Logo

दुधौलीका वडा अध्यक्षले १ हजार थान मास्क लुकाए



Share this

बलवीर भुजेल


२५ चैत्र, सिन्धुली– दुधौली नगरपालिका–१ मा एक हजार मास्कको विषय अहिले चर्चामा रहेको छ । नगरपालिकाले वडाबासीका नाममा वितरण गर्न पठाएको २ हजार ५ सय थान मास्क मध्य १ हजार ५ सय थान वितरण गरिए पनि १ हजार थान नपुगेपछि उक्त विषय चर्चामा रहेको हो ।
दुधौली नगर कार्यपालिकाको ४५ औं बैठकले मास्क नभएको भनि गुनासो आएका वडाहरु, १, २, ८ र १२ मा २ हजार ५ सयका दरले मास्क पठाएको थियो । तर सबै वडाहरुमा २ हजार ५ सय नै मास्क पुगे पनि वडा नम्बर १ मा १ हजार ५ सय मात्र आएको भनि वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले दावि गरे ।
यस विषयलाई आन्तरिक रुपमा समाधान गर्ने भन्दा पनि राजनीतिक रुपमा लिइयो । नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष समेत रहेका पहाडी काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
नगरपालिकाले कोभिड–१९ (नोवल कोरना भारइरस) महामारीको समयमा जनतालाई बाँड्नको लागि पठाएको १ हजार थान मास्क वडा अध्यक्ष पहाडीले गाएब बनाएका हुन । उनले कार्यकर्ता तथा घरपरिवारका सदस्य आफ्ना आफन्त नातागोतालाई बाडेको हुन सक्ने आशंका गरिएको छ ।

यता दुधौली नगरपालिकाले एक अपिल जारी गर्दै वडाहरुमा २ हजार ५०० का दरले नै मास्क पठाएको जानकारी गराएको छ । मेयर घनश्याम राउतले एक अपिल जारी गर्दै ‘वडा नं. १, २, ८ र १२ मा २ हजार ५ सयका दरले मास्क पठाइएको जानकारी दिएका छन् ।
अपिल मार्फत मेयर राउतले वडा मार्फत वडाबासीलाई मास्क वितरण गर्न पठाएकोमा यो विषम परिस्थितिमा मास्क वितरणको विषयमा आरोप प्रत्यारोप नगरि सवैलाई कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने अभियानमा जुट्न समेत अपिल गरेका छन् ।
अन्ततः कोरोना भाइरसबाट बच्न र बचाउनका लागि जनप्रतिनिधिहरु जनताको सेवामा लागि रहेका बेला दुधौली नगरपालिका–१ का वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले एक हजार माक्स लुकाएको व्यहोरा आज नगरपालिकाले गरेको अपिलले पुष्टि गरेको छ ।

Share this
प्रतिक्रिया दिनुहोस्