रामेछाप – बरिष्ठ समाजसेवी, साहित्यकार तथा पत्रकार स्वर्गीय जगदीश घिमिरेको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार उनको जन्मभूमि रामेछापको मन्थलीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । कार्यक्रममा सहभागीले घिमिरेको प्रतिमामा माल्यार्पण गर्दै साहित्य, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासका क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गरेका छन् ।
मन्थलीस्थित तामाकोशी सेवा समितिको परिसरमा आयोजित कार्यक्रममा घिमिरेको सामाजिक तथा साहित्यिक योगदानबारे चर्चा गरिएको थियो । तामाकोशी सेवा समितिका कार्यकारी अधिकृत गोविन्दप्रसाद घिमिरे र तामाकोशी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले घिमिरेले जिल्लाको सामाजिक विकास र नेपाली साहित्यमा पुर्याएको योगदानबारे प्रकाश पारेका थिए ।
घिमिरेले ‘लिलाम’, ‘साबिती’, ‘अन्तर्मनको यात्रा’ र ‘सकस’ लगायतका महत्वपूर्ण साहित्यिक कृति छाडेका छन् । उनले रामेछापमा साहित्यिक गतिविधि विस्तार गर्न राष्ट्रियस्तरका स्थापितदेखि नवोदित साहित्यकारसम्मलाई सहभागी गराएर वार्षिक साहित्य सम्मेलन गर्ने परम्परासमेत सुरु गरेका थिए ।
घिमिरेले २०४० सालदेखि तामाकोशी सेवा समितिमार्फत रामेछापका दुर्गम तथा पिछडिएका वस्तीको जीवनस्तर सुधारका लागि सामाजिक अभियान सञ्चालन गरेका थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, कृषि, सहकारी, सिँचाइ र सरसफाइका क्षेत्रमा उनले करिब तीन दशकसम्म काम गरेका थिए । समितिमार्फत सञ्चालित विभिन्न कार्यक्रमबाट जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा अहिले पनि लाभान्वित भइरहेका छन् ।

रामेछापलाई खुला दिसामुक्त जिल्ला बनाउने अभियानमा पनि घिमिरेको महत्वपूर्ण भूमिका रहेको थियो । उनको पहल र सहयोगमा जिल्लाभर करिब ३० हजार पानी बन्द शौचालय निर्माण तथा प्रयोगमा ल्याउन समुदायलाई सहयोग गरिएको थियो ।
स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि उनले मन्थलीमा १५ शयैयाको तामाकोशी अस्पताल सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था स्थापना, स्वास्थ्य शिविर, पाठेघरको परीक्षण तथा शल्यक्रिया र आँखा उपचारका कार्यक्रम पनि सञ्चालन गरिएका थिए । तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका घिमिरेको पहलमा रामेछापमा सामुदायिक आँखा केन्द्र स्थापना भएको थियो । उक्त केन्द्रबाट अहिले पनि सेवा प्रवाह भइरहेको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालका संस्थापक अध्यक्ष घिमिरेले सामाजिक सेवा र साहित्य सिर्जनालाई सँगसँगै अघि बढाएका थिए । उनको चर्चित कृति ‘अन्तर्मनको यात्रा’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । मल्टिपल माइलोमा नामक क्यान्सरबाट पीडित घिमिरेको २०७० कार्तिक १४ गते काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उनले सुरु गरेका सामाजिक अभियान, स्वास्थ्य सेवा र साहित्यिक गतिविधि रामेछापमा अहिले पनि निरन्तर छन् । स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभाले जिल्लाको सामाजिक रूपान्तरण र साहित्यिक क्षेत्रमा उनले पुर्याएको योगदानलाई पुनः स्मरण गरेको छ ।
