Logo

जनमैत्री कामबाट लोकप्रिय बन्दै वडाध्यक्ष कार्की



 

रामेछाप– रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष समीर कार्की जनमैत्री काम गरी वडावासीबिच लोकप्रिय अध्यक्षको रुपमा स्थापित भएका छन् ।
बुधवार बिहान वडावासी नागरिकका लागि वडाको तर्फबाट निःशुल्क स्वास्थ्य बिमा गराउने कार्यक्रम लिएर वडाको पात्ले गाउँमा पुगे । निःशुल्क बिमा कार्यक्रम लिएर आफ्ना नागरिकको बिचमा गएका कर्कीले स्थानीय नागरिकलाई समृद्धिको लागि वडा कार्यालयसँग तपाइहरुको अपेक्षा के छ ? भनि सोधे । कार्यक्रममा करिब १ सयको सङ्ख्यामा स्थानीयवासी सहभागि थिए ।

तपाईहरु स्थानीय स्तरमै सीप सिकेर स्वरोजगार बन्न चाहनु हुन्छ या अरु कुनै स्वरोजगारकूलक काम गर्न चाहनु हुन्छ उनले थपे– “यदि चाहनु हुन्छ भन्ने वडा कार्यालय तपाइँहरुको आर्थिक समुन्नती र पारिवारिक समृद्धिका लागि घर दैलोमै आएर आवश्यक सबै सहयोग र ब्यवस्थापन गर्न तयार छ ।” त्यसका लागि तपाईहरुसँग काम गर्ने इच्छाशक्ति र समूह हुनु चाँहि जरुरी छ । आफनो स्थान विषेशको तालिम र सीप लिन तपाइहरुले आफनो इच्छाशक्ति जगाएर घर वस्तीमै आय आर्जनको काम गर्न सक्नु भयो भने गाउँका कोहि पनि दाजुभाईहरुले बेरोजगार बस्नु पर्दैन अध्यक्ष कार्कीले भने ।

अध्यक्ष कार्कीले आफना वडा वासीहरुलाई तपाईहरुको सकरात्मक प्रयास र रचनात्मक कामका आधारमा आफनो वडालाई नमूना वडा बनाउने आफनो लक्ष्य रहेको भन्दै आफ्नो लक्ष्यमा साथ दिन पनि वडाध्यक्ष कार्कीले अनुरोध गरे । त्यसका लागि सबैभन्दा पहिले हाम्रो चिन्तन र कर्ममा परिवर्तन जरुरी हुन्छ उनले भने । परिवर्तनका लागि वडाले विभिन्न कामहरु गर्दै आएको पनि उनले बताए ।

दोस्रो पटक वडाध्यक्ष बनेका कार्कीलाई नगरपालिकाले पनि दोस्रो कार्यकालसँगै नगर प्रवक्ताको समेत जिम्मेवारी दिएको छ । यसअघि सबै वडावासीका घरघरमा सामाजिक सुरक्षा भत्ता, वडा अध्यक्षले पाउने सुविधाको रकमबाट वडावासीलाई निःशुल्क रासायनिक मल वितरण गरेका थिए । त्यसैगरी खानेपानी र थोपा सिँचाइका लागि एक घर एक हिलटेक टङ्याकी वितरण गरेर वडावासीबिच लोकप्रिय बनेका वडाध्यक्ष कार्कीले गत वर्षबाट आफना वडाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए ।

निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता र स्वास्थ्य विमाका लागि आफनो वडाको स्वास्थ्य बिमा सहयोगीलाई लिएर घरमानै पुगेका अध्यक्ष कार्कीले निःशुल्क बिमाको सुरुवात मात्र गरेनन्, स्वास्थ्य विमाको उद्देश्य र बिमाको प्रभावकारिता बारेमा पनि नागरिकहरुलाई बुझाउने प्रयास गरेका छन् ।
विगत वर्षहरुबाटै नागरिकको घरदैलौमा पुगेर घर दैलोमा आफनो सरकार भएको अनुभुति दिलाउन विभिन्न खालका सकारात्मक र रचनात्मक काम गर्दै आएका अध्यक्ष कार्कीले गरेको कामलाई कतिपय अरु वडा अध्यक्षले आफनो वडामा पनि सञ्चालन गर्दै आएका छन् ।

पहिलो पटक वडाध्यक्ष हुँदा रामेछाप जिल्ला भरिमै कम उमेरको वडा अध्यक्षका रुपमा नाम दर्ज गराएका कार्कीको कामबाट आफुहरु पनि सन्तुष्ट रहेको कार्यक्रमका सहभागिहरुले बताएका थिए । गत बर्षबाट वडाले सुरु गरेको निःशुल्क स्वास्थ विमाको कार्यक्रमले यस बर्ष आफनो गाउँ पूरै समेटीने स्थानीय रुपा मगरले बताइन् । निःशुल्क स्वास्थ बिमा कार्यक्रमबाट हालसम्म वडाका आधाजति नागरिक लाभान्वित भइसकेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्