रामेछाप- अविरल वर्षपछिसँगै आएको बाढी पहिरोले रामेछाप जिल्लाको विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन् । गयरातिको वर्षाले पहिरो खस्दा रामेछाप लिखु तामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो खस्दा धोबी–सैपु सडक पूर्ण रूपमा अवरुद्ध भएको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन् । उक्त सडक सुचारु गर्न केही समय लाग्न सक्ने उनको भनाइ छ । मुख्य सडक अवरुद्ध भएकाले सवारी साधन प्रयोग कर्तालाई धोबी–सैपु सडकको वैकल्पिक मार्ग प्रयोग गर्न वडाध्यक्ष पौडेलले अनुरोध गरेका छन् ।
यता खाँडादेवी गाउँपालिका–८ मा पनि पहिरोले सडक अवरुद्ध गरेको छ । अवरुद्ध सडक खुलाउन गाउँपालिकाले डोजर पठाएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै मन्थली नगरपालिका–८ चिसापानीको सल्लेपानी–चिसापानी सडक आंशिक रूपमा असर परेको छ । उक्त सडकको ठाउँठाउँमा खसेका ढङ्गाहरु हटाइएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
बाढी पहिरोका कारण अवरुद्ध भएका सडकहरू खुलाउन प्रहरी परिचालन भएका छन् । वर्षले लिखु तामाकोशी गाउँपालिका–२ शैपुबाट धोबी डाँडातर्फ आउने सडक खण्डको अवरोध हटाउन इलाका प्रहरी कार्यालय धोवीबाट प्रहरी सहायक निरीक्षक विजय कुमार यादवको कमान्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसै गरी सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–८ चिसापानी हुँदै वडा नम्बर ११ गेलुतर्फ जाने सडकमा महादेव खोलाले बगाएर ल्याएको ढुङ्गा माटो र गेगर हटाउन प्रहरी सहायक निरीक्षक दीपक चौलागाईको कमान्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । पहिरोकै कारण मन्थली–साँघुटार सडक खण्ड पनि अवरुद्ध भएको छ । रामेछाप नगरपालिका–२ देउरालीको सेराखोला आसपासका क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध हुँदा उक्त सडक भएर चल्ने सवारी साधानहरु सञ्चालन हुन सकेका छैन् । ओलख ढुङ्गाको यसम, चिउरी डाँडा, घोराखरी लगायतका स्थानबाट रामेछाप नगरपालिका–३ साँघुटार हुँदै काठमाडौँका लागि छुटेका यात्रुवाहक बसहरु बिच बाटोमै अलपत्र परेका छन् । गाडी देउराली खोला नजिकै रोकिएका छन् ।