खाँडादेवि गाउँपालिकाद्धारा अनधिकृत रुपमा बन फडानी

 मङ्लबार, भदौ २, २०७७ | onlinenews
Share this

२ भदौ, रामेछाप– खाँडादेवि गाउँपालिकाले अस्पताल र खेल मैदान निर्माणको नाउँमा अनधिकृत रुपमा सामुदायिक बन फडानी गरेको पाइएको छ । गाउँपालिकाले कतै खेल मैदान, कतै गुम्बा त कतै अस्पतालको नाउँमा ५० रोपनी भन्दा बढी बन फडानी गरेको हो । गाउँपालिकाले सामुदायिक बनको उपभोक्ता समितिलाई जबर्जस्ती निर्णय गराएर बनको जग्गा पालिकाले हड्पेको लक्ष्मण साइबारी सामुदायिक बनको उपाध्यक्ष भरतकुमार चौहानले बताए ।
उपभोक्ता समितिले गरेको निर्णय आधिकारिक नहुने बताउँदा पनि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले पालिकाको रोहवरमा निर्णय गरेपछि जे पनि हुन्छ भनि जवर्जस्ती निर्णय गर्न लगाएको चौहानले बताए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र वडा नं. ६ का अध्यक्ष पस्कर कार्कीले बन उपभोक्ता समितिको बैठक बोलाउन लगाए, हामीले बैठक बोलाइदियौं, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको उपस्थितमा बनको जग्गा अस्पताल निर्माणको लागि गाउँपालिकालाई दिने निर्णय जबर्जस्ती गराए चौहानले भने ।


गाउँ कार्यपालिकाले निर्णय गरेपछि अन्य निकायमा सोध्नु पर्दैन भनि गाउँपालिका अध्यक्ष तामाङले दवाव दिएपछि हामी निर्णय गर्न बाध्य भयौं, गाउँपालिकाले हामीलाई बाध्य बनायो उनले भने । लक्ष्मण साइबारी सामुदायिक बनको जग्गा २५ शैयाको अस्पताल निर्माणको लागि भनेर लिएको तर त्यस ठाउँमा रूखहरु विनास गरेर मात्रै छोडेको स्थानीय हर्कबहादुर खत्रीले बताए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र वडा नं. ६ का अध्यक्ष पुस्कर कार्कीको उपस्थितिमा अस्पताल निर्माण गर्न बनको जग्गा गाउँपालिकालाई दिने निर्णय गरिए पनि अहिले गाउँपालिका अध्यक्ष आफैले अस्पतालको लागि भनेर निर्णय नगरेको भनि झुठो कुरा गरिरहेको स्थानीयको भनाई छ ।


लक्ष्मण साइवारी समुदायिक बनको जग्गा अस्पतालन निर्माण गर्नकै लागि भनेर दिइएको सोही सामुदायिक बनका अध्यक्ष तुलाबिक्रम कार्कीले बताए । तर गाउँपालिकाले भने अस्पताल निर्माणको लागि भनेर सुलीथुम्का सामुदायिक बनको करिब १० रोपनी भन्दा बढी बन फडानी गरेको छ । लक्ष्मण साइबारी सामुदायिक बनको जग्गामा एकठाउँमा खेल मैदान निर्माण गरिएको छ भने अर्को ठाउँमा रूख फाँडेर मैदान बनाएर राखिएको छ । त्यस्तै हाल रहेको खाँडादेवि गाउँपालिकाको भवन लगायत गाउँपालिका अन्तर्गत निर्माण गरिएका संरचनाहरु पनि लक्ष्मण साइबारी सामुदायिक बनमै निर्माण गरिएको छ ।
स्थानीय ब्यक्तिको जग्गा र बनको जग्गा गाउँपालिकाले हडप्दै अलपत्र पारेको स्थानीय लक्ष्मण खत्रीको भनाई छ ।

स्थानीय सरकारले बनको जग्गा भोगचनल गर्न अनुमति लिनुपर्दैनः अध्यक्ष तामाङ

स्थानीय सरकारले आफ्नो पालिका अन्तर्गत रहेको बनको जग्गा भोगचलन गर्नको लागि अनुमति लिइरहनु नपर्ने बताए । गाउँकार्यपालिकाले निर्णय गरेर स्थानीय सरकारले बनको जग्गा उपभोग गर्न पाउने उनको भनाई छ । गाउँकार्यपालिकाले निर्णय गरेपछि अन्य निकायसँग अनुमति लिइरहनु आवश्यक हुने अध्यक्ष तामाङले बताए ।
वडा नं. ६ को गोगनेमा अस्पताल बनाउने गाउँकार्यपालिकाको निर्णय अनुसार नै बन फाँडेर सम्याएर अस्पताल निर्माणको प्रक्रिया थालनी गरिएको अध्यक्ष तामाङले बताए । लक्ष्मण साइबारी सामुदायिक बनको जग्गा आपूmहरुले अस्पताल निर्माण लागि नभई हेलीप्याड निर्माणको लागि लिएको अध्यक्ष तामाङले बताए । लक्ष्मण साइबारी सामुदायिक बन उपभोक्ता समितिको बैठकले भने २५ शैयाको अस्पताल निर्माणको लागि गाउँपालिकालाई बनको जग्गा दिने निर्णय गरेको छ । सो बैठकमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र वडा नं. ६ का अध्यक्ष पुस्कर कार्कीको पनि उपस्थिति रहेको छ । आफ्नै उपस्थितिमा गरिएको निर्णयको गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले खिल्ली उडाएको स्थानीयको भनाई छ ।

बनको जग्गामा संरचना निर्माण गरे भत्काइदिन्छुः कार्यालय प्रमुख न्यौपाने

जिल्ला बन कार्यालय रामेछापका प्रमुख कृष्ण न्यौपानेले बनको जग्गामा पालिकाले आपूmखुसी संरचना निर्माण गरे भत्काई दिने बताएका छन् । जिल्ला बन कार्यालयले बन उपभोक्ता समितिलाई के कति कारणले बन फडानी गरिएको हो त्यसको जानकारी दिनको लागि पत्र पठाइसकिएको पनि कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।
बन उपभोक्ता समितिलाई बन हस्तारण गर्ने अधिकार नहुने कार्यालय प्रमुख न्यौपानेले बताए । बनको जग्गामा स्थानीय सरकारको पनि अधिकार नहुने न्यौपानेको भनाई छ । क्याविनेटको निर्णयविना बनको जग्गा हस्तानतरण गर्ने अधिकार स्थानीय सरकारलाई पनि नुहने भएकाले मनोमानी ढंगले बन विनास गरेको पाइएमा गाउँपालिकामाथि समेत कारबाही हुने कार्यालय प्रमुख न्यौपानेले बताए । गाउँपालिकालाई आवश्यक पर्ने संरचना निर्माणको लागि स्थानीयले १५ रोपनी जग्गा पास गरेर दिए पनि पालिकाको भने मनोमानी बनको जग्गा हड्पेर अस्थायी भवन निर्माण गरेको छ ।

 

Share this

प्रतिकृया

Add