रोकिएन तामाकोसी नदी दोहन, प्रशासन र स्थानीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप

 शनिबार, बैशाख ६, २०७७ | onlinenews
Share this

६ वैशाख, रामेछाप– मन्थली विमानस्थल विस्तारको ठेक्का पाएको निर्माण ब्यवसायिले अनधिकृत रुपमा तामाकोसी नदीमा नदीजन्य बस्तुको निरन्तर दोहन गरिरहेका छन् । सञ्चार माध्यमा ब्यापक नदी दोहन भइरहेको समाचार आएपछि रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा केहीदिन अघि निर्माण स्थलमा पुगेर नदी दोहन रोक्न निर्देशन दिए पनि निर्माण ब्यवसायिले अटेर गरेर नदीजन्य बस्तुको दोहन गरिरहेका छन् ।
ठेक्का सम्झौता अनुसार विमान स्थलको सुरक्षार्थ ग्याविन पर्खाल लगाउन प्रयोग गरिने ढुङ्गा र गिटी तीन किलोमिटर टाढाबाट ल्याउनुपर्ने छ । तर निर्माण ब्यवसायिले तामाकोसी नदीको धार समेत परिवर्तन गरि नदीजन्य बस्तुको दोहन गरेर ढुङ्गा गिटी प्रयोग गरिरहेका छन् ।
नदी दोहन भएको भनि स्थानीयबाट गुनासो आएपछि केही दिन पहिले पनि आपूm निर्माण स्थलमा पुगेर नदी दोहनलाई रोक्न निर्देशन दिएको र पुनः स्थानीयको गुनासो आएपछि अनुगमनको लागि आपूm निर्माण स्थलमा गएको शुक्रबार निर्माण स्थल पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताइन ।

नदी संरक्षण गर्नु सबैको दायित्व भएकाले नदी दोहन गर्ने छुट कसैलाई पनि नभएको बताइन । अहिलेसम्म जे भए पनि अब नदी दोहनलाई रोक्ने पनि प्रजिअ शर्माले बताएकी छन् । निर्माण ब्यवसायिले ठेक्का सम्झौता अनुसार काम गर्नुपर्ने भन्दै, जिल्ला समन्वय समिति, मन्थली नगरपालिका र निर्माण ब्यवसायिसँग छलफल गरेर यस विषयलाई टुंगो लगाउने प्रजिअ शर्माले बताएकी छन् ।
निर्माण ब्यवसायिले नदीको धार परिवर्तन गरेर पाँच मिटर भन्दा बढी गहिरो खाल्डो बनाई ढुङ्गा र गिटी उत्खनन गरेको स्थानीय गणेशबहादुर माझीले बताए । निर्माण ब्यवसायिले नदीजन्य बस्तुको ब्यापक दोहन गरिरहँदा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले बेवास्ता गरेको समेत उनले आरोप लगाए ।


निर्माण ब्यवसायिले नदी दोहन गरेको विषयमा जिल्ला प्रशासन कार्यालय र मन्थली नगरपालिकामा पटक–पटक निवेदन दिंदा जाँदा आपूmहरुको निवेदन नै नलिएको माझीले गुनासो गरे ।
अहिलेसम्म लगाइएको ग्याविन पर्खालमा प्रयोग गरिएका ढुङ्गा र गिटी सोही नदी दोहन गरेर निकालिएको पनि उनले बताए । निर्माण ब्यवसायिले नदी दोहन गर्दा पानी धमिलो भएर मन्थलीको हाटेचौरबासीले उपभोग गर्दै आएको खानेपानी समेत पिउने अयोग्य भएको संगीता माझीले बताइन । नदी दोहनकै कारण वर्षेनी नदी सुक्दै गएको रुपा माझीको भनाई छ ।
निर्माण ब्यवसायिले ढुङ्गा, गिटी निकालेर नदीमा बनाएको खाल्डो अन्यत्रैबाट मेटरिएर ल्याएर पूर्नुपर्ने स्थानीयको माग छ । त्यसैगरी अनधिकृत रुपमा नदी दोहन गर्ने निर्माण ब्यवसायिलाई कानूनी कारबाही हुनुपर्ने पनि स्थानीयले जिल्ला प्रशासन कार्यालय रामेछापसँग माग गरेका छन् ।

Share this

प्रतिकृया

Add