कोरोनाबाट बच्च अभियान चलाउनेको पनि आफ्नै आगनको फोहोरमा पुगेन आँखा

 बिहिबार, चैत्र ६, २०७६ | onlinenews
Share this

६ चैत्र, रामेछाप– विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशैभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुसार रामेछापमा पनि स्थानीय सरकारले सरोकारवाला निकाय मार्फत सचेतनाका कार्यक्रमहरु गरिरहेको छ । तर सदरमुकाम मन्थलीको मझेरीमा रहेको अब्यवस्थित फोहोर ब्यवस्थापनमा भने कसैको पनि ध्यान पुगेको छैन ।
मन्थली बजार र मन्थलीमा लाग्ने सोमबारे हाटबाट निस्किएको फोहोर विसर्जन गर्ने स्थलमा अब्यवस्थित रुपमा रहेको फोहोरलाई ब्यवस्थापन गर्नेतर्फ कसैको पनि ध्यान जान सकेको छैन । मन्थली बजारबाट दैनिक निस्कने कुहिने तथा नकुहिने फोहोर र सोमबारे हाटमा बध गरिएका राँगा, बंगुर लगायतका बस्तुको हड्डीको ब्यवस्थापन नहुदा दुर्गन्ध फैलिएको छ । मरेका बस्तु तथा अन्य फोहोरहरु मन्थली बजारकै अगाडि तामाकोसी नदी किनारमा छरपस्ट फालिएको छ ।


गर्मी मौसम सुरु भएसँगै फोहोरको दुर्गन्ध फैलिन थालेको छ । तत्कालै फोहोर ब्यवस्थापन गर्न नसके त्यसले महामारी ल्याउँन सक्ने पत्रकार बद्रि नयाँघरेले बताए । फोहोरको तत्कालै ब्यवस्थापन गर्न नसके मन्थलीले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिने अवस्था नरहेको पत्रकार नयाँघरेको भनाई छ ।
कोरोना भाइरसबाट जोगिन अभियान सञ्चालन गरिरहेको बेला मन्थली नगरपालिकाले आफ्नै आँगनमा रहेको फोहोर ब्यवस्थापनमा ध्यान दिन नसक्नु चिन्ताको विषय भएको नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले बताए । कोरोना भाइरस विरुद्ध सचेतनाको लागि मात्र नभएर सम्भावित अन्य खालाका रोगहरुबाट बच्न पनि नगरले सरसफाइमा ध्यान दिनुपर्ने बताए । अब्यवस्थित रुपमा फालिएको फोहोर ब्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने श्रेष्ठको भनाई छ ।


मुगिटारतर्फबाट मन्थली आउँने जाने पैदल बाटो समेत फोहोर थुपारिएकै ठाउँबाट भएकाले फोहोरको डंगुरमा फालिएको हड्डी खान बसेको कुकुरहरुसँग जोगिन समेत पैदल यात्रीलाई मुस्किल भएको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेलले बताए । उनले भने–कुकुरले पैदल यात्रीलाई टोकेको कुरा समेत सुन्नमा आएको छ । गर्मी मौसम सुरु भइसकेकाले फोहोरबाट उत्पन्न हुने दुर्गधले मन्थली बजारमा आउँ हैजा फैलन सक्ने हुँदा फोहोरको उचित ब्यवस्थापनको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने कडेलको भनाई छ । फोहोर ब्यवस्थापनको जिम्मा आर.एस कन्सट्रक्सन मन्थलीलाई दिइएकाले फोहोरको उचित ब्यवस्थापनको लागि तत्कालै पहल गर्ने मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् ।


फोहोर विर्सजनको लागि स्थायी डम्पिङ्गसाइटको समेत प्रक्रिया अघि बढिसकेकाले आगामी वर्षबाट फोहोरको स्थायी ब्यवस्थापन हुने पनि नगर प्रमुख बस्नेतले जानकारी दिए । आउँ हैजाजस्ता रोगको महामारीेको जोखिम मात्र हैन मन्थली विमानस्थल समेत फोहोर थुपारिएको क्षेत्रसँगै जोडिएकाले फोहोर खान उडिरहेका चराहरु प्लेनमा ठोक्किएर दुर्घटना हुने जोखिम पनि त्यत्तिकै छ । फोहार ब्यवस्थापन गर्नु सरकारको जिम्मेवारी मात्र नभएर आम नागरिकको पनि कर्तब्य हो । मन्थलीलाई सम्भ र सफा नगरि बनाउनको लागि सरसफाइमा नगरपालिको भन्दा नगरबासीको भूमिका महत्वपूर्ण हुनेछ । कोरोनाको संक्रमण विरुद्ध अभियान सञ्चालन गरि ठूला गफ दिदै हिड्नेहरुको पनि आफ्नो आगनमा रहेको फोहोर ब्यवस्थापनमा ध्यान जान जरुरी छ ।

Share this

प्रतिकृया

Add