रामेछाप- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७७ वटै जिल्लाको नेतृत्व चयन गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको हो ।
पार्टी एकतापछि जिल्ला पार्टीको नेतृत्व चयनका लागि प्रदेश कमिटिले जिल्ला अध्यक्ष र सचिवको नाम यसअघि नै सिफारिस गरिसकेको थियो ।
प्रदेश कमिटिले सिफारिस गरेको आधारमा आईतवार बालुवाटारमा बसेको सचिवालय बैठकले रामेछापको जिल्ला अध्यक्षमा डिल्लीमान तामाङ र सचिवमा आनन्द श्रेष्ठको नाउँ टुङ्गो लगाएको नेकपा स्रोतले बताएको छ ।
बैठकले जिल्लाको अध्यक्ष र सचिव टुङ्गो लगाएको भएपनि नाम सार्वजनिक भने पार्टी स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक गर्ने स्रोतले बताएको छ ।
अध्यक्ष डिल्लीमान तामाङ तत्कालिन नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष थिए भने सचिव श्रेष्ठ पनि तत्कालिन नेकपा एमाले रामेछापका सचिव नै थिए ।