निरोज खड्का
क्षेत्रीय सचिव नेपाली काँग्रेस क्षेत्र नं.१ रामेछाप
नीतिहरुको पनि नीति बनाउने राजनीतिले हो । राजनीति कुनै पेशा ब्यबसाय नभइ विशुद्ध समाजसेवा हो । समाजलाई अग्रगमन तिर डोर्याउने, सहि दिशा निर्देश गर्ने, सम्मुनत, सभ्य, सुबिधाभोगी र सुशाशीत बनाउने संकल्प प्रत्येकको राजनीतिभित्र अटाएको हुनुपर्छ । प्रत्येक नेतासंग प्रष्ट बिचार, बिश्वसनिय ब्यक्तित्व, दुरगामी योजना र साझा लक्ष्य हुनैपर्दछ । राजनीति गर्नेको न्युनतम उद्देश्य आफ्नो समाजको भलाइ हो । घृणा, द्वेष, आतंक सिर्जना गरेर समाज र सम्बन्धलाई तोड्ने होइन, यी प्रवृत्तिको अन्त्य गरेर सामाजिक सम्बन्ध, सद्भाव र सहिष्णुतालाई जोड्ने अभिभारा राजनीति कर्मीको हो । तसर्थ, राजनीतिमा पात्र भन्दा प्रवृत्ति, ब्यक्ति भन्दा ब्यक्तित्व, उमेर भन्दा उद्देश्य र अर्थ भन्दा आचरण महत्त्वपूर्ण कुरा हो । तर नेपालको राजनीतिक वृत्तमा यस्तो देखिन्न बरु यहाँ फगत आफू राम्रो बन्न अरुलाई नराम्रो देखाउने, आफू अग्लो बन्न अरुलाई होच्याउने, अरुलाई तुच्छ गाली गरेर आफूलाई सभ्य ठान्नेहरूको जमातनै पार्टीको झन्डा बोकेर चर्को स्वरमा अग्रगमन, सुशासन र समृद्धिको भाषण गरिरहेका हुन्छन् ।
राजनीति विचार र आन्दोलन मात्रै नभएर एउटा अर्थपूर्ण अभियान पनि हो । असल संस्कार र सुझबुझले मात्रै समाजलाई समस्या र बिकृतिबाट निकाल्न सक्छ, बिकासको गतिमा उकास्न सक्छ । तसर्थ, सबैखाले ब्यक्ती समाजको नेता बन्न योग्य हुदैनन् । अराजक, अपराधी र अक्षमहरुसंग पनि आफ्नो शक्ति हुन्छ, तर दलहरूले आफ्नो स्वार्थका लागि त्यो अस्त्र प्रयोग गर्नु हुदैन । राजनीति अपराधीहरुले परेड खेल्ने ठाउँ होइन, यो त बिचार, बिमर्श, बहस र उत्कृष्ट योजनाका आधारमा समाज र राष्ट्रलाई नयाँ उचाइमा पुर्याउने माध्यम हो । दलहरूले त सबैखाले गलत र अपराधीक प्रवृत्तिलाई नियन्त्रण गर्ने, नियमन गर्ने, निरुत्साहित गर्ने हो । तर त्यसो भएको देखिदैन । यतिबेला धेरैठाउँमा गलत पृष्ठभुमिका कैयौं मान्छे पार्टीको झन्डा बोकेकै भरमा बिकासको चाबी हातमा लिएर जबर्जस्त समाजको नेतृत्व गरिरहेका छन् । अपराधीलाई पदको पगरीले सुशोभित पार्ने ब्यबस्था हामीले चाहेको लोकतन्त्र थिएन, न त समाजमाथी जबर्जस्त गलत नियत र गलत पृष्ठभुमिको ब्यक्तिको शासन लाद्ने परिपाटी नै लोकतान्त्रिक हुनसक्छ ।
देश संघीयतामा गए पश्चात् स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव पनि सम्पन्न भैसक्यो । देशमा गणतन्त्र स्थापनाको एक दशक बित्दै गर्दा बिकास, समृद्धि र स्थिरताका प्रति नागरिकमा नयाँ आशा र विश्वासको रक्तसञ्चार हुन सकेको छैन । ब्यबस्था परिवर्तन भएपनि नेताकार्यकर्ताको व्यबहारमा खासै परिवर्तन आएको छैन । हाम्रा राजनैतिक दल र तिनका जिम्मेवार नेताहुँदै निर्वाचित जनप्रतिनिधिहरुको चरीत्र, कार्यशैली र दक्षता माथि नागरिकले अबिश्वासको प्रश्न उठाइरहेका छन् । केन्द्रमा शाही सत्ता फेरिए पनि सामन्तवादको अवशेष बाकी नै देखिन्छ बरु सामन्तवादको नयाँ अवशेष त स्थानीय तहहुँदै वडा तहसम्मै फैलिन थालेको छ । देशको अर्थतन्त्र धरासायी हुँदा समेत केन्द्रिय सरकार देखि स्थानीय तहसम्मका प्रतिनिधिहरुलाई विलाशी सेवा, सुबिधा र सहुलियत दिएको हेर्दा राजनैतिक दलहरू फ़ेरि छोटेराजा बनाउने बाटोतर्फ उद्दत भएको भान हुन्छ । राष्ट्रपति, प्रधानमन्त्रीले लिने सेवा सुबिधा र सडक सवारीले राजाकै झल्को दिइरहेको छ । गरिबी, भ्रष्टाचार, सामाजिक विभेद, अन्याय, कालोबजारी, तस्करी आदिमा कुनै कमि आएको छैन । रोजीरोटीका लागि प्रत्येक दिन सरदर दुई हजार युवा शक्ति बिदेश पलायन हुँदै गर्दा यो देशका शासकहरुलाई कत्तिपनि दुखेको छैन ।
आजपनि हरेक क्षेत्रमा पहुँचवालाहरुको सिन्डिकेट कायम छ । शोषित, पीडित र सीमान्तकृतहरुले नारामा मात्रै न्याय, समानता र अवसर पाएका छन् । हिजो चप्पल लगाएर सदनमा छिरेकाहरु भने रातारात सबै करोडपति बनिसकेका छन् । केहि असल नियतका जनप्रतिनिधिलाई छाडेर भन्ने हो भने वडा देखि गाउँ नगरका छोटे राजाहरुको आर्थिक हैसियतमा एकै बर्षमा चमत्कारीक ढंगले प्रगति भएको छ । देश बनाउने र बदल्ने कुरा चुनौतीपूर्ण रहेपनी कडाईका साथ अनुगमन र नियमन नगर्ने हो भने देश खोक्रो बनाउने कुरामा हामीसंग भएका जनप्रतिनिधिको जमातनै काफी छ । चाहे केन्द्रिय सरकार होस् वा स्थानीय जनताका लागि सरकार हाक्ने पात्र गौण कुरा हो, जनताले हेर्ने परिणाम र प्रवृत्ति हो । शासक वा जनप्रतिनिधिको ध्यय राज्यसत्ताका श्रोत र परिवर्तनका बाहक तिनै सर्वशक्तिमान जनतामा बिश्वास अनि सन्तुष्टि भर्ने तर्फ केन्द्रित हुनुपर्ने हो । तर त्यसो भएको देखिदैन । सरकारी निति, कर आतंक, कालोबजारी आदिको त्रास हुँदै बलात्कारका घटना, चोरी डकैती, असुरक्षा आदिमा आएको अस्वभाविक वृद्धिले नागरिकमा शासकप्रति असन्तुष्टिको पहाड चुलिएको छ ।
नागरिकमा आउने असन्तुष्टि नेतृत्वको आचरण, चरीत्र, दक्षता र भुमिकाले तय गर्दछ । संविधानसभाबाट जनताको संविधान बनाउने महान अभिलाषा लिएर गएका अघिल्लो संविधानसभाका केहि सभासदहरुलाई प्रतिनिधि उदाहरणका रूपमा लिने हो भने अदालतबाट हत्यारा पुष्ठि भएको देखि पासपोर्ट दुरुपयोग गर्ने, व्रिफकेस तोड्ने, सर्बसाधारणको अपहरण गर्ने, माइक कुर्सी तोडफोड गर्ने, आफ्नै कपडा च्यातेर बिरोध प्रदर्शन गर्ने, हतियार लिएर बैंठक प्रवेश गर्ने, सिडियोलाई झापड हान्ने, चिट चोर्ने हुँदै परीक्षामा नक्कली बिद्यार्थी प्रयोग गर्ने सम्म संविधानसभाका सदस्य थिए । पक्कै पनि यो चरीत्र र आचरण राजनीतिक चरीत्र भित्र पर्दैन, यस्तो चरीत्रलाई राजनीतिक चरीत्र मान्नु हुदैन । जनताको विश्वासको मत लिएको जिम्मेवार ब्यक्तिले प्रदर्शन गर्ने बिरोध र विमतिको स्वरुप यति तल सम्म झर्नु हुदैन थियो । पछिल्लो पटक तिनै तहको निर्वाचनमा दलहरूले राम्रो पृष्ठभुमि नभएका र विवादित मात्रै होइन, जानाजान अपराधीक गतिविधिमा संलग्न कतिपय कुख्यात ब्यक्तिलाई समेत आफ्ना उम्मेदवार बनाए । त्यसमध्ये कोहि बिजय भए कोही पराजित । त्यस्ता ब्यक्तिबाट जनताले सामाजिक न्याय, समतामूलक समाज, सुशासन र समृद्धिको अपेक्षा कसरी गर्ने रु सधैं परिवर्तन र कानुनी राज्यको ठुलाठुला कुरा गर्ने दलहरू यस्तो विषयमा किन संवेदनशील हुदैनन् रु
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्था स्थापना भएसंगै संविधानसभाबाट जनताको संविधान जारी भइ सो को कार्यान्वयन गर्ने तिनै तहको निर्वाचन समेत सम्पन्न भैसकेको छ । यतिबेला देशमा दुई तिहाइ समर्थन प्राप्त कम्युनिस्टको सरकार छ । यो बराल्लिने वा बहानाबाजि गरेर समय बर्बाद गर्ने बेला होइन । हिजो जस्तो संक्रमणकाल र अस्थिरताको अवस्था पनि होइन । जनताले निर्वाचनमा उत्साहपुर्बक सहभागिता जनाएर आफ्नो दायित्व पुरा गरेका छन् । जनताले मतपेटिकामा यो पटक केवल आफ्नो मत मात्रै हालेका छैनन्, संगै सुशासन र समृद्धिको सुन्दर सपना पनि हालेका छन् । अब कसैले अहंकार र उत्तेजना प्रदर्शन गरेर होइन, इतिहासको निर्मम समीक्षा गर्दै दलगत स्वार्थ भन्दा माथी उठेर राष्ट्रनिर्माणमा आफुलाई समाहित गर्न सक्नुपर्छ । तर कतिपय जनप्रतिनिधिको गैरजिम्मेवार गतिविधि हेर्दा नागरिकले पुर्पुरोमा हात राखेर आफैलाई धिक्कार्नु पर्ने अवस्था आइ सकेको छ ।
उडन्ते भाषणबाजि, चर्को नारा र फजुल सपनाको खेती चलाउने कम्युनिस्टहरुका लागि काम गरेर परीक्षा उत्तीर्ण गर्ने समय अनि बीपीवाद एवं समाजवादबाट बिमुख हुँदै नातावाद, कृपावाद र फरियावादतिर अग्रसर हुदै गरेको कांग्रेस पार्टीका लागि संगठनमा ध्यान दिएर नीति, व्यबहार र चरीत्रमा समेत सुधार गर्ने उत्तम अवसर गएको निर्वाचनले दिएको छ । कम्तीमा अबको ५ बर्ष नेपाली कांग्रेसले सत्ताको लोभ देखाउनु हुन्न । जनताबाट काग्रेसले पाएको अभिमत यो पटक सरकारमा होइन, प्रतिपक्षीमा बसेर कम्युनिस्ट सरकारलाई रचनात्मक सहयोग गरोस् भन्ने नै हो । कम्युनिस्ट सरकारको मुल ध्यय अब अरुलाई गाली गलौज गरेर सपनाको वायुपंखी घोडामा दौडने मात्रै नभइ मापनयोग्य परिणाम देखाउने तर्फ केन्द्रित होस् । सबै नमिले देश बन्दैन । मुलतः राजनीति गर्ने र पदिय दायित्व बहन गरेकाहरुको दक्षतासंगै चरीत्र, आचरण र व्यबहारमा शुद्धता हुनुपर्छ । मिसन प्रष्ट हुनुपर्छ, योजना, इच्छाशक्ति र संकल्प जनहितकारी एवं मातृभुमीका प्रति दृढ़ समर्पित हुनुपर्छ । चाहे जुनसुकै तहमा होस् कोहि पदीय मर्यादा र जिम्मेवारीको दुरुपयोग गर्छ भने तत्काल कारबाहीको भागिदार बनाउनुपर्छ । वडा तहदेखि प्रान्त हुँदै केन्द्रीय सरकारसम्मका जनप्रतिनिधिलाई गल्ती गर्ने, अक्षम हुने र प्रायश्चित गर्ने छुट छैन ।