रामेछापः संविधानसभा सदस्य तथा नेकपा रामेछापका नेता तारानारायण श्रेष्ठले नेता र कर्मचारीको ब्यवहार नफेरिएसम्म देशको विकास नहुने बताए । ब्यवस्था फेरिए पनि देश चलाउने कर्मचारी र नेताको ब्यवहारमा परिवर्तन नआएको उनले दावि गरे ।
कर्मचारी र नेताको ब्यवहार र कार्यशैलीमा परिवर्तन नआएसम्म देशको विकास नहुने सभासद श्रेष्ठले दावि गरे । त्यस्तै अहिले भइरहेको विकास प्रणालीमा पनि सुधार गर्नुपर्ने सभासद श्रेष्ठको भनाई छ ।
बजेट कनिकाझै छर्ने अहिलेको विकास प्रणालीबाट विकास सम्भव नहुने पनि श्रेष्ठले बताए । विकासको आवश्यकताको पहिचान गरि विकास निर्माणमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ । ‘एक पटक सम्पन्न भइसकेको वा निर्माण गरिसकेपछि वर्षेनी त्यही योजनामा बजेट विनियोजन गर्नु नपरोस्, स्थायी प्रकृतिको विकास गर्नु पर्दछ’ श्रेष्ठले भने ।
रामेछाप जिल्लाको मन्थली नरपालिकाको चौथो नगरसभाको उद्घाटन समारोहलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्थानीय जनप्रतिनिधिहरुले अरुलाई दोष लगाएर पञ्छने ठाउँ नभएको पनि उनले बताए । राजनीतिक, प्रशासनिक, आर्थिक, वित्तिय, न्यायिक र ब्यवस्थापकीय नीति निर्माण गर्नेसम्मको अधिकार स्थानीय तहमा आएकाले अब स्थानीय तहले कसैलाई दोष लगाउने ठाउँ नरहेको श्रेष्ठको भनाई छ ।
नगरपालिका र गाउँपालिका असफल हुँदा एकजना मेयर वा गाउँपालिका अध्यक्ष मात्रै नभई वडा अध्यक्ष र सबै जनप्रतिनिधिहरु पनि असफल हुने बताए । नगरपालिका वा गाउँपालिका असफल हुँदा त्यसको जिम्मेवारी पालिका प्रमुखदेखि वडा अध्यक्ष र सबै जनप्रतिनिधिले लिनुपर्ने बताए ।
गाउँपालिका र नगरपालिकाले गर्ने अनुगमन पनि फितलो भएको श्रेष्ठले बताए । विना प्राविधिक स्टिमेट योजना अनुगमनमा जाने र नाङ्गो आँखाले हेरेको भरमा योजना पास गर्ने गरेको पाइएको सभासद श्रेष्ठले बताए ।
योजनाहरुको अनुगमनलाई पनि प्रभावकारी बनाउनु पर्ने उनको भनाई छ । ११ घण्टा डोजर चलाएर २ लाख रुपैयाँ बजेट सकेको भन्ने परिपोर्ट पनि आपूmलाई आएको भन्दै त्यस्तो नगर्न समेत उनले जनप्रतिनिधहरुलाई सचेत गराएका छन् ।
श्रेष्ठले जनताको ठूलो त्याग र बलिदानीबाट स्थापना भएको स्थानीय सरकारले जनताको भावनालई पूर्णरुपमा बुझ्न नसकेको आरोप समेत लगाए ।
जनप्रतिनिधिले स्थानीय सरकारको अधिकारलाई आफ्नो मात्रै अधिकार हो भन्ने तरिकाले बुझ्दा जनताले अपेक्षा गरे अनुसारको विकास हुन नसकेको श्रेष्ठको आरोप छ । गाउँपालिका तथा नगरपालिकाहरु सफल हुनको लागि सबै जनप्रतिनिधि विकास निर्माणमा एक भएर आगाडि बढ्नु पर्ने उनले बताए ।
https://youtu.be/cBtTEv0mAqc