Logo

किर्ते कागजात पेश गरी लिएको अनुदान रकम फिर्ता



रामेछाप– रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारस्थित बाँकिमेरीमा सञ्चालित ‘अपेक्षा कृषि तथा पशुपञ्छी कृषक समुह’ ले किर्ते कागजात पेश गरी विभिन्न शीर्षकमा लिएको दुई लाख रुपैयाँभन्दा बढी अनुदान रकम फिर्ता गरेको पाइएको छ ।

समूहका कोषाध्यक्ष युवराज सुवेदी, सचिव नर्मिला सुवेदी र अध्यक्ष मेनुका सुबेदी लगायतका पदाधिकारी रहेको ‘अपेक्षा कृषि तथा पशुपञ्छी कृषक समुह’ ले किर्ते कागजात पेश गरी लिएको अनुदान रकम २ लाख ११ हजार ४ सय ५२ रुपैयाँ फिर्ता गरेको पाइएको हो । आर्थिक वर्ष २०८१/८२ मा अपेक्षा कृषि तथा पशपञ्छी समुहले बेरुजु बापतको रकम रकम २ लाख ११ हजार ४ सय ५२ रुपैयाँ बेरुजु दाखिला गरेको रामेछाप नगरपालिकाका सूचना अधिकारी रामसिंह डडालले जानकारी दिए ।

कृषक समुहले नगरपालिकाबाट दुई आर्थिक वर्षमा ३ लाख ६४ हजार ३ सय ७८ रुपैयाँ लिएका थिए । रामेछाप नगरपालिकाकाअनुसार युवराज सुबेदी र मेनुका सुबेदीले आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ९४ हजार ३ सय ७८ रुपैयाँ र आर्थिक वर्ष २०८१/०८२ मा १ लाख ७० हजार रुपैयाँ अनुदान रकम लिएका थिए ।

यस्तै उक्त कृषक समुहलाई खारेज गरिएको पनि बताइएको छ । २०८० साल मंसिर २४ गते नगरपालिकामा दर्ता भएको संस्थाले समुहको सदस्यको हितविपरित काम गरेको जनगुनासो आएपछि संस्था नै खारेज गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्