Logo

महिलालाई उद्यमी बनाउन सीप, लगानी र बजारीकरणमा सहजीकरण गर्छौँ : अध्यक्ष श्रेष्ठ



रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उद्यमशीलता विकाससँगै लगानी, उत्पादन र बजारीकरणमा सहजीकरण गरिने बताएका छन् । महिलाले घरायसी काममा मात्र सीमित नभई आफ्नो सीप र क्षमतालाई व्यवसायमा रूपान्तरण गरेर परिवार तथा स्थानीय अर्थतन्त्रको समृद्धिमा योगदान पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

मन्थलीमा आयोजित महिला उद्यमशीलता विकास तालिम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिलाले उत्पादन गरेका वस्तु बजारसम्म पुर्‍याउन समस्या भए उद्योग वाणिज्य सङ्घले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उत्पादित सामग्री बिक्री नभई मौज्दात रहेको अवस्थामा समेत त्यसको बजारीकरणका लागि सङ्घले सहयोग गर्ने उनले बताए ।

’महिलालाई चुलोचौकोमा मात्र सीमित राख्ने सोच परिवर्तन गर्नुपर्छ । घरपरिवारको व्यवस्थापनसँगै आर्थिक समृद्धिमा पनि महिलाको महत्वपूर्ण भूमिका हुन सक्छ,’ उनले भने, ’महिलाले आफ्नो सीप र क्षमताको उपयोग गरेर उद्यमी तथा व्यवसायी बन्न आवश्यक छ ।’

मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तालिमले महिलाको सोच, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको उनले बताए । एकदिने तालिम भए पनि यसले महिलामा सकारात्मक सोचको विकास गर्दै परम्परागत रूपमा सञ्चालन हुँदै आएका घरेलु व्यवसायलाई व्यावसायिक बनाउन प्रेरणा दिने उनको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले व्यवसाय सञ्चालनका क्रममा लगानी, उत्पादन लागत, बजार व्यवस्थापन तथा आर्थिक स्रोतको अभावजस्ता समस्या आउन सक्ने भन्दै त्यसको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गरिने बताए । व्यवसायलाई दिगो बनाउन उत्पादन मात्र गरेर नपुग्ने भन्दै त्यसलाई बजारसँग जोड्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँगको समन्वयमा महिलाको सीप, क्षमता र व्यावसायिक परियोजनाका आधारमा लगानीको सम्भावना खोज्न सकिनेछ । व्यवसाय विस्तार गर्न थप पुँजी आवश्यक पर्ने उद्यमीलाई लगानीको स्रोत पहिचान तथा ऋण प्रक्रियामा सहजीकरण गर्न उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने उनले बताए ।

महिलाले उत्पादन गरेका हस्तकला तथा घरेलु सामग्रीको बजारीकरणमा देखिएका समस्या समाधान गर्न सङ्घ तयार रहेको पनि उनले स्पष्ट पारे । उत्पादन बिक्री नभई थन्किएको अवस्थामा वा बजारसम्म पुर्‍याउन कठिनाइ भए सङ्घलाई जानकारी गराउन उनले उद्यमी महिलालाई आग्रह गरे ।

श्रेष्ठले उद्यमशीलता विकासका लागि एकदिने तालिम मात्र पर्याप्त नहुने भन्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । महिलाको सीप, क्षमता र दक्षता अभिवृद्धि गर्दै उनीहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउन थप तालिम तथा कार्यक्रम ल्याइने उनले बताए ।

कार्यक्रममा नगरप्रमुख, बागमती प्रदेशका प्रतिनिधि, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक, उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलालाई प्रशिक्षकसँग आफ्ना व्यवसायका समस्या, उत्पादन, लगानी र बजार व्यवस्थापनबारे जिज्ञासा राखेर व्यावहारिक ज्ञान हासिल गर्न पनि अध्यक्ष श्रेष्ठले आग्रह गरेका थिए ।
महिलाको आर्थिक सशक्तीकरण, घरेलु उत्पादनको व्यावसायीकरण र स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्