Logo

जेनजी आन्दोलन र सरकारले मच्चाएको बर्बर दमन



सम्पादकीय


देशको लोकतान्त्रिक यात्रामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई मूल आधार मानिन्छ । तर हिजो राजधानी काठमाडौँमा जेनजी पुस्ताले गरेका प्रदर्शनमा सरकारले जसरी दमन गरेको छ, त्यसले लोकतान्त्रिक मूल्यप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

जेनजी पुस्ताले उठाएका मुद्दा सामान्य थिएनन्, सामाजिक सञ्जाल बन्द, बेरोजगारी, पारदर्शिता र राजनीतिक भ्रष्ट्राचारविरुद्ध उनीहरूले आवाज उठाएका थिए । तर, उनीहरूको मागलाई सुन्नुको सट्टा सरकारले बर्बर दमन गर्‍यो । स्कूल पोसाकमा प्रदर्शनमा सहभागि भएका कलिला विद्यार्थीहरुलाई कन्चटमा ताकीताकी गोली हान्यो ।

बल प्रयोगमार्फत आन्दोलनलाई दबाउन खोज्यो । यो घटनामा सरकारले संयमता गुमाएको मात्र होइन विवेकहिनता प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिको अन्त्य, सुशासनको माग गर्दै सडकमा प्रदर्शनमा उत्रिएका नाती पस्तालाई गोलीले भुटेर शासन गर्ने ओली नेतृत्वको सरकारले दुस्साह गरेको छ । जेनजी युवाहरुमाथि भएको बर्बद दमका घटनाले सरकारको असहिष्णु प्रवृत्ति प्रष्ट्याएको छ ।

लोकतन्त्रमा असन्तुष्टि प्रकट गर्ने बाटो शान्तिपूर्ण प्रदर्शन हो । तर जब राज्य आफैँले नागरिकमाथि दमन गर्ने अभ्यास गर्छ, त्यतिबेला लोकतन्त्रको आधार नै कमजोर हुन्छ । आज जेनजी पुस्ता सडकमा छन्, भोली अरू पुस्ता पनि सडकमा आउन बाध्य हुनेछन् । किनभने असन्तोष दबाएर होइन, संवाद र समाधानमार्फत मात्र सम्बोधन गर्न सकिन्छ ।

सरकारले बुझ्‌न जरुरी छ कि युवा पुस्ता भविष्यका वाहक हुन् । उनीहरूको आवाजलाई दमन गरेर होइन, सम्बोधन गरेर मात्र देश अगाडि बढ्छ । सत्ता बचाउन गरिने बर्बर दमनले क्षणिक नियन्त्रण त दिन सक्छ, तर दीर्घकालीन स्थायित्व कहिल्यै दिन सक्दैन ।

यस घडीमा सरकारले आत्ममन्थन गर्न आवश्यक छ । ती कलिला नानीहरूमाथि भएको दमनको निष्पक्ष छानबिन हुनुपर्छ र दोषी सुरक्षाकर्मी मात्र होइन, आदेश दिने अधिकारी, प्रधानमन्त्री र गृहमन्त्रीसमेत कारबाहीको दायरामा आउनुपर्छ । साथै, जेनजी पुस्ताले उठाएका वैधानिक मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकार तत्पर हुनुपर्छ ।

लोकतन्त्रलाई बलियो बनाउन नागरिक आवाजलाई सम्मान गर्नुपर्ने हो, चुप लगाउने दमनात्मक प्रवृत्तिले होइन । सरकार अझै समयमै सचेत बनेन भने, आजको असन्तोष भोलिको ठूलो राजनीतिक सङ्कट बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्