२३ कार्तिक, रामेछाप– ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आर्थिक वर्ष २०७५÷७६ मा ३ लाख २२ हजार ३ सय ६५ रुपैयाँ नाफा कमाएको छ । संस्थाको नवौं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ब्यवस्थापक अञ्जना श्रेष्ठले उक्त जानकारी गराएकी हुन् । अघिल्लो आर्थिक वर्षमा १ लाख ३३ हजार ४ सय ८५ रुपैयाँ नाफा कमाएको ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा ३ लाख भन्दाबढी नाफा कमाउन सफल भएको हो ।
८ औं वार्षिक साधारण सभाले तयार गरेको वार्षिक कार्ययोजनाहरुमा प्रायः अनुमान गरिएको भन्दा बढी प्रगति भएको संस्थाका सचिव दिपक केसीद्धारा साधारण सभामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । सचिव केसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा चालू आर्थिक वर्षमा ५ लाख रुपैयाँ नाफा कमाउने उद्देश्य लिइएको छ ।
कुल पूँजी २ करोड ९३ लाख ७३ हजार ४ सय ७७ रुपैयाँ रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभासम्म आइपुग्दा ९ सय २ जना शेयर सदस्यहरु रहेका छन् । त्यसबाहेक १ सय ४८ बाल बचत कर्ताहरु रहेका छन् ।
चालू आर्थिक वर्षमा संस्थाले २ सय ५ जना सदस्य विस्तार गर्ने उद्देश्य लिएको संस्थाका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७५/७६ सम्मका शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांस समेत वितरण गरेको छ ।
साधारण सभाले बचत नीति २०७६, मानव शंसोधन ब्यवस्थापन नीति २०७६ र ऋण नीति २०७६ लगायका नीतिहरु समेत पास गरेको छ ।
त्यसैगरी संस्थाले शेयर सदस्यहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ज्येष्ठ नागरिक बचत कर्ता, दैनिक बचत कर्ता, बाल बचत कर्ता, नियमित बचत कर्ता र असल ऋणी एक जनालाई सम्मान गरेको छ ।
साधारण सभाको उद्घाटन सत्रलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले मन्थली नगरपालिका सहकारीहरुसँग सहकार्य गर्न तयार रहेको बताए । मन्थली नगरपालिकाभित्र १ सय २९ वटा सहकारी संस्थाहरु रहेको भन्दै कतिपय सहकारी संस्थाहरु ब्यवस्थापकको झोलामा रहेको बताए ।
झोलामा कार्यालय बोकेर हिड्ने सहकारी संस्थाहरुलाई मन्थली नगरपालिकाले नियमन, नियन्त्रण र कारबाही गर्ने पनि नगर प्रमुख बस्नेतले बताएका छन् । नगरपालिकाले एक वडा २ सहकारीको अवधारण अघि सारेको पनि नगर प्रमुख बस्नेतले जानकारी दिए । प्रत्येक वडामा एउटा कृषि सहकारी र अर्को बचत तथा ऋण सहकारीको अवधारण ल्याउने तयारीमा नगरपालिका रहेको नगर प्रमुख बस्नेतको भनाई छ ।
कृषि क्षेत्रमा लगानी गर्नको लागि मन्थली नगरपालिका सहकारी संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको बताउँदै एउटा प्रयोजनको लागि भनेर लिएको रकम अर्को क्षत्रेमा खर्च गर्ने प्रवृत्तिलाई भने नगरपालिकाले निशेध गर्ने पनि उनले बताए ।
त्यसैगरी जिल्ला बचत संघ रामेछापका अध्यक्ष जेएन दाहालले ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्य संख्याको रुपमा सानो भए पनि संस्थाको आन्तरिक ब्यवस्थापन र सेवा प्रवाहको हिसाबले सबल रहेको पाइएको भन्दै प्रशंसा समेत गरे ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का सदस्य बद्री नयाँघरेले सञ्चार माध्यमको क्षेत्रबाट सहकारी संस्थाहरुसँगको सहकार्य र सहयोग लागि सधै तयार रहेको बताए । त्यसैगरी उद्घाटन सत्रमा मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठ, युवा स्वरोजगार कोष रामेछापका सदस्य सचिव कुमार श्रेष्ठ लगायतले सहकारीको बारेमा धारणा राखेका थिए ।