रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले महिला उद्यमीलाई तालिम र अभिमुखीकरणमा मात्र सीमित नभई व्यावसायिक उत्पादन, बजारीकरण र लगानीअनुसारको प्रतिफल प्राप्त गर्ने गरी काम गर्न आग्रह गरेका छन् । उनले व्यवसाय सञ्चालन गर्दा हुने आम्दानी र खर्चको नियमित हिसाब राख्दै लगानीको प्रतिफल विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतवार मन्थलीमा आयोजित महिला उद्यमशीलता विकास तालिम कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले तालिम लिने तर त्यसलाई व्यवहारमा उतारेर व्यवसाय सञ्चालन नगर्ने प्रवृत्तिले अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । व्यवसाय सञ्चालन गर्दा देखिने समस्या, ऋण व्यवस्थापन, बजारीकरण र लगानीको प्रतिफलबारे छलफल तथा व्यावहारिक ज्ञान आवश्यक रहेको उनको भनाइ थियो ।
‘व्यवसाय भनेको नामका लागि गर्ने होइन । काम गर्ने हो भने लगानीअनुसारको प्रतिफल लिनुपर्छ,’ उनले भने, ’हामीले १०० रुपैयाँ लगानी गर्दा ७५ रुपैयाँ आम्दानी गर्यौँ कि १५० रुपैयाँ कमायौँ भन्ने हिसाब हुनुपर्छ । कति खर्च भयो, कति आम्दानी भयो र कति प्रतिफल प्राप्त भयो भन्ने कुरा व्यवसायीले थाहा पाउनुपर्छ ।’
नगरप्रमुख श्रेष्ठले पछिल्ला चार वर्षमा आफूहरू र उद्यमीहरू विभिन्न अभिमुखीकरण, तालिम, छलफल तथा गोष्ठीमा सहभागी भए पनि त्यसको उपलब्धि व्यवसाय सञ्चालन र आर्थिक आम्दानीमा देखिनुपर्ने बताए । तालिमलाई उपलब्धिमूलक बनाउन प्रशिक्षकले सहभागीका वास्तविक समस्या पहिचान गरी समाधानका उपायमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो ।
उनले मन्थली नगरपालिकाले यसअघि पनि उद्योग तथा व्यवसाय सञ्चालनका लागि विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिए । पहिलो कार्यकालदेखि नै वाणिज्य बैंकसँग सहकार्य गरेर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रयास गरिएको उनले बताए । युवा परिषद्सँगको समन्वयमा १७५ जनालाई सातदिने उद्यमशीलता तालिम दिइएको भए पनि तीमध्ये आठदेखि १० जनाले मात्र व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो ।
नगरपालिकाले वाणिज्य बैंकसँग गरेको सम्झौताअनुसार व्यवसाय सञ्चालन गर्न चाहनेले व्यावसायिक योजना पेस गर्नुपर्ने र उक्त योजना स्वीकृत भएपछि बैंकले ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो । नगरपालिकाले आवश्यक समन्वय तथा जमानीको भूमिका निर्वाह गर्ने प्रस्ताव भए पनि धेरै सहभागीले प्रक्रिया पूरा गरेर ऋण लिन नसकेको उनले बताए ।
श्रेष्ठले महिला उद्यमीलाई समूह बनाएर सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरे । व्यक्तिगत रूपमा भन्दा समूहमा आबद्ध भएर लगानी, उत्पादन र व्यवस्थापन गर्दा व्यवसायलाई दिगो बनाउन सहज हुने उनको भनाइ थियो ।
नगरपालिकाले यसअघि जुत्ता–चप्पल तथा साबुनलगायतका उद्योग सञ्चालनका लागि ५० प्रतिशत नगरपालिकाको र ५० प्रतिशत सम्बन्धित व्यक्ति वा फर्मको लगानी रहने गरी कार्यक्रम ल्याएको पनि उनले जानकारी दिए । तर, उक्त कार्यक्रममा तीन जनाले मात्र प्रस्ताव पेस गरेको र अपेक्षित सहभागिता नदेखिएपछि पुनः सूचना प्रकाशित गरिएको उनले बताए । महिला उद्यमीहरूको समूहले जुत्ता–चप्पल उद्योग सञ्चालनका लागि चासो देखाएपछि त्यसलाई अघि बढाउन पुनः अवसर प्रदान गरिएको उनको भनाइ थियो ।
त्यसैगरी, महिलाको समूहलाई उपलब्ध गराइएको तपरी बनाउने मेसिन प्रयोगविहीन भएको विषयमा पनि उनले ध्यानाकर्षण गराए । सरकारले एकपटक मेसिन उपलब्ध गराएपछि त्यसको मर्मतसम्भार, सञ्चालन र आम्दानी–खर्चको व्यवस्थापन सम्बन्धित समूहले नै गर्नुपर्ने उनले बताए । अहिले दोना, तपरी र बोरा बनाउन सकिने बहुउपयोगी मेसिनसमेत उपलब्ध हुन थालेकाले पुरानो उपकरण मर्मत गरेर चलाउने वा नयाँ प्रविधि अपनाउने भन्ने विषयमा समूहभित्र छलफल गर्नुपर्ने उनको सुझाव थियो ।
मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा महिला उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन गरिएको हो । कात्तिक १५ गतेदेखि सुरु भएको तालिममा महिला उद्यमीको क्षमता अभिवृद्धि, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
नगरप्रमुख श्रेष्ठले महिला उद्यमीलाई व्यवसाय विस्तारका क्रममा आवश्यक पर्ने सहयोग र समन्वयका लागि नगरपालिका तयार रहेको बताउँदै उपलब्ध अवसरको सदुपयोग गरी आत्मनिर्भर बन्न आग्रह गरे ।
