Logo

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको भोलीबाट



रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीबाट सुरु हुँदैछ । सोमवारबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मन्थली नगरपालिकाको व्यवस्थापनमा माघ ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता बारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले माघ २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको आवश्यक तयारी पुरा भएको बताउँदै प्रतियोगितामा रामेछाप जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडी सहभागी हुने जानकारी दिएका छन् ।

६६ वटा स्वर्ण पदका लागि भलिबल, कपर्दी, एथलेटिक्स, तेकान्दो, उसु, कराँते लगायतका खेलहरू सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सोमवार बिहान ७ बजे खेलहरू सुरु हुने तर औपचारिक उद्घाटन भने दिउँसो १ः०० बजे जिल्ला समन्वय समिति पछाडीको खेल मैदानमा हुने अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगिताको बागमती प्रदेश सांसद तथा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष कार्कीको जानकारी दिएका छन् ।

उक्त प्रतियोगितको अनुमानित खर्च १९ लाख २२ हजार २ सय रुपैयाँ हुने आयोजकको भनाइ छ । उक्त प्रतियोगिताको लागि मन्थली नगर खेलकुद विकास समितिबाट १२ लखा रुपैयाँ बजेट व्यवस्थापन भएको पनि उनले बताए । प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा हुने स्काउट मार्च पास प्रदर्शनीमा पहिलो हुने पालिकाकालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए ।
हाललाई १२ लाख बजेट दिने निर्णय गरेको भए पनि नपुग भएको खण्डमा १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सबै लागत मन्थली नगर खेलकुद विकास समितिले बेहोर्ने मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताए ।

मन्थली नगरपालिकाको व्यवस्थापनमा हुन लागेको यो प्रतियोगिताका लागि मन्थली नगर खेलकुद विकास समितिले विशेष तयारी गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्