आइसोलेसन र क्वारेन्टाइनलाई संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन आवश्यकः प्रजिअ शर्मा

 बुधबार, बैशाख १७, २०७७ | onlinenews
Share this

१७ वैशाख, रामेछाप– कोरोना भाइरस रोकथामको लागि गठन गरिएको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाको खाँडादेवि र सुनापति गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइन तथा आइसोलेसन बेडहरुको अनुगमन गरेको छ ।
लकडाउनकै अवधिमा काठमाडौं लगायत जिल्ला बाहिर रहेकाहरु ठूलो संख्यामा जिल्ला भित्रिएपछि जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले नियमित कार्यक्रम अन्तर्गत खाँडादेवि र सुनापति गाउँपालिकामा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा गाउँपालिकाहरुले कोरोना रोकथामको लागि राम्रो प्रयास गरेको पाइए पनि निर्माण गरिएको क्वारेन्टाइन तथा आइसोलेसन बेडहरुलाई गुणस्तरीय र आवश्यक औषधी लगायतका ब्यक्तिको लागि आवश्यक पर्ने सामग्रीहरु ब्यवस्थापन गर्नु आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताइन ।


प्रजिअ शर्माले गाउँपालिकाहरुलाई क्वारेन्टाइन र आइसोलेसन बेडको संख्या बढाउनु भन्दा पनि निर्माण गरिएका बेडहरुलाई ब्यवस्थित र गुणस्तरीय बनाउन सुझाव दिएकी छन् । जिल्लाबारीबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न पनि प्रजिअ शर्माले गाउँपालिका अध्यक्षहरुलाई अनुरोध गरेकी छन् ।
खाँडादेवि र सुनापति गाउँपालिकाको पदाधिकारी, वडा अध्यक्षहरु तथा पालिकाका कर्मचारीहरुसँग लकडाउनलाई प्रभावकारी बनाउदै संघीय, प्रदेश तथा पालिका स्तरका ठूला आयोजनाहरु सञ्चालन गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो ।
लकडाउनको क्रममा काठमाडौं लगायत तराई हुँदै ठूलो संख्यामा मानिसहरु जिल्ला भित्रिएकाले रामेछापमा कोरोना संक्रमणको सम्भावित जोखिम उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए ।


काठमाडौंबाट आएका गाडीहरुमा सिन्धुलीको खुर्कोटबाट पनि मानिसहरु चढेको कुरा आएको छ, तीन मानिसहरु कहाबाट आएका हुन् एकीन छैन । ती मानिहरु इन्डियाबाट वा कोरोना संक्रमित जिल्लाहरुबाट आएको पनि हुनसक्छ, त्यसकारण सचेत हुन आवश्यक छ कर्णले भने ।
चौथो पटक थपिएको लकडाउनको अवधिमा रामेछाप जिल्लामा करिब १० हजार मानिस भित्रएका छन् । सो अवधिमा खाँडादेवि र सुनापति दुई वटा गाउँपालिकामा करिब ३ हजार मानिस भित्रएका छन् ।


लकडाउनको क्रममा गाउँ फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । लकडाउनको क्रममा काठमाडौं लगायतका ठाउँबाट खाँडादेविमा एक हजार भन्दा बढि मानिस आएको भन्दै उनीहरुमाथि गाउँपालिकाले निगरानी राखेको पनि अध्यक्ष तामाङले बताए ।
त्यसैगसरी सुनापति गाउँपालिकामा पनि लकडाउनको क्रममा काठमाडौंबाट आएका मानिसहरुलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष धावा लामाले बताए । बाहिरबाट आएको मानिसहरुलाई घर बाहिरको मानिसहरु कसैसँग पनि भेट नगर्न अनुरोध गरिएको छ अध्यक्ष लामाले भने । स्थानीयलाई खेतीपातीमा लाग्न अनुरोध गरिएको लामाले बताए ।


सुनापति गाउँपालिकाले ३ वटा आइसोलेसन बेड तयार गरिसकेको र थप तीन वटा तयारीको क्रममा रहेको छ भने क्वारेन्टाइनको लागि २६ बेड तयार गरिएको छ । त्यसैगरी खाँडादेवि गाउँपालिकामा ५ वटा आइसोलेसन बेड निर्माण भइसकेको र ६ वटा तयारीको क्रममा रहेको छ भने क्वारेन्टाइनको लागि ४७ वटा बेड तयार गरिएको छ । तर बाहिरबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा भने राखिएको छैन ।

Share this

प्रतिकृया

Add