पूर्वाधार विकाससँगै भक्तजनको चहलपहल बढ्यो स्थानापति महादेव मन्दीरमा

 मङ्लबार, फाल्गुन ६, २०७६ | onlinenews
Share this

६ फागुन, रामेछाप– जिल्लाको एक ऐतिहासिक मन्दीरको रुपमा रहेको स्थानापति महादेव मन्दीर जाने भक्तजनको सहजताको लागि सिँडी निर्माण गर्ने काम भइरहेको छ । स्थानापति महादेव मन्दीर जाने बाटोमा सिँडी निर्माण भएसँगै भक्तजनको चलपहल पनि बढेको छ ।
सदरमुकाम मन्थलीबाट १५ किलोमिटरको दूरीमा रहेको स्थानापति महादेव मन्दिर रामेछाप जिल्लाको मात्र नभएर नेपालकै ऐतिहासिक मन्दीरहरु मध्य पर्दछ । स्थानापति महादेव मन्दीरलाई काठमाडौंको पशुपतिनाथ र खोटाङको हलेसीपछि तेस्रो पशुपतिनाथको रुपमा लिइन्छ भने पूर्वको दोश्रो पशुपतिनाथको रुपमा मानिन्छ ।


मन्थलीबाट गेलु, फुलासी हुँदै जाँदा महादेव मन्दिर परिसरसम्म सवारी साधन पुग्ने भए पनि स्थानापति महादेव मन्दीरको काखमा रहेको भीरमा सानो महादेव लगायतका देवताथानहरु रहेकाले भक्तजनहरु मन्थलीबाट चिसापानी पुरानोगाउँ हुँदै जाने गर्दछन् । पुनारोगाउँ हुँदै जाँदा स्थानापति महादेव थानको काखमा रहेको हाटडाँडाबाट करिब पौने घण्टा भीरको उकालो बाटो पैदल हिड्नु पर्दछ ।
उकालो बाटोको ठाउँठाउँमा विभिन्न देवताहरुको थान भएकाले प्रायजसो भक्तजनहरु भीरको बाटो भएर नै महादेवथान जाने गर्दछन् । अधिकांश भक्तजनहरु भीरको बाटो भएर महादेवथान जाने भएकाले स्थानापति महादेवको रुपमा चिनिने बहिरा महादेवथानको प्रवद्र्धन र भक्तजनको सहजताको लागि सिँडी निर्माण गरिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताए । सिँडी निर्माण हुनु पहिले महादेवथान गएर फर्कने क्रममा एकजना भक्तजनको भीरबाट लडेर मृत्यु भएको समेत स्थानीयले जानकारी दिए ।
आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट निर्माण गर्ने क्रममा बिग्रिएका सिँडी सखार्नु पर्ने काम बाहेक सिँडी निर्माणको काम सकिइसकेको छ । सिँडी निर्माण भइसकेपछि भने भक्तजनलाई पैदल यात्रा गरेर स्थानापति महादेव मन्दीर जान सहज भएको छ । स्थानीयका अनुसार सिँडी निर्माण हुनु पहिले मन्दीरको फेदीबाट मन्दीरमा पुग्न एक घण्टा लाग्दथ्यो तर अहिले आधा घण्टामा सहजै मन्दीरमा पुग्न सकिन्छ । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा १० लाख, २०७५÷०६६ मा २० लाख र आर्थिक वर्ष २०६६÷७७ मा २० लाख रुपैयाँ गरि ५० लाख रुपैयाँमा सिँडी निर्माणको काम भइरहेको छ । पहिलो आर्थिक वर्षको बजेटबाट काम सन्तोषजनक नभएको र पछिल्लो दुई आर्थिक वर्षमा भने काम राम्रो भएको नगर प्रमुख बस्नेतले बताए ।


सिँडी निर्माणको काम सम्पन्न भएपछि सिँडीको डिल साइटमा रेलिङ्ग हालिने पनि नगरप्रमुख बस्नेतले बताए । स्थानापति महादेवथान विकासको लागि निरन्तर लागिरहने पनि बस्नेतको भनाई छ । सिँडी निर्माणसँगै खानेपानी ब्यवस्थापनको लागि दुई वटा धारा निर्माण गर्ने कार्यक्रम रहेको र एउटा निर्माण भइसकेको पनि नगर प्रमुख बस्नेतले बताए । आर्थिक वर्ष २०७७÷७८ मा रेलिङ्ग राख्ने काम समेत सम्पन्न गर्ने नगरपालिकाको उद्देश्य रहेको उनले बताए ।
सिँडी निर्माणको काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको मन्थली नगरपालिका–९ का अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले जानकारी दिए । पहिलो आर्थिक वर्षमा भएको कामहरु बिग्रिएको र त्यसको सुधारको लागि पनि यसै वर्ष पहल गरिने वडा अध्यक्ष मगरले बताए ।
यस मन्दिरमा विषेशगरी शिवरात्री, तिजपर्ब, ठूलो एकादशी, बालाचर्तुदशी, ऋषि पञ्चमी र श्रावण पूर्णिमाजस्ता पर्बहरुमा भब्य मेला लाग्ने गर्दछ । यस मन्दीरमा प्रत्येक पूर्णिमा, पञ्चपी साथै दैनिक जसो टाढा टाढाबाट भक्तजनहरु आउने गर्दछन् ।

Share this

प्रतिकृया

Add