कर्मचारीको मिलेमतोमा खानेपानी योजनामा ब्यापक अनियमितता

 शनिबार, माघ १८, २०७६ | onlinenews
Share this

१८ माघ, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालित खानेपानी र घट्टे खोला तटबन्ध योजनामा ब्यापक अनियमितता भएको पाइएको छ । ठोसे बजार र आसपासका बस्तीमा खानेपानीको चरम अभाव छ ।
त्यहाँका स्थानीयहरु खिम्ती खोलाको पानी बोकेर खाइरहेका छन् । तर, ठोसेमा ३ वर्षदेखि ६ वटा खानेपानी योजनाहरु अलपत्र परेर बसेका छन् । साविकको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछापको इन्जीनियर नवराज सत्याल र ठोसेका स्थानीय महेशलाल प्रधानको मिलेमतोमा योजनाको पैसा हिनामिना गरेपछि खानेपानी योजनाहरु अलपत्र परेका हुन् ।


खानेपानी योजना अलपत्र परेपछि खिम्ती खोलाको पानी बोकेर खानुपरेको स्थानीय खड्गबहादुर कार्कीले बताए । ठोसे खानेपानी योजना अन्तर्गत ट्यांकी निर्माण गरिएको छ तर ट्यांकीमा पानी झरेको छैन । सम्बन्धित निकायलाई धारामा पानी कहिले झर्छ भनि सोध्दा धारामा पानी झरिसकेको बताउछन् तर रिजर्भ ट्यांकीमा पाइप लाइन नै जोडिएको छैन अर्का स्थानीय गंगाराम प्रधानले भने ।
खानेपानी योजना निर्माणमा काम गरेका कामदारलाई समेत पारिश्रमिक दिइएको छैन । खानेपानी कार्यालयको इन्जीनियर र स्थानीय महेशलाल प्रधानको मिलेमतोमा उपभोक्ता समितिका अध्यक्षलाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर पैसा निकाल्दै खाएपछि, ठोसे खानेपानी योजना, गोब्रेटाहार खानेपानी योजना, सिंगटी खानेपानी योजना, थुम्की खानेपानी योजना, एकामफेदी खानेपानी योजना र लिसे खानेपानी योजना तीन वर्षदेखि अलपत्र परेका छन् ।

स्थानीय महेशलाल प्रधान र खानेपानी कार्यालयको मिलेमतोमा खानेपानी योजनामा क्रमागत बजेट हाल्ने र कामै नगरि बजेट निकासा गरेर खाने गरेको स्थानीयको आरोप छ । अलपत्र रहेको योजनाहरुको बारेमा खानेपानी कार्यालयमा बुझ्न जाँदा इन्जीनियर नवराज सत्यालले योजना सम्पन्न भइसकेको जवाफ दिएको उपभोक्ता सुरेन्द्र श्रेष्ठले बताए । उनले भने– खानेपानीको अवस्था भद्रगोल छ सम्बन्धित अधिकारीलाई सोध्दा योजना सम्पन्न भएर उपभोक्ताले पानी खाइसकेको छ भन्छ, उपभोक्ता हामी नै हौं पानी कस्ले खायो हामीले थाहा पाउँन सकेनौ श्रेष्ठले भने ।
एक करोड ५० लाखको ठोसे खानेपानी योजनामा बीस हजार लिटरको एक रिजर्भ ट्यांकी र एक इन्टेक बनाएर ७१ लाख रुपैयाँ निकासा लिएर बाँकी काम अलपत्र छोडेको स्थानीय मनिराज कार्कीले बताए । ट्यांकी निर्माणको लागि ल्याइएको सिमेन्ट र रड समेत उपभोक्ता समितिका ब्यक्तिहरुले निजी घर निर्माणको लागि प्रयोग गरेको कार्कीले बताए । ठोसेमा सञ्चालीत खानेपानी योजनाहरु सबैको कोषाध्यक्ष एउटै ब्यक्ति बनाएर योजनाको पैसा झिक्दै खादै गरेको कार्कीको भनाई छ । इन्जीनियर नवराज सत्याल, स्थानीय महेशलाल प्रधान र खानेपानी योजनाको कोषाध्यक्ष आशाकाजी श्रेष्ठ मिलेर योजनाको पैसा हिनामिना गरेको कार्कीको दावि छ ।


वडामा सञ्चालीत सबै खानेपानी योजनाहरुमा उपभोक्ता समितिको कोषाध्यक्ष एउटै ब्यक्ति बस्ने र सीमित ब्यक्तिहरु मिलेर योजनाको बजेट हिनामिना गर्ने गरेको स्थानीयको भनाई छ । उपभोक्ता समितिलाई योजनाको बजेटको बारेमा जानकारी नदिई समितिका अध्यक्षलाई बैंकको चेकमा हस्ताक्षर गर्न लगाएर पैसा निकासा गरि अपचलन गरेको स्थानीयको भनाई छ ।
अलपत्र रहेको खानेपानी योजनाहरुको बारेमा स्थानीय उपभोक्ताले खानेपानी कार्यालय र गाउँपालिकामा समेत पटक–पटक गुनासो राख्दा पनि सुनुवाई नभएपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । स्थानीयले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरि स्थलगत अध्ययन समेत गरिसकेको छ । स्थानीयले खानेपानी योजनामा अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै उजुरी दिएपछि महेशलाल प्रधानले उजुरी दिनेको हातखुट्टा भाँची दिन्छु भनेर धम्क्याएको डबल बहादुर श्रेष्ठले बताए । अख्तियारमा दिएको उजुरीको बोधार्थ गाउँपालिकाको कार्यालयमा दिएका थियौं त्यो उजुरीको प्रतिलिपी महेशलाल प्रधानको हातमा पुगेछ, त्यसपछि उनले धम्याउने काम गरिरहेका छन्, उनले भने ।


साविकको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछाप तथा हालको प्रदेश खानेपानी कार्यालयका इन्जीनियर नवराज सत्यालले भने आर्थिक अनियमिततामा आफ्नो सम्लग्नता नरहेको बताएका छन् । उनले भने– पैसा निकासा भएको छ तर अनियमिततामा मेरो सम्लग्नता छैन ।
योजनाको पैसा अपचलन गर्ने कामको नेतृत्व गरेको भनि नाम जोडिएको स्थानीय महेशलाल प्रधानले पनि आर्थिक अनियमिततामा आफ्नो संम्लग्नता नरहेको बताएका छन् । उनले भने म कुनै पनि उपभोक्ता समितिमा छैन, मैले पैसा खायो भनेर लगाएको आरोप झुठो हो उनले भने ।

तीन वर्षसम्म पनि पाएनन् कामदारले ज्याला

साविकको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रामेछापद्धारा ठोसेमा सञ्चालीत खानेपानी योजनाहरुमा काम गरेका मजदुरहरुले तीन वर्ष बितिसक्दा पनि ज्याला पाएका छैनन् । तीन वर्ष पहिले खानेपानी योजना निर्माणमा काम गरेका कामदारहरुलाई कामको ज्याला नदिएको हो । स्थानीय महेशलाल प्रधानले उपभोक्ता समितिमा आपूmले भनेको मान्ने ब्यक्तिहरुलाई राखेर योजनाको रकम हिनामिना गरेको स्थानीयको आरोप छ । ठोसेमा सञ्चालीत ६ वटा खानेपानी योजनाहरु अधिकांशमा काम नगरिकन बजेट निकासा गरेको पाइएको छ । उपभोक्ता समितिका पदाधिकारीलाई योजनाको बजेट कति आएको थियो र कति निकासा भयो भन्ने समेत थाहा छैन । उपभोक्ता समितिका कोषाध्यक्ष मार्फत समितिका अध्यक्षलाई चेकमा हस्ताक्षर गर्न लगाई महेशलाल प्रधानले पैसा निकालेर खाएपछि कामदारलाई ज्याला दिन नसकिएको उपभोक्ता समितिका अध्यक्षहरुको भनाई छ । विकासको योजना आपूmले ल्याएको भन्दै महेशलाल प्रधानले योजनाको पैसा निकालेर खाएको र उनको विरोध गर्दा आएको विकास पनि फिर्ता पठाइदिन्छु भनि धम्क्याउने गरेको उपभोक्ताको गुनासो छ । गाउँमा आएको विकास पनि फिर्ता जाने डरले स्थानीय महेशलालको ज्यादती सहेर बस्न बाध्य छन् । खानेपानी योजनामा काम गरेका १ सय ५० जना भन्दा बढी मजदुरले तीन वर्ष बितिसक्दा पनि श्रमको मूल्य पाएका छैनन् । लिसे खानेपानी योजनामा २५ जना मजदुरले ५ दिनदेखि १ सय २५ दिनसम्म काम गरेका थिए तर ती मजदुरहरुले अहिलेसम्म ज्याला नपाएको कामदार डम्बरबहादुर खड्काले बताए । पटक–पटक पैसा माग्न जाँदा पनि नदिएको सोही योजनामा काम गरेकी चन्द्रमाया खड्काले गुनासो गरिन् ।


योजनाको कुल बजेट कति हो भन्ने उपभोक्ता समितिलाई थाहा छैन । खानेपानी ट्यांकी निर्माणको लागि आवश्यक सिमेन्ट, गिटी र ढुवानीको पैसा समेत उपभोक्ता समितिले कामदारसँग उल्टो पैसा उठाएर तिरेका छन् । लिसे खानेपानी योजनामा काम गरेका २५ जना कामदारलाई ११ लाख ४७ हजार ५ सय रुपैयाँ ज्याला दिन बाँकी रहेको सोही खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खड्काले बताए ।
उपभोक्ता समितिका अध्यक्ष खड्काका अनुसार मिस्त्रीलाई दिनको ७ सय र अन्य कामदारलाई दिनको ५ सय ज्यालामा काम लगाइएको थियो । सो योजनामा ५ दिनदेखि १ सय २५ दिनसम्म काम गर्ने कामदाहरु रहेको उनले बताए । खानेपानीको ट्यांकी निर्माणको लागि आवश्यक सिमेन्ट, गिटी र रड ढुवानी वापतको खर्च आपूmले ब्यक्तिगत रुपमा व्यहोेरेको बताए । आपूmले मात्रै ढुवानी भाडा तिर्न नसकेपछि कामदारसँग प्रतिब्यक्ति ८ सयका दरले पैसा उठाएर तिरेको उनको भनाई छ । योजनाको पैसा कति हो मलाई थाहा छैन । १ लाख ६० हजार रुपैयाँ उल्लेख भएको एउटा चेक र अर्को एउटा खाली चेकमा मलाई सही गर्न लगाए त्यो भन्दा पछि के भयो मलाई थाहा छैन उनले भने ।
त्यस्तै थुम्की खानेपानी योजनामा काम गर्ने कामदारको पीडा पनि उस्तै छ । २५ दिनदेखि ९४ दिनसम्म काम गरेका कामदारले ज्याला नपाएको कामदार केदार राउतले बताए । उपभोक्ता समितिका पदाधिकारीलाई आपूm समितिमा रहेको कुरा समेत जानकारी हुँदैन । गोब्रेश्वर महादेवथान खानेपानी योजनाका कोषाध्यक्ष पूर्णबहादुर खड्काले पैसा निकाल्ने बेलामा मात्रै आपूm योजनाको कोषाध्यक्ष भएको थाहा पाए । महेशलाल प्रधानले समितिको कोषाध्क्षमा राखिदिएको भन्दै चेकमा हस्ताक्षर गर्न लगाए । चेकमा हस्ताक्षर गर्न नमान्दा जबर्जस्ती हस्ताक्षर गराए । एक लाखको योजनामा कामै नगरि पैसा निकालेर ५० हजार रुपैयाँ मेरो भतिजलाई दिए, ५० हजार रुपैयाँ महेशलालले खल्तीमा हाले उनले भने । उनले थपे–काम भएको छैन अहिले पनि गएर हेरे हुन्छ, कामै नगरी पैसा निकालेर खाए ।


त्यतिमात्र हैन अन्य आयोजना मार्फत निर्माण गरिएका धारा देखाएर समेत पैसा खाएका छन् । (जि.डब्लू.एस.) गोरखा वेलफेयर सर्भिसले निर्माण गरेको धाराको फोटो देखाएर १५ लाख रुपैयाँ पैसा खाएको स्थानीयको दावि छ । गोब्रेटार खानेपानी योजनाको नाममा कुनै पनि काम भएको छैन । तर १४ लाख २२ हजार रुपैयाँ भुक्तानी लिएको भनि स्थानीयले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
एउटा उपभोक्ता समितिको पदाधिकारीमा बसेका ब्यक्ति अर्को उपभोक्ता समितिमा बस्न नपाउने गरी गोकुलगंगा गाउँपालिकाले कार्यविधि बनाएको छ । तर, एउटै ब्यक्ति ३ वटा भन्दा बढी खानेपानी योजनामा उपभोक्ता समितिको कोषाध्यक्ष पदमा बसेका छन् । तीन वटा भन्दा बढी उपभोक्ता समितिको कोषाध्यक्ष बस्ने ब्यक्ति हुन् ठोसेका आशाकाजी श्रेष्ठ । उनी गप्तेश्वरी आधारभूत विद्यालय एकांमफेदीको शिक्षक समेत हुन् । कर्मचारीले उपभोक्ता समितिमा बस्नु हुन्न भन्ने थाहा नभएर उनी कोषाध्यक्ष बसेका होइनन् । योजनामा आर्थिक सेटिङ मिलाउन कोषाध्यक्ष बनेका हुन् । मलाई उपभोक्ता समितिमा बस्नु हुन्न भने थाहा थियो तर कटकबहादुर बस्नेतले कोषाध्यक्ष बस भन्यो अनि बसेको हुँ उनले भने ।
उनले खानेपानी योजनाहरुको कोषाध्यक्ष बसेर बिना काम पैसा निकासाको सेटिङ मिलाएका मात्र छैनन् । योजनाको नाममा आएको सिमेन्ट र रड बेचेर समेत खाएका छन् । योजनाको नाममा आएको निर्माण सामग्री आपूmले बेचेको उनले स्वीकार गरेका छन् । उनले भने–मैले पनि किनेर नै ल्याएको हुँ अनि बेच्दा के भयो त उनले भने ।
कामदारलाई दिनुपर्ने पैसा आपूmलाई एकीन नभएको भन्दै जति दिनुपर्ने हो त्यति दिन आपूm तयार रहेको उनले बताएका छन् । स्थानीयको ठूलो दवाव परेपछि उनी कामदारलाई पैसा दिन तयार भएका हुन् । क्रमातग योजना भएकाले खोनेपानी योजनाहरुमा चालू आर्थिक वर्षमा समेत बजेट आएको उनले बताएका छन् । योजनाको काम भने तीन वर्षदेखि अलपत्र छोडिएको छ ।
शिक्षा नियमावली अनुसार शिक्षकले उपभोक्ता समितिमा बस्न नमिल्ने गोकुलगंगा गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । उपभोक्ता समितिमा बसी योजनाको बजेट अपचलन गर्ने शिक्षक माथि कारबाही हुने शिक्षा शाखाले जनाएको छ ।

घाट घरमा समेत घोटला

ठोसेको खानेपानी योजनामा मात्र होइन, ठोसेका स्थानीयले शव जलाउन प्रयोग गर्दै आएको खिम्ती खोलाको किनारमा शव राख्ने प्रयोजनको लागि निर्माण गरिएको घाट घरमा समेत घोटला भएको छ । घाट घर निर्माणको लागि ओखलढुङ्गाका रोषन सुनुवारलाई ९० हजार रुपैयाँमा ठेक्का दिएका थिए । ९० हजारको ठेक्का बाहेक ढुङ्गा, गिटी र बालुवाको छुट्टै पैसा दिने भनि काम लगाएका थिए । ढुङ्गा, गिटी र बालुवाको त हिसाब नै छैन । ९० हजार रुपैयाँको ठेक्का दिएको घाट घरको ५० हजार रुपैयाँ मात्र भुक्तानी भयो । तर, बाँकी ४० हजार रुपैयाँ तीन वर्ष वितिसक्दा पनि पाएका छैनन् रोषनले । पटक–पटक माग्दा पनि पैसा नदिएको उनको भनाई छ । धेरै पटक पैसा मागें, पैसा माग्न जाँदा एकपटक तीन चार झापड हिर्काए त्यसपछि पैसा माग्नै छोडे, अब त मैले त्यो पैसाको माया मारिसके रोषनले भने ।


घट्टे खोला तटबन्धको नाममा पनि लाखौं रुपैयाँ घोटला भएको छ । घट्टे खोलामा लगाइएको तटबन्धको पुरानो जालीको फोटो देखाएर वर्षेनी बजेट ल्याएर खाइरहेको स्थानीय फत्तबहादुर कार्कीले बताए । तटबन्धको नाममा पुरानै जालीको ढुङ्गा झिक्दै राख्दै पैसा ल्याएर खाइरहेको कार्कीको भनाई छ । उनले भने– यो खोला केही ब्यक्तिको लागि कमाई खाने भाँडो भएको छ ।
त्यतिमात्र हैन प्रधानले हाइड्रोपावरमा शेयर हालिदिन्छु भन्दै स्थानीयलाई ठगेका छन् । गोकुलगंगा गाउँपालिका १ चुचुरेको गर्जाङ्गमा सञ्चालीत हाइड्रोपावरमा शेयर हालिदिन्छु भनि महेशलाल प्रधानले आपूmलाई ५० हजार रुपैयाँ ठगि गरेको ठोसेकी विन्दुकुमारी कार्कीले बताइन । हाइड्रोपावरमा शेयर नहालेको थाहा पाएपछि पटक–पटक मागँे दिन्छु–दिन्छु भन्छ तर पाँच वर्ष भइसक्यो आजसम्म पैसा फिर्ता दिएको छैन उनले भनिन् ।


स्थानीय तह निर्माण भइसकेपछि सञ्चालन गरिएका योजनाहरुमा अनियमितता नभएको गोकुलगंगा गाउँपालिकाको दावि छ । स्थानीय सरकार आउनु पहिले नै सञ्चालन गरिएको योजनाहरुमा अनियमितता भएको आपूmले पनि सुनेको भन्दै पैसा नपाएका कामदारहरुलाई पैसा दिलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।
ठोसेमा सञ्चालीत योजनाहरुको बारेमा स्थलगत अनुगमन भई प्रतिवेदन समेत आइसकेकाले अब छानविनको लागि अगाडि बढ्न रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताइन । थप प्रमाणहरु खोज्ने काम भइरहेको र छानविनबाट अनियमितता भएको पुष्टि भएमा दोषिमाथि कानून बमोजिम हदैसम्मको कारबाही हुने पनि प्रजिअ केसीले बताइन ।

Share this

प्रतिकृया

Add