रामेछाप- रसुवामा बुधवार बिहान आएको बाढीमा परी रामेछापका दुई सरकारी कर्मचारीसहित ३३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विभिन्न स्थानीय तहका ३१ जना सर्वसाधारण र दुई जना सरकारी कर्मचारी रहेका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय नागरिक र उद्धार टोली परिचालन गरिएको छ ।
बेपत्ता हुने सरकारी कर्मचारीमा मन्थली नगरपालिका–४ सालुका रामहरि खड्का र सुनापति गाउँपालिका–५ खनियापानीकी पार्वती मानन्धर रहेका छन् । खड्का रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा प्रहरी सहायक निरीक्षकका रूपमा कार्यरत थिए । मानन्धर अध्यागमन विभागअन्तर्गत टिमुरेमा अध्यागमन सहायक पदमा कार्यरत थिइन् । बाढीपछि उनीहरू दुवैजनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
परिवारका सदस्यहरूले दिएको विवरणअनुसार रामेछाप नगरपालिका–१ गोठपानीका गुञ्ज श्रेष्ठ, नवराज श्रेष्ठ, रञ्जन श्रेष्ठ, राजन श्रेष्ठ र बिक्री लामा पनि बेपत्ता छन् । यस्तै वडा नं. ३ साँघुटारका दिलबहादुर प्रधान तथा वडा नं. ४ हिमगंगाका मीन आलेमगर र नवराज आलेमगर बेपत्ता भएको विवरण छ । वडा नं. ७ सुकाजोरका सुमनविक्रम कार्की पनि सम्पर्कविहीन छन् ।
खाँडादेवी गाउँपालिका–४ पकरवासका उत्तम प्रसाईं र प्रकाश मंग्राती तथा वडा नं. ८ गागलभदौरेका टलबहादुर भण्डारी बेपत्ता छन् । दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बाका डम्बरबहादुर मगर, सूर्यबहादुर मगर र रामकुमार मोक्तान, वडा नं. ६ लखनपुरका तारानाथ चौलागाईं, वडा नं. ४ गौश्वाराकी नीरा थापा तथा वडा नं. १ डडुवाका पेन्जु लामा र लाक्पा दोर्जे शेर्पाको पनि अवस्था अज्ञात रहेको छ ।
त्यसैगरी मन्थली नगरपालिका–१ का सानुकुमार श्रेष्ठ र सुन्दर श्रेष्ठ, वडा नं. १० चनखुका अभिषेक लामा, वडा नं. ११ गेलुका मीनराज मोक्तान र वडा नं. १४ फुलासीका अनिल पाख्रिन बेपत्ता भएका छन् । गोकुलगंगा गाउँपालिका–४ का राजु गजमेर, सुरज श्रेष्ठ र ईश्वरी खड्का तथा लिखु तामाकोशी गाउँपालिका–५ नागदहका कुशल बुढाथोकी र बुद्धिमान तामाङ पनि बेपत्ता सूचीमा छन् ।
उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पा र वडा नं. ३ कुभुकास्थलीका मधुकुमार कार्कीसमेत बेपत्ता रहेको विवरण प्रहरीले प्राप्त गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतका अनुसार परिवारका सदस्यबाट प्राप्त विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ । घटनामा थप मानिससमेत बेपत्ता भएको हुन सक्ने भएकाले विवरण आउने क्रम जारी रहेको उनले बताए ।
बेपत्ता व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोली घटनास्थलमा अहोरात्र खटिएको प्रहरीले जनाएको छ । प्रहरीले परिवार तथा आफन्तलाई भरपर्दो सूचना नआएसम्म नआत्तिन र धैर्य गर्न आग्रह गरेको छ ।
