Logo

रामेछापमा जापान जान राहदानी बनाउनेको संख्या बढे



Share this

रामेछापः जापानले १४ वटा क्षेत्रमा दक्ष नेपाली कामदार लैजाने भएपछि रामेछाप जिल्लाबाट जापान जान राहदानी  (एमआरपी) बनाउने युवाहरुको संख्या बढेको छ ।
नेपाल र जापान सरकारबीच सोमबार सहयोग समझदारी पत्र (एमओसी) मा हस्ताक्षर भएको थियो । नेपाल र जापान सरकारबीच नेपाली कामदार जापान लैजाने समझदारी भएसँगै रामेछाप जिल्लामा जापान जानको लागि राहदानी बनाउने युवाहरुको संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा दैनिक ३०/४० जना राहदानी आवेदनका लागि आउने गरेका छन् । राहदानी आवेदनका लागि आउनेहरु मध्य धेरैजसोले राहदानी बनाएर जापान जाने बताउने गरेको जिल्ला प्रशासन कार्यालय रामेछापमा सञ्चालीत आप्रवासी स्रोत केन्द्रका परामर्सकर्ता जीतबहादुर तामाङले जानकारी दिए ।
दुई देशको सरकारबीच भएको सम्झौतामा सन  २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ् सरसफाई व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिकहरु लिने उल्लेख छ ।
जापान जान चाहने कामदारले एन–४ तहको भाषा पास गर्नुपर्ने हुन्छ । तर आप्रवासी स्रोत केन्द्र रामेछापमा जापान जाने भन्दै आउने गरेका युवाहरु केही जापानी भाषा सिक्न इच्छुक र केही भाषा पढ्दै गरेकाहरु रहेको आप्रवासी स्रोत केन्द्र रामेछापका परामर्सकर्ता जीतबहादुर तामाङले बताए ।
नेपाल र जापान सरकारबीच भएको सम्झौता अनुसार एन–४ तहको भाषा पास भएका दक्ष कामदार जापान जान पाउने व्यवस्था छ । जापानी भाषामा एन–४ तह उत्तिर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो ।
केयर गिभरको काममा जान चाहनेहरुको लागि एन–४ तहको भाषा पर्याप्त नहुने आप्रवासी स्रोत केन्द्रका परामर्सकर्ता तामाङको भनाई छ । अन्य काममा जान चाहनेले एन–४ तहको भाषा पास गरेपछि जान पाउँछन् भने केयर गिभरको काममा जाने कामदारले वृद्धवृद्धाको चाहाना अनुरुप आवश्यक स्याहारसुसार गर्नुपर्ने भएकाले जापानी भाषा पूर्णरुपमा जानेको हुनुपर्ने परामर्स केन्द्रको भनाई छ ।
यसअघि जापानका रोजगारदाताले सीमित मात्रामा नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने गरेका थिए भने कतिपय विद्यार्थी र पर्यटक भिसामा जापान पुगेकाहरूले उतै काम गर्दथे । जापानले कामदार आपूर्तिकर्ता मुलुकको रूपमा नेपाललाई पहिलोपटक समावेश गरेकाले पनि जापानप्रति नेपाली युवाहरुको आकर्षण बढेको आप्रवासी स्रोत केन्द्रको भनाई छ ।
जापान जानेले भाषासँगै सम्बन्धित कामको अनुभव र सीप लिएको हुनुपर्छ ।
वैदेशिक रोजगारीमा जान नेपालले संस्थागत रुपमा १ सय १० वटा देशमा खुला गरेको भए पनि नेपालले श्रम सम्झौता गरेका देशहरु मध्य जापान आठौं देश हो ।
हालसम्म जापानमा वैधानिक तवरले गएका नेपालीको संख्या करिब २६ हजार रहेको छ । मानव अधिकारको पूर्ण प्रत्याभूति भएकाले जापानलाई सुरक्षित मुलुक मानिन्छ । त्यस्तै पारिश्रमिक पनि अन्य देशमा भन्दा जापानमा राम्रो पाइने भएकाले जापानप्रति युवाहरुको आकर्षण बढेको छ ।
जापानमा रोजगारी गर्नेको औसतमा मासिक पारिश्रमिक दुई लाख रुपैयाँ हाराहारी हुने गरेको छ । जापानको श्रम कानूनले स्वदेशी र विदेशी कामदारबीच पारिश्रमिक र अन्य सेवा सुविधामा विभेद गर्न नपाइने व्यवस्था गरेकाले पनि युवाहरु कामका लागि जापान जान बढी रुचाउँछन् ।
हाल नेपालबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन् । ती मुलुकमा जाने श्रमिकको औसत मासिक पारिश्रमिक ४० हजार रुपैयाँ हुने गरेको छ । जसले गर्दा सरकारलाई राम्रो गन्तव्य खोज्न सर्वसाधारणको दवाव रहँदै आएको छ ।
नेपाली श्रम बजारमा बर्सेनि प्रवेश गर्ने करिब पाँच लाखमध्ये चार लाख युवा वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, अधिकांश युवा कम पारिश्रमिक पाइने मुलुकमा जान बाध्य छन् । जसको कारण रेमिट्यान्स बापतको रकममा बृद्धि हुन सकेको छैन ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालमा विभिन्न मुलुकबाट सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा साउनदेखि पुससम्म चार खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । ती युवा राम्रो पारिश्रमिक पाउँने मूलकमा पुग्न सकेमा नेपालमा भित्रिने रेमिट्यान्समा पनि बृद्धि हुनेछ ।

Share this
प्रतिक्रिया दिनुहोस्