कोरोना महामारी मार्गदर्शन कार्यान्वय, स्थानीय तहमा अन्यौलता

 बिहिबार, भदौ २५, २०७७ | onlinenews
Share this

नवराज वि.क.


२५ भदौ, रामेछाप–कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी मार्गदर्शन २०७६ कार्यान्वय गर्ने विषयमा स्थानीय तहमा अन्यौलता देखिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको कोरोना महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धी मार्गदर्शन २०७६ कार्यान्वयनमा रामेछापका स्थानीय तहमा अन्यौलता देखिएको हो ।
सरकारले मार्गदर्शन जारी गरेको करिब ४ महिना वितिसक्दा रामेछापका अधिकांश स्थानीय तहमा मार्गदर्शन कार्यान्वयनमा अन्यौलता देखिएको छ । सरकारले गत चैतमा स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस, गैरसरकारी संस्थाका प्रतिनिधि र सामुदायिक स्वयंसेवकहरुको सहभागितामा स्थानीय तहका हरेक वडाहरुमा फिल्ड समुदाय स्तरको कोरोना रोकथाम (कोभिड–१९ प्रीभेन्सन सिपिजी) गठन गरी परिचालन गरेर संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मार्गदर्शन २०७६ जारी गरेको थियो ।
६ वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको रामेछाप जिल्लामा कोरोना रोकथाम स्वयंसेवक समूह गठन गर्ने क्रममा एकरुपता देखिएको छैन । कतिपय स्थानीय तहले मार्गदर्शन बमोजिम स्वयंसेवक समूह गठन गरेका छन् भने कतिपयले आफ्नै तरिकाले गठन गरेका छन् । लिखुतामाकोशी गाउँपालिकाले समूह गठन गरे पनि हालसम्म परिचालन गर्नु नपरेको बताएको छ ।
खाँडादेवी गाउँपालिकाले मार्गदर्शन बमोजिम गठन गरेर परिचालन गरेको र सो वापतको खर्च गाउँपालिकाले नै व्यवस्था गरेको स्वास्थ्य शाखा संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिए । ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले मार्गदर्शन बमोजिम कोरोना रोकथाम स्वयंसेवक समूह गठन गरेर परिचालन गरेको स्वास्थ्य शाखाका संयोजक दिपेन्द्र पैकडाले जानकारी दिए । तर, परिचालन गरिएका स्वयंसेवकहरुलाई खाजा, खाना र प्रोत्साहन वापतको रकम दिने विषयमा हालसम्म पनि बजेटको व्यवस्था नहुँदा भुक्तानी दिन नसकिएको बताए ।
पालिकाले गठन गरेको ७ वटा समूहमा ४९ जना रहेका छन् । २ महिनासम्म दैनिक रुपमा काम गरेका उनीहरुलाई दैनिक प्रतिब्यक्ति १ हजार ५ सयका दरले भुक्तानी दिनुपर्ने पैकडाले बताए । भुक्तानीको लागि हालसम्म बजेटको संघ, प्रदेश र स्थानीय तीन वटै तहबाट बजेटको व्यवस्था नभएको स्वास्थ्य शाखाका संयोजक पैकडाको भनाई छ ।
मार्गदर्शन २०७६ परिमार्जन गरिएको परिपत्र आएको भन्ने कुरा छ तर हालसम्म आधिकारिक रुपमा जानकारी छैन उनले भने । रामेछाप नगरपालिका, मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, सुनापति गाउँपालिका मध्ये कतिपयले समूह गठन गरि परिचालन गरेका छन् भने कतिपयले परिचालन नै गरेका छैनन् । केही पालिकाले खाजा, खाना र प्रोत्साहनको समेत व्यवस्था नगरी परिचालन गरेका छन् ।
यसैबीच, रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले समग्रमा संघीय र प्रदेश सरकारबाट बजेट आएको बताउँदै स्वयंसेवक समूहलाई लक्षित गरेर आए नआएकोबारे जानकारी लिने बताएकी छन् ।
त्यस विषयमा आफूलाई विस्तृत रुपमा जानकारी नभएको प्रजिअ शर्माले बताइन । यस्तै, स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले उमाकुण्ड गाउँपालिकाको विषयमा केही दिन अघि मात्रै कुरा भएको उल्लेख गर्दै त्यस विषयमा फलोअप गरिरहेको बताइन ।
कोरोना महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धी मार्गदर्शन २०७६ को २ मा कोरोना रोकथाम स्वयंसेवक समूहमा वडा अध्यक्षको संयोजनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका १÷१ जना, एक जना प्रहरी तथा स्वयंसेवक÷रेडकक्रस÷गैससका प्रतिनिधि २ देखि ३ जना रहेको समूह गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।
मार्गदर्शनको बुँदा नम्बर ६ मा विद्यमान अवस्थामा परिचालन गर्दाको जोखिमलाई मध्यनजर गरि काम गरेको दिनको दैनिक खाना तथा खाजाको लागि प्रतिव्यक्ति प्रतिदिन ५ सय रुपैयाँ र प्रोत्साहन बापत प्रतिव्यक्ति प्रतिदिन एक हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख गरिएको छ। यस्तो रकम तत्काललाई स्थानीय तहबाट खर्च गर्ने र त्यसको सोधभर्ना कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट हुने भनिएको छ ।

Share this

प्रतिकृया

Add