रामेछाप- भोटेकोसीमा आएको भदौ १० गतेको बाढीमा सम्पर्कविहीन तथा बेपत्ता भएका रामेछापका व्यक्तिहरूको पहिचानका लागि यही भदौ २६ गते मन्थली अस्पतालमा डिएनए सङ्कलन गरिने भएको छ । बेपत्ता ४४ जनामध्ये ३० जनाले डिएनए दिइसकेको र थप १४ जनाका आफन्तबाट डीएनए नमुना सङ्कलन लागि मन्थली अस्पतालमा २६ गतेका लागि समय तोकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
डिएनए सङ्कलनको लागि सम्बन्धित परिवारसँग सम्पर्कसमेत भइसकेको पनि प्रहरीले जनाएको छ । डीएनए नमुना दिन नागरिकता अनिवार्य गरिएको छ । बेपत्ता व्यक्तिका बुवा–आमाले नमुना दिने भए नाता स्वतः खुल्ने भए पनि दाजुभाइ वा दिदीबहिनीले नमुना दिने अवस्थामा नाता सम्बन्ध पुष्टि हुने थप कागजात आवश्यक पर्ने जनाइएको छ ।
सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी डीएनए नमुना सङ्कलनसम्बन्धी जानकारी लिन सक्नेछन् । प्रहरीका अनुसार २६ गते मन्थली अस्पतालसँग समन्वय गरेर आफन्तको रगतको नमुना सङ्कलन गरिनेछ ।
सङ्कलित नमुना परीक्षणका लागि काठमाडौँ पठाइनेछ । डीएनए परीक्षणबाट बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
