रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई शरीर बन्धक बनाएर घरमा डकैती गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय वृद्ध र उनकी ८६ वर्षीया श्रीमतीलाई प्लास्टिकको टेपले हात बाँधेर, मुख थुनी तथा आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिँदै घरमा रहेको नगद तथा गरगहना लुटेर फरार भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घामगर, रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहताराज र धनकुटा बेलहारा नगरपालिका–४ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार भदौ १८ गते राति करिब १२ बजे तीन जना नकाबधारी घरको ढोका फुटाएर वृद्ध दम्पती सुतिरहेको कोठामा प्रवेश गरेका थिए । उनीहरूले वृद्ध दम्पतीलाई नियन्त्रणमा लिएर प्लास्टिकको टेपले हात बाँधेका थिए । मुख थुनेर आँखामा समेत पट्टी बाँध्दै ज्यान मार्ने धम्की दिएपछि घरमा राखिएको नगद तथा गरगहना लुटेर उनीहरू फरार भएका थिए ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा डकैतीमा संलग्न व्यक्तिहरूको पहिचान गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूलाई डकैतीमा प्रयोग गरिएका तथा चोरीका सामानसहित भक्तपुर जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुमन जर्घा मगर काठमाडौंको निजी विद्यालयमा सवारी चालकका रूपमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनको साथबाट २५ हजार रुपैयाँ नगद, रेडमी कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र बा. ७३ प ६७९२ नम्बरको रातो–कालो रंगको २२० सीसी मोटरसाइकल बरामद भएको छ ।
त्यस्तै, दीर्घराज मोक्तान बसको सहचालकका रूपमा काम गर्ने गरेको र उनको साथबाट ५४ हजार २०० रुपैयाँ नगद, नेपाली नागरिकता, राहदानी, एनएमबी बैंकको चेक, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल तथा घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कुर्ता बरामद भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
पशुपति श्रेष्ठको साथबाट बा. ७९ प ५५८८ नम्बरको मोटरसाइकल, ६ हजार ४६० रुपैयाँ नगद, मोबाइल फोन, बैंक खातामा रहेको रकमसम्बन्धी विवरण, बचतबुक, चार्जर, नागरिकता, बुद्धचित्त मालाको दाना, ढलौटको पानस टुकी, पुराना सिक्का तथा सुनजस्तो पहेँलो धातुको औँठी बरामद भएको छ ।
त्यसैगरी पिताम्बर गहताराजको साथबाट मोबाइल फोन र गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेँलो धातुको दुई थान रिङ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेकाहरू अन्य चोरी तथा आपराधिक घटनामा समेत संलग्न रहेको पाइएको जनाएको छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीमा डाँका तथा चोरीसम्बन्धी मुद्दा रहेको खुलेको छ । दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र दीपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध काठमाडौँमा जुवासम्बन्धी कसुरको मुद्दा रहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको संलग्नताबारे अनुसन्धान गर्दा खाँडादेवी–७ मा रहेको रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको घटनामा समेत पशुपति श्रेष्ठ समूहको संलग्नता देखिएको छ । यसैगरी खाँडादेवी–३ मा भएको खसी तथा बोका चोरीको घटनामा पनि सोही समूहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । प्रहरीले उनीहरूबाट बरामद भएका सामान तथा घटनामा प्रयोग भएका सवारीसाधनसमेत आवश्यक कानुनी प्रक्रियाका लागि सुरक्षित राखेको जनाएको छ ।
