रामेछापमा खाद्यन्नको अभाव छैनः प्रजिअ शर्मा

 मङ्लबार, चैत्र १८, २०७६ | onlinenews
Share this

१८ चैत्र रामेछाप– लकडाउनको समय थपिएको अवधिमा पनि रामेछाप जिल्लामा खाद्य बस्तुको अभाव नहुने रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जानकारी दिएकी छन् । खाद्य बस्तु, औषधी र इन्धन लगायतका अत्यावश्यक बस्तुहरुको विषयमा ब्यवसायिहरुसँग समन्वय भइरहेको र ब्यवसायिहरुबाट रामेछापमा खाद्यन्नको अभाव नहुने जानकारी आपूmलाई आएको प्रजिअ शर्माले बताइन् । खाद्य बस्तुको आयात भइरहेकाले जिल्लामा खाद्य बस्तुको अभाव नहुने प्रजिअ शर्माको भनाई छ ।
रामेछाप उद्योग बाणिज्य संघले १ महिनासम्मको लागि खाद्यन्न अभाव नहुने जानकारी दिएको भन्दै थप खाद्यन्न आयातको लागि पनि ब्यवस्था भइरहेको बताइन् । सामान ढुवानी गर्न जुनकुनै ठाउँको लागि पनि प्रशासनले पासको ब्यवस्था गर्ने जानकारी दिंदै खाद्यन्न ढुवानी, औषधी लगायतका अत्यावश्यक सेवालाई कुनै समस्या नरहेको बताइन ।
अत्यावश्यक भनेर अनावश्यक मानिसहरु आवतजावत नगरिदिन पनि प्रजिअ शर्माले आग्रह गरेकी छन् । सबै नागरिकहरुले सचेत बनिदिन अनुरोध गर्दै अत्यावश्यक कामको लागि मात्र पास लिइदिन प्रजिअ शर्माले जिल्लाबासीमा अपिल समेत गरेकी छन् ।
खाद्य बस्तुको मूल्य बढेको कुरा सुन्नमा आए पनि रामेछापमा अहिलेसम्म खाद्य बस्तुमा कालोबजारी नभएको बताइन् । रामेछापमा लकडाउनको पूर्ण पालन भएको पनि प्रजिअ शर्माको भनाई छ ।
लकडाउनको पूर्णपालना भए पनि जिल्ला भित्रीनेको संख्या भने बढिरहेको जानकारी दिइन् । जिल्लामा सञ्चालीत विभिन्न योजना तथा आयोजनाहरुमा काम गर्ने श्रमिकहरुलाई पनि बाहिर जाने ब्यवस्था मिलाएको बताइएको छ ।
काठमाडौं लगायतका अन्य ठाउँबाट जिल्लामा आउन चाहने नागरिकले जुन जिल्लाबाट आउने हो त्यही जिल्लाबाट पास लिएर आउनुपर्ने ब्यवस्था गरिएको छ प्रजिअ शर्माले भनिन् । अनावश्यक हिडडुल नगरिदिन र अनुशासनमा बसिदिन पनि प्रजिअ शर्माले जिल्लाबासीमा अनुरोध गरेकी छन् ।

रामेछापमा खाद्यन्न पर्याप्त छः थापा

रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले नियन्त्रीत रुपमा वितरण गर्ने हो भने रामेछाप जिल्लामा महिनौलाई पुग्ने खाद्य बस्तु रहेको बताए । खाद्य बस्तु नियन्त्रीत ढंगले वितरण गर्ने हो भने रामेछाप जिल्लालाई तीन महिनाको लागि पुग्ने खाद्य बस्तु स्टोर रहेको छ थापाले भने ।
मानिसले आवश्यकता भन्दा बढी सामान भण्डारण गरेकाले पनि खाद्यन्नको समस्या नहुने बताए । आपूर्ति बन्द भएमा मात्रै सन्तुलन विग्रन सक्ने भन्दै आपूर्ति सहज भइरहेमा रामेछापमा खाद्यन्न अभाव नहुने थापाले बताए ।
अहिलेको समस्या एकै ठाउँमा सामान नपाउने रहेको थापाले बताए । मिल चलेन, मजदुर आएन भनेर खाद्यन्न उत्पादक कम्पनीहरुले भनिदिंदा सामान पाउँन चाहिँ गाह्रो भएको छ थापाले भने । ढुवानीसँग सम्बन्धित श्रमिकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले श्रमिक पाउन पनि समस्या हुने गरेको उनले बताए ।
कच्चा पदार्थको अभाव देखाएर उत्पादक कम्पनीहरुले अस्वभाविक मूल्य बृद्धि गरेको पनि थापाले जानकारी दिए । यद्यपि ढुवानी सहज भइरहेमा रामेछापमा खाद्यन्नको अभाव नहुने थापाको भनाई छ ।
मन्थलीमा आजको दिनसम्म कुनै पनि बस्तुको अभाव नभएको रामेछाप उद्योग बाणिज्य संघले जनाएको छ । मन्थली बजारका ब्यवसायिबाट संकलन गरिएको खाद्य बस्तुको विवरण अनुसार जिल्लामा एक महिनाको लागि पुग्ने सामान रहेको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृति नविन केसीले जानकारी दिए ।
सदरमुकामका ठूला ब्यापारीहरुको गोदाममा रहेको खाद्य बस्तुको विवरण लिइएको र गाउँपालिकाहरुमा पनि खाद्यन्नको अवस्था के छ भनेर विवरण संकलन भइरहेको केसीले जानकारी दिए । खाद्य बस्तुको आयात पनि भइरहेकाले समस्या नहुने उनले बताए । खाद्यन्न ढुवानीको लागि ट्याक्टर, मिनीट्रक, ट्रक र बोलेरो गाडीहरुलाई उद्योग बाणिज्य संघको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले ढुवानीको लागि पास उपलब्ध गराउँदै आएको केसीले जानकारी दिए ।
ढुवानीको साधनलाई जिल्ला प्रशासन कार्यालयले सहजै पास उपलब्ध गराइदिएकाले ढुवानीमा सहज भएको पनि उनले बताए । ढुवानीको लागि अहिलेसम्म ७० भन्दा बढी गाडीहरुले पास लिएको केसीले जानकारी दिए । खाद्यन्नको लागि एक पटकमा दुई दिनको र दूधको लागि एक पटकमा ७ दिनसम्मको पासको लागि सिफारिस गर्ने गरिएको केसीले बताए । खाना पकाउने ग्याँस परिवार हेरि एक परिवारमा बढीमा दुई वटासम्म दिने ब्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।
सामान ढुवानीको सहजताको लागि उद्योग बाणिज्य संघले समन्वय गरिरहेको रामेछाप उद्योग बाणिज्य संघका महा–सचिव नवराज ढुङ्गेलले बताए । उत्पादक कम्पनीहरुले खाद्य बस्तुको मूल्य बढाएको भन्दै खरिद कर्तालाई खरिद बील लिन अनिवार्य बनाइएको र खरिद गरिएको सामानमा ढुवानी जोडेर २० प्रतिशत भन्दा कम नाफा लिएर बिक्री गर्न अनुरोध गरिएको महा–सचिव ढुङ्गेलले बताए ।
घरेलु तथा साना उद्योग विकास समिति रामेछापले पनि सदरमुकामका ठूला व्यापारिहरुको गोदाममा भएको सामानको विवरण लिएको छ । घरेलुले यही चैत्र १५ गतेसम्म लिएको विवरण अनुसार मन्थलीमा २ सय ११ टन चामल, १ हजार ८ सय ६० कार्टुन र ४० जार खाने तेल रहेको घरेलु तथा साना उद्योग विकास समिति रामेछापका कार्यालय प्रमुख मेघनाथ गौतमले जानकारी दिए । घरेलुका अनुसार २५ केजीको दाल ४ सय १३ बोरा, नून ५० केजीको ५ सय ३२ बोरा, पिठो ५० केजीको १ सय ६८ बोरा, चिनी ५० केजीको ६ सय २२ बोरा र खाना पकाउने ग्याँस ३ सय ६८ थान मौज्दात रहेको छ । त्यसैगरी १ हजार ५ सय कार्टुन चाउचाउ रहेको छ । यो विवरण घरेलुले फोन सम्पर्क गरि ब्यवसायिबाट संकलन गरेको हो । ब्यवसायिको गोदाममा यो विवरणमा उल्लेख गरिएको भन्दा बढी सामान हुन पनि सक्छ । साना ब्यापारिको गोदाममा भएको सामानको विवरण नलिइएकाले अन्य खाद्य बस्तु पनि बजारमा रहेको गौतमले बताए ।

Share this

प्रतिकृया

Add