डा.सुमन कर्माचार्य
अस्पतालको इमर्जेन्सीमा एक ४० बर्षिय युवा एकापटीको हात खुटटा नचल्ने, बोली लर्वरिने भएर आउछन् । सुतेर उठ्दा यो अनुभव उनलाइ भयो र खुटटा टेक्न गाह्रो भयो । मुखको एकापटिबाट ¥याल बगिरहेको रहेछ । ऐनामा हेर्दा मुख बाङगो जस्तो देखिन्छ । उनलाई अचम्म लाग्यो । राति सध्ये खाना खाएर सुतेको मानिस बिहान उठ्दा किन यस्तो समस्या भयो भनेर ? उनले घरमा मान्छेलाई भने । एम्वुलेन्स बोलाएर अस्पताल आए ।
अस्पतालमा जाँच गरियो । उच्च रक्तचाप देखियो । अनुमान गरियो कि उनको दिमाग भित्रको त्यस भागलाई चलाउने नसालाई आदेश दिने स्थानमा रगत जमेको छ । जसले गर्दा उनलाई यो भएको छ । रगत जाँच गर्दा उनको लिविड प्रोफाइल बढेको छ, चिनीको मात्रा पनि बढेको छ ।
पहिलेको उनको रोगका बारेमा सोध्दा ५ बर्ष पहिले नै उ अस्पताल आउदा ब्लड प्रेसर १८० सिस्टोलिक र १२० डायस्टोलिक रहेछ । चिकित्सकले उनलाई औषधी खान सल्लाह दिएका रहेछन् । पहिले त यो जिवनभर खान पर्ने भो भनेर गाउँलेले सुनाए । त्यसैले खान जागर आएन । खाँदा खादै छोडे । तर खान छोडेपछि रिंगटा आउने, टाउको दुख्ने, निद्रा नआउने भइरहेको थियो । तर वास्ता गरेनन् । गाउँमा सिस्नो, तितेकरेला, निम खानु भने । कहिलेकही त्यही खाइरहे । तर आज उनको यो अवस्था भयो ।
केही औषधी गरेर तुरुन्त एम्बुलेन्स बोलाएर वीर अस्पतालमा रेफर गरियो, सिटी स्क्यानका लागि । सिटी स्कयानमा दिमागमा अघि भनिए जस्तै त्यही रगतको नसा फुटेर जमेको देखिएछ । लामो अस्पताल बसाई र लगातार औषधी खाएपछि अहिले अलि ठीक भएको छ तर हात खुटटा लुलो यथावत छ ।
अर्को बिरामीको तास खेल्दा खेल्दै माथिल्लो पेट पोलेजस्तो र बिच छातीमा अकस्मात कडासँग दुखेर आयो । सास फेर्न गाह्रो भयो । रिंगटा लाग्यो । वाकवाक आयो, चिटचिट पसिना आयो । उनले तास खेलिरहेका साथीहरुलाई भने । तुरुन्त एम्बुलेन्स बोलाएर अस्पतालको इमर्जेन्सीमा ल्याए । जाँच भयो । उनको इसिजीमा मायोकार्डियल इन्फ्राक्सन भएको थियो । जसलाई हर्ट अटयाक पनि भनिन्छ । त्यस्तै रगतमा सुगरको मात्रा बढेको थियो । उनलाई तुरुन्त अक्सिजन चाहिने भयो । एम्वुलेन्स बोलाएर गंगालाल अस्पतालमा पठाइयो । तर केही बेरमा उनको मृत्यु भयो ।
उनी रक्सी र चुरोट प्रशस्त पिउथे । उनले दश वर्ष अघि जाँच गर्दा उच्च रक्तचाप र चिनीको रोग दुबै छ भनेर डाक्टरले भनेका थिए । उनलाई औषधी खान भनेको भएता पनि मन लाग्दा खाने नलाग्दा नखाने गर्दथे । त्यसबेला औषधी छोडेका थिए ।
यी प्रतिनिधी घटना हुन् । दैनिकजसो घटिरहेका छन् । हाम्रो ब्लड प्रेसर कम्तीमा ६ महिनामा एक पटक जचाई राख्नुपर्छ । माथिको (सिस्टोलिक) प्रेसर १२० र तलको (डायस्टोलिक) ८० भन्दा माथि भयो भने तुरुन्त चिकित्सकका सल्लाहका लागि जानुपर्दछ । उमेर ३० भन्दा माथि भएपछि हरेक बर्ष शरीरमा कुनै बिरामी नभए पनि मुख्य मुख्य अंगहरुको काम कस्तो भइरहेको छ, चालपाउन अस्पतालमा रगत, इसिजी, पिसाव आदि जाँच गर्नुपर्दछ ।
हाम्रा गाउँघरमा धेरै जसो भनिने कुरा के हुन् भने ब्लड प्रेसर र रगतमा चिनी बढने रोगको औषधी चलाएपछि जीवनभर खाइराख्नु पर्दछ, त्यसैले सुरु नगर्ने भन्दछन् । यदि यी औषधीहरु सुरु नगरि बसेमा आपूmलाई दुख्ने, पोल्ने, घोच्ने कुनै लक्षण नदेखिएता पनि शरीरलाई बचाउने मुख्य मुख्य अंगहरु जस्तै मृगौला, मुटुलाइ यसले कमजोर बनाइरहेको हुन्छ । आँखा भित्रको दृष्टि दिने भागलाई बिस्तारै धमिलो हुने बनाइरहेको हुन्छ । अघिको उदाहरणमा जस्तै दिमाग भित्रको नशा फुटेर लुलो, लंगडो हुने, बोली लर्बरिने, अनुहार बांगो हुने आदि जस्ता यसका जटिलताहरु आउदछन् । त्यसैले चिकित्सककहा जाँदा रोग पत्ता लागेमा नियमित औषधी खानु, भनिए अनुसार खानपान गर्नु, रक्सी, चुरोट नपिउनु, भनिए अनुसार ब्यायाम, हिडने इत्यादि गरेर उच्च रक्तचाप र चिनिको रोगमा ठीक ठाउँमा ल्याएर राख्नु पर्दछ ।
चिकित्सकको सल्लाह बिना आफ्नै मनले औषधी छोडनु हुन्न र अरुले भनेका भरमा खान थाल्नु या फेर्नु पनि हुन्न । गाउँमा कसैकसैले मलाई यो खादा ठीक भाको थियो, भनेको भरमा कोही कोही आफै औषधी फेर्दछन् र रोग बढाएर बिगारेर पनि आउदछन् । त्यसैले जहिले, जुन औषधी चिकित्सकले खान भन्दछन्, त्यही बेलामा सोही औषधी खाने र जुनबेलामा चिकित्सकले सम्पर्क राख्नु भनेका छन् । सोही दिन सम्पर्क राख्न जाने । यदि अलि जटिल अवस्था भइसकेको छ भने बरु चिकित्सकसँग अनुरोध गरेर टेलिफोन नम्बर लिइराख्ने, आपूmलाई घरमा बस्दा अप्ठेरो भयो भने के गर्नुपर्ला भनेर सोधी हाल्ने ।
यसरी तपाइको अमुल्य जीवन तपाइकै हातमा छ । संसारमा हरेक बर्ष लाखौ मानिसहरुको मृत्यु उच्च रक्तचाप –हाइ ब्लड प्रेसर र चिनीको रोगका कारणले हुने गरेको छ । त्यसैले समयमै आफ्नो शरीरको बारे सजग भएर भविष्यमा आउने खतराबाट जोगाउनु हाम्रो कर्तब्य हो । स्वास्थ्य नै धन हो । यदि तपाइको स्वास्थ्य राम्रो भएन भने तपाइको जति धन, जति ठूलो घर, जति राम्रो गाडी, जति ठूलो इज्जत जे भएपनि त्यसको खाशै अर्थ रहदैन । मुटु नै तपाइको स्वास्थ्य हो ।
(लेखकः तामाकोसी अस्पताल मन्थली, रामेछापका निर्देशक हुनुहुन्छ ।)