भदौ १८ गतेसम्म लम्बियो निषेधाज्ञा

 बिहिबार, भदौ ११, २०७७ | onlinenews
Share this

११ भदौ, रामेछाप– जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापले निषेधाज्ञालाई भदौं १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षमा बिहीबार बसेको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन जरुरी देखिएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
रामेछाप जिल्लामा अहिलेसम्म ८ सय ९२ जनाको आरडीटी परिक्षण गरिएको छ । त्यसैगरी १ हजार १ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । कोरोनाभाइरसको सक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
निषेधाज्ञा र स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गरी मापदण्ड पालना गराउन जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले जिल्ला स्तरको अनुगमन गर्नेछ । त्यस्तै पालिका प्रमुख वा अध्यक्षको संयोजकत्वमा पालिका स्तरको अनुगमन गर्ने बैठकको निर्णय छ ।
वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरको अनुमगन गर्ने, क्वारेन्टिन, आइसोलेसनको अनुगमन गर्ने र पालिकाको अनुगमन प्रतिनिधिका रुपमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालबाट प्रतिनिधत्व गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

उद्योग व्यवसायको उद्योग बाणिज्य संघबाट, होटल रेष्टुरेन्टको होटल व्यवसायी संघबाट अनुगमन गर्ने, सरकारी, गैरसरकारी, बैंक वित्तीय संस्था, सहकारी, संघरसंस्थाहरु र सम्बन्धि सबै निकायहरुले अनुगमन गरेको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय भएको छ । अनुगमन समिति प्रतिनिधिमूलक र न्यूनतम संख्या हनुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

Share this

प्रतिकृया

Add