दोलखामा प्रहरीकै मिलेमतोमा बालुवा उत्खनन् र तस्करी

 आइतवार, भदौ १४, २०७७ | onlinenews
Share this

दीपशंकर चौलागाई


१४ भदौ, दोलखा– प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा बालुवा उत्खनन र तस्करी बढेको छ ।दोलखाको किरातीछाप प्रहरी चौकीकै सेटिङमा तामाकोसी नदी आसपासका क्षेत्रमा रातभर बालुवा उत्खनन र तस्करी बढेको खुलासा भएको होे ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेल समक्ष नागरिक समाज दोलखाका अगुवा रमेश खतविडाले प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा रातभरीे बालुवा उत्खनन र तस्करी बढेको बताएका छन ।
खतिवडाले भने चौकीका एक जना ईन्चार्ज असईले बालुवा निकाल्न गरेको सेटिङ र पैसा माग गरेको सम्वाद सहितको अडियो टेप जिल्लाका केही पत्रकारले हात पारेर स्थानीय सुरक्षा अधिकारीहरुलाई सुनाएको समेत बताए ।
स्थानीय नागरिकले दोलखा प्रहरीको चर्को बिरोध गरेपछि जिल्ला प्रहरी कार्यालयले दुई महिनाको बीचमा तीन जना चौकी इन्चार्ज (असई) फेरिसकेको छ । किराँतीछाप चौकीले बालुवा निकाल्न तामाकोसी नदीभरी सेटिङ मिलाउने गरेको तामाकोशी बजारका स्थानीयको आरोप छ ।
नागरिक अगुवा र संचारकर्मीकोे जवाफ दिंदै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नावय उपरीक्षक रेवतीरमण पोखरेले उम्कीन खोजे । पोखरेलले बालुवा निकाल्ने कार्यमा प्रहरीको संलग्नता हुदै नभएको जिकिर गरे । उनले जिल्ला प्रहरी कार्यालयले अवैध रुपले डोजर लगाउने कार्यमा संलग्नलाई थुप्रै पटक पक्राउ गरेको बताए । हामीले मात्र बालुवा उत्खन्न गर्नेलाई पक्राउ गर्न सहज अबस्था नदेखिएकोले सशस्त्रको टोली समेत सँगै लगेका हौं पोखरेलले भने । तर जनपथ प्रहरी तस्करहरुसँग चुकेको कारण सशस्त्रको टोली पठाएको हुन सक्ने अनुमान गरिन थालेको छ । दोलखाका संचारकर्मीहरुको माझ पोखरेलले कुनै प्रहरी कर्मचारीले गल्ती गरेको भेटिए कारबाही हुने बताए ।

“दोलखाका स्थानीय बुद्धिजिबिहरु भन्छन सशस्त्र युद्धको समयमा आफ्नो दुश्मनसँग लडेर प्रहरी संगठनको गौरबमय छबि राख्ने जनपथ प्रहरी १०/१५ जना बालुवा तस्करसँग लड्न नसकेर सशस्त्र प्रहरी बल लिएर गयौं भनेर सञ्चारकर्मी माझ डिएसपी पोखरेलले भन्नु नेपाल प्रहरीको गौरबशाली इतिहासमा दाग लागाउनु हो ।”

जिल्ला समन्वय समितिले असारदेखि उत्खनन् गर्न रोक लगाइए पनि तामाकोसी नदीमा जनप्रतिनिधिका नजिकका मान्छे भनेर चिनिने युवाहरुको समूहले मध्यरातमा बालुवा तस्कर गरिरहेका छन । शुक्रबार मात्र मध्यरातमा पहिलो पटक सशस्त्र प्रहरी बलको सहयोगमा गैरकानूनी रुपमा बालुवा तस्करमा संलग्न २ जना चालकसहित डोजर र स्काभेटर नियन्त्रणमा लिएको थियो । भीमेश्वर नगरपालिको तामाकोशी बजार साइट, ताकोशी पारी वैत्येश्वर, गोपीखोला, चैत्यघाट, तामाकोसी गाउँपालिकाको ढोलीखोला आसपासका क्षेत्रमा रातभर युवा समूहहरुबीच अवैध रुपले बालुवा निकाल्ने कार्य तीव्र छ।
आतबार जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवम नदिजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले तामाकोशी नदिको किनारमा अवैध रुपमा स्काभेटरको प्रयोग गरि नदि उत्खनन् गरि बालुवा झिक्दै गरेको स्काभेटर लाई तीन लाख र २ वटा टिप्परहरुलाई ३०÷३० हजारका दरले जरिवाना गराउने निर्णय गरेको छ ।

Share this

प्रतिकृया

Add