रामेछाप-नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहँदा उनको जन्मस्थल रामेछाप नगरपालिका–८ भङ्गेरीमा निर्माणाधीन पुष्पलाल स्मृति पार्क भने वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ। ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको पार्क निर्माणले अपेक्षित गति लिन नसक्दा निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन्।
तत्कालीन सरकारले २०७३ सालमा पुष्पलालको जन्मस्थलमा अन्तर्राष्ट्रियस्तरको स्मृति पार्क र सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरेको थियो। त्यसअनुसार आर्थिक वर्ष २०७७/७८ बाट २२ परिवारको ५२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण सुरु गरिएको थियो। योजना अन्तर्गत सभा हल, शौचालय, घेराबार र आवासीय भवनजस्ता केही संरचना निर्माण भए पनि अधिकांश काम अधुरै छ। बजेट अभाव र सरकारी प्राथमिकतामा नपर्दा परियोजना रोकिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
स्थानीयका अनुसार राजनीतिक दलका नेताहरू हरेक वर्ष पुष्पलालको जन्म वा स्मृति दिवसमा भङ्गेरी पुगेर श्रद्धाञ्जली अर्पण गर्ने गरे पनि पार्क निर्माणलाई निरन्तरता दिन प्रभावकारी पहल हुन सकेको छैन। अधिग्रहण गरिएको अधिकांश क्षेत्र झाडीले ढाकिएको छ भने बनेका संरचनासमेत संरक्षणको अभावमा बिग्रँदै गएका छन्।
यसैबीच, पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा (एमाले) रामेछापले भङ्गेरीमा कार्यक्रम आयोजना गरी पुष्पलालको शालिकमा माल्यार्पण गरेको छ। कार्यक्रममा एमाले रामेछापका इन्चार्ज माधव ढुङ्गेलले पुष्पलाल श्रेष्ठले अघि सारेका विचार, मूल्य र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
उनले कुनै समय पुष्पलाललाई ‘गद्दार’ भनिए पनि समयसँगै उनका विचारको औचित्य पुष्टि भएको दाबी गरे। पुष्पलालका सबै आदर्श पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै उनले एमालेले ती विचारलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पारदर्शिता, सुशासन, विकास र समृद्धिको वर्तमान आवश्यकता पुष्पलालले अघि सारेको राष्ट्रिय मुक्ति र जनसमृद्धिको अवधारणासँग मेल खाने उनको भनाइ थियो।

ढुङ्गेलले २०४६ र २०६२/६३ का जनआन्दोलनबाट प्राप्त उपलब्धि वाम–लोकतान्त्रिक शक्तिको सहकार्यको परिणाम भएको उल्लेख गर्दै राष्ट्रियता, सार्वभौमिकता, संविधानको रक्षा र समृद्धिका लागि पुनः सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले भङ्गेरीस्थित पुष्पलाल पार्कलाई राजनीतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। बहुवर्षीय योजनाअन्तर्गत भवन, सभाहल र पूर्णकदको शालिक निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै पार्कलाई थप व्यवस्थित बनाइने बताए। आफ्नै नेतृत्वको सरकारका पालामा पनि पार्क निर्माणले अपेक्षित प्राथमिकता नपाएको स्वीकार गर्दै त्यसप्रति आत्मालोचना समेत गरे।
कार्यक्रममा एमाले नेता शान्तिप्रसाद पौडेलले पुष्पलालको जन्मस्थललाई राजनीतिक पर्यटनसँग जोड्ने अभियानलाई निरन्तरता दिइने बताए। सुरुमा करिब चार रोपनी जग्गामा स्मारक निर्माण गर्ने योजना रहे पनि पछि ५२ रोपनी जग्गा अधिग्रहण गरी विस्तारित पार्क निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
उनका अनुसार योजना राष्ट्रिय प्राथमिकतामा समावेश भए पनि पर्याप्त बजेट नहुँदा निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा बजेट विनियोजन नभए पनि प्रदेश र सङ्घीय सरकारबाट आवश्यक बजेट सुनिश्चित गर्न पहल भइरहेको उनले बताए। हाल पार्क क्षेत्रमा घेराबारको काम भइरहेको र सभाहल निर्माण सम्पन्न भइसकेको उनको भनाइ थियो।
पौडेलले पुष्पलाल जन्मिएको घर र आसपासका पुराना संरचनालाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिए। पार्क निर्माण सम्पन्न भएपछि भङ्गेरी राजनीतिक तथा ऐतिहासिक पर्यटनको आकर्षक गन्तव्य बन्ने र त्यसबाट स्थानीय होटल, लज, बजार तथा कृषि उत्पादनको समेत प्रवर्द्धन हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा सहभागी हुन भङ्गेरी पुगेका प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र योगदानलाई आधुनिक प्रविधिमार्फत विश्वसामु पुर्याउनुपर्ने बताए। उनले भङ्गेरीलाई ऐतिहासिक तथा राजनीतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न स्थानीय समुदाय, राजनीतिक दल, समाजसेवी र सरोकारवालाबीच साझा पहल आवश्यक रहेको धारणा राखे।
लामाले भङ्गेरी पुग्नुअघि व्यवस्थित पार्क र आकर्षक स्मारकको अपेक्षा गरेको भए पनि निर्माणाधीन पार्कको अवस्था सन्तोषजनक नरहेको बताए। पार्कको संरक्षण र व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले पुष्पलालका विचारलाई पुस्तकमा मात्र सीमित नराखी साइबर प्लेटफर्म, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिमार्फत नयाँ पुस्ता र विश्व समुदायसम्म पुर्याउनुपर्ने बताए।
रामेछापका अग्रज पत्रकार नवराज पथिकले पनि सरकारको प्राथमिकतामा नपर्दा पुष्पलाल–गंगालाल स्मृति पार्क वर्षौंदेखि अलपत्र परेको बताए। उनका अनुसार निरन्तर बजेट नपाउँदा राजनीतिक पर्यटनको अवधारणा अधुरै बनेको छ।
पथिकले भङ्गेरी पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठको जन्मस्थल भएकाले यसको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरे। यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको स्मृति पार्क र सङ्ग्रहालयसहित राजनीतिक पर्यटन केन्द्र बनाउने उद्देश्यले जग्गा अधिग्रहण गरिए पनि सरकार परिवर्तनसँगै योजनाले निरन्तरता नपाएको उनले बताए।
उनका अनुसार अधिग्रहण गरिएको जग्गा अहिले झाडीले ढाकिएको छ भने निर्माण भएका भवन र सभाहलको व्यवस्थापनसमेत अन्योलमा छ। काठमाडौँमा निर्माण सम्पन्न पूर्णकदका पुष्पलाल र गंगालालका शालिक प्रदेश सरकारले रकम भुक्तानी नगर्दा अझै भङ्गेरी ल्याउन नसकिएको उनले जानकारी दिए।
पथिकले पुष्पलाल, गंगालाल र बीपी कोइरालाजस्ता राष्ट्रिय व्यक्तित्वलाई दलगत दृष्टिकोणबाट नभई साझा राष्ट्रिय सम्पत्तिका रूपमा सम्मान गर्दै सरकारले यस्ता ऐतिहासिक योजनालाई निरन्तरता दिने संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
