गाउँपालिकाको वडा नम्बर २ को दिमपोखरीमा निर्माण गरिएको प्रसूति गृह, चाँपस्वरा गाउँघर क्लिनिकको भवन र वडा नम्बर ५ को खनियापानीमा निर्माण गरिएको कपेश्वरी लोफ्रा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
प्रसूति गृहको उद्घाटन सुनापति गाउँपालिका अध्यक्ष धावा लामा तथा पिएसएफ लक्जेवर्गका अध्यक्ष क्यामिल ग्रसले संयुक्त रुपमा गरेका थिए ।
गाउँपालिका र वडा कार्यालयको ५ लाख ५० हजार रुपैयाँ, परियोजनाको ५ लाख ५० हजार र आर.वि. सिद्धार्थ कन्स्टसन प्रा.लि.को ५० हजार रुपैयाँ गरि ११ लाख ५० हजार रुपैयाँको लागतमा ३ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो । त्यसैगरी बाथरुम सहितको शौचालय पनि निर्माण गरिएको छ । प्रसूति गृह सञ्चालनमा आएसँगै सुनापति गाउँपलिकाको दिमीपोखरी र दोरम्वा गाउँपालिकाको वडा नम्बर ३ का गरि ७ सय ८९ घरधुरी स्थानीय लाभान्वित हुने भएका छन् ।


त्यसैगरी चाँपस्वरा गाउँघर क्लिनिक भवनको पनि सोहि दिन उद्घाटन गरिएको छ । २ कोठे भूकम्प प्रतिरोधी भवन साथै शौचालय, धारा पनि निर्माण गरिएको छ । गाउँघर क्लिनिक उद्घाटन भएकै दिनबाट स्वास्थ्य सेवा पनि सुचारु गरिएको छ ।
क्लिनिक भवन ३ लाख रुपैयाँ बरावरको स्थानीयको श्रमदान, ५ लाख रुपैयाँ परियोजना र गाउँपालिकाको .३ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
त्यस्तै सुनापति गाउँपालिकाको–५ खनियापानीमा कपेश्वरी लोफ्रा खानेपानी आयोजना पनि उद्घाटन तथा हस्तान्तरण गरिएको छ । परियोजनाले खनियापानीका ५५ घर नेवार समुदायलाई प्रत्येक घरमा धारो सहित २० घनमिटरको ट्याङ्की, घेरावार, इन्टेक लगायतका संरचना पनि निर्माण गरिदिएको छ ।


१९ लाख ४३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको आयोजनामा १२ लाख ५ हजार त्रिपन्न रुपैयाँ परियोजना, ६ लाख अट्तीस हजार समुदाय र १ लाख रुपैयाँ वडा कार्यालयको लगानी रहेको छ । खानेपानी आयोजनाको उद्घाटन गाउँपालिका उपाध्यक्ष गीता विष्ट, पिएसएफ लक्जेवर्गका अध्यक्ष क्यामिल ग्रस र कार्यसमिति सदस्य मार्कले संयुक्त रुपमा गरेका थिए ।


सोहि क्रममा लाम्पाते लिफ्ट खानेपानी आयोजना, गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजनाको समेत अनुगमन गरिएको थियो । कार्यक्रम वडा कार्यालय, सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजनामा सम्पन्न भएको हो ।
अथितिहरुलाई समुदायले भारी फूलमालाले स्वागत गरेका थिए भने पञ्चेबाजा, डम्फू नाच, झाँक्री नाच तथा जातजातिका भेसभुषामा सजिएका युवा तथा बाल क्लब सञ्जाल, महिला समूह तथा सहकारीका पदाधिकारीहरुले भब्य स्वागत गरेका थिए ।

Share this

प्रतिकृया

Add