जयराम आचार्य
“स्त्रीया चरितम्, पुरुषस्य भाग्यम्, देवो नजानन्ती कुतो मनुष्य ।” मन्त्रद्रष्टा ऋषि देवता थियो कि मानव रु नारीवादीहरूबाट ऋषि बहिष्कार हुन सक्छ । अहिले हो भने ऋषि संकटमा पर्छ । किन कि नारीहरूको बिगबिगी छ । तर मैले अझै पनि ग्रामीण बस्तीहरूमा पुरुषहरूले आफ्नो भाग्य बनाउन नारीलाई प्रयोग गरिरहेको देखेको छु । उनीहरूको स्वतन्त्रता पुरुषको नियन्त्रणमा छ । जबसम्म स्वतन्त्रता नियन्त्रणमा रहन्छ, समानता सम्भव छैन । निर्वाचन गराउने जिम्मेवारीका साथ म खटिएको क्षेत्र रसुवाको रिमोट एरिया नै हो । मैले अनौठा दृश्यहरू देखें । आखिर किन महिला मतदाताका सहयोगी पुरुष रु किन विरोध गर्दैनन् महिला प्रतिनिधि रु मन्त्रलाई चरितार्थ गर्न ।
रसुवाको मतदाताको करिब ४९ प्रतिशत हिस्सा ओगट्ने महिलाले बलियो गरी नसोचेसम्म पुरुषको भाग्य कमजोर हुँदैन । या महिलाको उत्पीडनको अन्त्यका निम्ति प्रणोत्सर्ग गर्ने पुरुषले नजितेसम्म चरित्रमा प्रश्न लाग्न छोड्दैन । पुरुषको भन्दा महिलाको खास केही प्राकृतिक जिम्मेवारी छन् । त्यो दायित्व निर्वाहमा उर्जाशील समय व्यथित गर्न विवश नारीको व्यक्तित्वमा प्रश्न गरेर पुरुष बारम्बार अवसर लुट्छ । अवसरहरूको समान वितरणका निम्ति प्रणोत्सर्ग गर्ने पुरुष हारेसम्म नारीले जित्दैन् । राजनीतिक दृष्टिका साथ मनोवैज्ञानिक, आर्थिक, सांस्कृतिक, धार्मिक दृष्टिबाट समेत नारीलाई प्रताडित गरिएको छ भन्ने मार्गरेड मिडको निष्कर्ष मनन् योग्य छ । गृहस्थीको आर्थिक संकट, शिक्षा पद्धति, लैङ्गिक पहिचना र यौन तथा शारीरिक पुनर्रुत्पादनको सम्बन्ध आदि सन्दर्भबाट मिसेल वारेटको अवधारण पनि मनन् योग्य छ । किन कि नारी उत्थानका लागि सांस्कृतिक क्षेत्रमा मात्र होइन आर्थिक उत्पादन र राजनीतिक क्षेत्रमा पनि परिवर्तन आवश्यक छ । त्यही परिवर्तन नभएर नै रसुवाले हालसम्म नारी सांसद पाएन । केवल मतदातामै सीमित ।
आर्थिक समृद्धि र राजनीतिक, सामाजिक परिवर्तनका निम्ति रसुवाको निर्वाचन नतिजा कति दूरदर्शी भयो यसको मूल्याङ्कन आगामी ५ वर्ष पछि प्रष्ट नै हुनेछ । निर्वाचन प्रक्रियामा करिव २६ हजार मतदाता सहभागी थिए । जसमा मलाई लाग्छ सरदर २० हजार मतदातालाई राजनीतिसँग प्रत्यक्ष सरोकार छैन । बाँकी सरदर ६ हजार राजनीतिक दलका पदाधिकारीका ढोके हुन् । ती ढोकेहरूले पटक–पटक राजनीतिलाई अर्थसँग सौदावाजी गरेका छन् । पेशासँग नजोडिने र ढोके हुने स्वभावका मध्यम स्तरका नेता÷कार्यकर्ता÷जनताले नतिजामा जबर्जस्त प्रभाव पारेका छन् । बाँकी आधाभन्दा बढी जनता कृषि, पशुपालन र अन्य पेशामा संलग्न छन् । उनीहरू आफ्नै मेहनतको अर्थ व्यवस्थामा उभिएका छन् । मैले माथिल्लो भेगका र पासाङ ल्हामु राजमार्गले नछोएका भेगका प्रायः उत्तरबाल्यावस्थाका बालबालिकाहरूलाई स्कुलमा होइन गोठमा भेटेको छु । वयस्कहरूलाई पुस्तकालयमा होइन पशुशालामा भेटेको छु । रुग्णहरूलाई अस्पतालमा होइन परम्परागत आस्थामै रुमलिएको भेटेको छु । यहाँको नियती नै हो केही उच्च बर्गकाले मध्यम बर्गका मनुष्यलाई प्रयोग गरेर नतिजा आफ्नो पोल्टामा पार्नु ।
पूँजीपति बर्गको जहाँ जहाँ पल्लाभारी भयो उसले मानवलाई आफ्ना स्वभाविक ठूलाबडाहरूसँग आबद्ध राख्ने विभिन्न प्रकारका सामन्ती सम्बन्धहरूलाई निर्ममतापूर्वक तोडिदियो र नग्न स्वार्थको नगद नारायणको हृदयशून्य व्यवहारको अलावा मानिसहरूको बीच अन्य कुनै सम्बन्ध बाँकी रहन दिएन भन्छन माक्र्स । माक्र्स थप भन्छन् धार्मिक श्रद्धाको स्वर्गतुल्य आनन्दतिरेकलाई वीरोचित उत्साह र कूपमण्डूकतापूर्ण भावुकतालाई उसले आना–पाईको स्वार्थी हिसाव–कितावको चिसो पानीमा डुबाइदिन्छ । मानवको वैयक्तिक मूल्यलाई उसले विनिमय मूल्य बनाइदिन्छ र पहिलेका असङ्ख्य प्रदत्त र हासिल गरिएका स्वतन्त्रताहरूको स्थानमा अब उसले त्यो एक निर्लज्जतापूर्ण स्वतन्त्रताको स्थापना गर्छ ।
जुन पेशाहरूका सम्बन्धमा अहिलेसम्म मानिसहरूको मनमा आदर र श्रद्धा भावना थियो, ती सबैको प्रभामण्डल पूँजीपति बर्गले खोसेर लिन्छ । उसले सबैलाई आफ्ना बेतन–जीवी बनाइदिन्छ । उसले पारिवारिक सम्बन्धहरूमाथि रहेको भावुकताको पर्दा उतारेर फ्याकिदिन्छ र पारिवारिक सम्बन्धलाई केवल द्रव्यको सम्बन्धमा बदलिदिन्छ र बदलिदिएको पनि छ । रसुवाको राजनीति यहि दिशातर्फ अगिबढ्न सक्ने सम्भावना प्रशस्तै देखिएकाले यो नतिजा इतिहासमा नजीर सावित नहोला भन्न सकिदैन । किन कि रसुवा ५ वर्षमा स्वीजरल्याण्ड बन्दैन ।
लेखक प्रेस सेन्टर रसुवाका उपाध्यक्ष हुन् ।