बरिष्ठ समाजसेवी, साहित्यकार तथा पत्रकार जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरेसँग जगदीश घिमिरेसँग पारिवारिक जीवन, सङ्घर्ष र उहाँहरूको प्रेमसम्बन्ध, वैवाहिक जीवन, सामाजिक सेवाप्रतिको समर्पण र क्यान्सरसँगको कठिन सङ्घर्षका विषयलाई समेटर गरिएको कुराकानीको सम्पादीत अंश ।
१. प्रेम र वैवाहिक जीवन
दुर्गा घिमिरेका अनुसार जगदीश घिमिरेसँग मागी नभई प्रेम विवाह भएको थियो। करिब दुई वर्षको प्रेम सम्बन्धपछि उनीहरूले विवाह गरेका थिए। जातीय विभेद र रूढिवादी सामाजिक मान्यताका बाबजुद जगदीशले आफूले मन पराएकी युवतीसँगै विवाह गर्ने अडान लिएका थिए। उनीहरूको वैवाहिक जीवन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित थियो।२. पारिवारिक सम्बन्ध र स्वभाव
जगदीश घिमिरे कहिलेकाहीँ रिसाउने स्वभावका भए पनि दुर्गाले धैर्य र समझदारीका साथ पारिवारिक सम्बन्धलाई सुमधुर बनाइराखिन्। उनीहरूबीच ठूला झगडा वा लामो समयसम्म बोलचाल बन्द हुने अवस्था आएन। दुर्गाले श्रीमान् रिसाउँदा आफू शान्त बस्ने गरेको बताएकी छन्। जगदीशले गल्ती महसुस भएपछि माफी माग्ने र पत्नीप्रति माया तथा हेरचाह देखाउने गर्थे।३. पत्नीप्रतिको माया र संवेदनशीलता
जगदीश घिमिरे पत्नी दुर्गाको स्वास्थ्य र सुविधाप्रति निकै संवेदनशील थिए। एकपटक दुर्गाको खुट्टामा नङले घाउ बनाएपछि उनी आफैँ नङ काट्ने व्यक्तिको खोजीमा लागेका थिए। अरूको सामान प्रयोग गर्दा सङ्क्रमण हुन सक्ने चिन्ताले उनले नङ काट्ने सामानसमेत आफैँ किनेर ल्याएका थिए। यस्ता घटनाले उनको पारिवारिक जीवनमा देखिने माया, जिम्मेवारी र संवेदनशीलतालाई उजागर गर्छन्।४. क्यान्सरसँगको कठिन सङ्घर्ष
अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न अमेरिका पुगेका बेला जगदीश घिमिरेलाई मल्टिपल माइलोमा क्यान्सर भएको जानकारी दिइएको थियो। यो खबरले दुर्गालाई गहिरो पीडा दिए पनि जगदीशले जीवन र मृत्युलाई स्वाभाविक रूपमा स्वीकार गर्दै उनलाई आत्मविश्वास दिएका थिए। उपचारका लागि सिङ्गापुर र बैंककसहित विभिन्न ठाउँमा पुगे पनि रोग निको नहुने जानकारी पाएपछि उनीहरू नेपाल फर्किएका थिए। त्यसपछि दुर्गाले श्रीमान्को हेरचाह र सहयोगमा आफूलाई समर्पित गरिन्।५. समाजसेवा र जगदीश घिमिरेको योगदान
दुर्गाका अनुसार जगदीश घिमिरेलाई मन्थली वा रामेछापमा मात्र सीमित गरेर हेर्न मिल्दैन। उनी राष्ट्रिय महत्त्वका व्यक्तित्व हुन्। त्यसबेला रामेछापमा खानेपानी, औषधि र स्वास्थ्य सेवाको अभाव थियो। जगदीशले औषधि उपलब्ध गराउने, बिरामीलाई सहयोग गर्ने तथा स्थानीय बासिन्दाको आर्थिक सशक्तीकरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने काम गरेका थिए। उनको योगदानलाई निरन्तरता दिन जगदीश घिमिरे फाउन्डेसनमार्फत काम भइरहेको पनि दुर्गाले बताएकी छन्।
जगदीश घिमिरेसँग जोडिएको अत्यन्तै रमाइलो पल, जुन एक्लै सम्झिँदा पनि मुस्कुराउन मन लाग्छ, त्यस्तो कुनै सम्झना छ ?
जगदीशजीसँग सम्बन्धित त्यस्ता स्मृतिहरू धेरै छन् । कुन चाहिँ भनौँ जस्तो लाग्छ । एउटा कुरा, उहाँ रिसाउनुभयो भने मलाई मन नपर्ने । कहिलेकाहीँ श्रीमान्सँग कुरा गर्दा रिस उठ्छ नि । म रिसाएर माथिको कोठामा वा छतमा जानेबित्तिकै दुई छोराछोरीलाई लिन पठाउनुहुन्थ्यो । दुईजनाले पुलिसले जस्तै समातेर मलाई लिएर आउँथे र तल हाजिर गराउँथे । त्यसपछि उहाँले ‘ल, सरी है’ भन्नुहुन्थ्यो । यो सम्झिँदा एकदमै हाँस उठ्छ ।
अर्को घटना पनि छ । एकपटक मेरो खुट्टामा नङले मासुमा घाउ बनायो । हामी डुल्दै थियौँ । उहाँले मलाई एक घण्टा समय देऊ, तिमी यहाँ वाक गर्दै गर, मेरो एउटा काम छ भनेर जानुभयो ।
उहाँ कहाँ जानुभयो भनेर खोज्दै थिएँ । एकछिनपछि छाता ओढेर एउटी ६० वर्षकी बुढी महिला आएको देखेँ । मेरो खुट्टामा रगत आयो भनेर नैनी खोज्न जानु भएको रहेछ । नङ काट्नका लागि उहाँले ती महिलालाई लिएर आउनुभएको रहेछ । नङ काट्ने सामान पनि आफैँले बाहिरबाट किनेर ल्याउनुभएको थियो । अरूको प्रयोग नगर्ने, इन्फेक्सन हुन सक्छ भनेर आफैँले किन्नुभएको रहेछ ।
मैले हेरेँ, अब यस्तो आँखा पनि नदेख्ने बुढी मान्छेले के गर्ला जस्तो लाग्यो । तैपनि खुट्टा देखाएँ । उहाँले नङ काट्नेबित्तिकै फेरि रगत आयो । रगत आएपछि जगदीशजी आत्तिएर १०० रुपैयाँ पैसा दिएर ती महिलालाई पठाउनुभयो । अनि तपाईको घरमा आँखा देख्ने बुहारी, नातिनी कोही होला पठाइदिनु भन्नुभयो । त्यसपछि ती महिलाले बुहारीलाई लिएर आइन् । बुहारी गर्भवती थिइन् । ठूलो पेट भएकीले नङ काट्न सक्ने अवस्था थिएन । फेरि उहाँले उनलाई पठाइदिनुभयो र नातिनीलाई लिएर आउन भन्नुभयो । यस्ता घटनाहरू हुन्थे । यस्ता धेरै घटनाहरु छन् ।
विवाहपछि कहिलेकाहीँ नोकझोक, मनमुटाव वा लामो समयसम्म बोलचाल बन्द भएको कुनै घटना छ ?
उहाँ रिसाउनुहुन्थ्यो । मैले चाहिँ के सम्झेकी थिएँ भने उहाँ आगो हुनुभयो भने म पानी हुनुपर्छ । मेरो सिद्धान्त नै सुरुदेखि त्यही थियो । कहिल्यै त्यस्तो झगडा पनि भएन । म हाँसिदिन्थेँ । यो एकदमै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ । मैले पनि झगडा गरेर प्रतिक्रिया दिएको भए त झगडा हुन्थ्यो घरपरिवारमा राम्रो हुँदैन थियो । म हाँसिदिन्थे कुरा त्यहीँ सकिन्थ्यो ।
त्यस्तो खास झगडा केही भएकै थिएन । मैले उहाँसँग झगडा नगर्ने, शान्त बस्ने भन्ने सोचेकी थिएँ । दुईजनाले झगडा गर्यो भने घर राम्रो हुँदैन नि । एउटा राम्रो कुरा यही हो जस्तो लाग्छ ।
जगदीश घिमिरेलाई समाजसेवी, साहित्यका, पत्रकारका रुपमा समाजले चिन्छ, समाजले थाहा नपाएको र उहाँले सुधार्नुपर्ने कमजोरी केही थियो ?
सुधार गर्नुपर्ने कुरा खास केही थिएन । नरिसाउनु भन्ने मात्रै थियो । मैले उहाँलाई भनेकी थिएँ, तिमी रिसायौ भने म पनि रिसाएर झगडा गर्न चाहन्नँ । म त्यसको प्रतिक्रिया दिँदिनँ । धेरै परिवारमा झगडा गरेर, कुटाकुट गरेर बसेका दृश्य पनि देखेकी थिएँ । एकजना शान्त भएपछि घरमा शान्ति हुन्छ भन्ने लाग्छ ।
कहिलेकाहीँ म रिसाएर घरको कोठा वा छतमा जान्थे । त्योबेला म कहाँ गएको छु भनेर छोराछोरीलाई खोज्न पठाउनुहुन्थ्यो । दुईजनालाई आमालाई समातेर लिएर आऊ भन्नुहुन्थ्यो । त्यसपछि सरी है भनेर कान पनि समात्नुहुन्थ्यो । त्यो पनि एउटा रोचक कुरा थियो ।
तपाईंहरूको मागी विवाह भएको हो कि प्रेम विवाह ?
मागी विवाह होइन । पहिले आफैँले मन पराएर प्रेम गरेका थियौँ । त्यसपछि अभिभावकलाई भनेपछि विवाह गरेका हौँ ।
प्रेम भएको कति समयपछि विवाह भयो ?
हाम्रो प्रेम भएको करिब दुई वर्षपछि विवाह भयो । एक वर्ष त यस्तै भयो । दोस्रो वर्ष उहाँको हजुरबुवाको मृत्यु भयो । त्यसैले वर्ष दिन नपुग्दै विवाह नगर्ने भनेर दुई वर्षमा विवाह गरेका थियौँ ।
त्यसबिचमा सिनेमा हेर्ने, भेट्ने र घुम्न जाने गर्नुहुन्थ्यो ?
जान्थ्यौँ, उहाँ मोटरसाइकल लिएर आउनुहुन्थ्यो । त्यतिबेला उहाँ परिवारनियोजन सम्बन्धी काम गर्नुहुन्थ्यो । अनि जाऔँ घुम्न भन्नुहुन्थ्यो । पशुपति, दक्षिणकाली, कहिलेकाहीँ धुलिखेलतिर पनि मोटरसाइकलमा घुम्न जान्थ्यौँ ।
त्यतिबेलाको समाज निकै रूढिवादी थियो । त्यसबेलाको प्रेम र अहिलेको प्रेमलाई कसरी तुलना गर्नु हुन्छ ?
हाम्रो प्रेम एकदमै इमानदार थियो । जे कुरा हो, स्पष्ट भन्ने खालको थियो । विवाह गर्ने बेलामा पनि जातका कुरा आएका थिए । उपाध्याय, जैसी भन्ने कुराहरू पनि आएका थिए । तर उहाँले त्यसमा विश्वास गर्दिनँ, मैले मन पराएको केटी यही हो, यसैसँग बिहे गर्छु भन्नुभयो ।
उहाँले आमा र बुवासँग कुरा गर्नुभयो । त्यतिबेलाको समाज एकदमै रूढिवादी थियो । बाआमालाई भन्ने कुरा पनि अलि अप्ठ्यारो थियो । मैले धेरै पछि मात्रै घरमा भनेँ ।
आमालाई भन्दा उहाँले स्वीकार गर्नुभयो । यदि तिमीलाई मन परेको कुनै केटा छ भने तिमी विवाह गर, हामी स्वीकार गर्छौँ भन्नुभयो । बुवाले चाहिँ त्यतिबेला प्रतिक्रिया दिनुभएन ।
जगदीश घिमिरे पहिलोपटक तपाईंको घरमा तपाईंलाई विवाह गर्ने प्रस्ताव लिएर पुग्दा कस्तो अनुभूति भएको थियो ?
उहाँलाई रिसाउनुहुन्छ कि, के गर्नुहुन्छ कि भन्ने लागेको थियो । मैले अगाडि नै यस्तो आउँदै हुनुहुन्छ भनेकी थिएँ । धेरै मान्छे लिएर नआउनु भनेकी थिएँ ।
उहाँले के प्रतिक्रिया दिनुहुन्छ भन्ने पनि लागेको थियो । उहाँको एकजना साथी थियो । त्यही साथीलाई लिएर जानुभएको थियो । अहिले विवाहको कुरा गर्न जाँदा गाडीमा मान्छे थुपारेर जाने चलन छ नि, त्यस्तो होइन । उहाँ र उहाँको एकजना साथी मात्रै जानुभएको थियो ।
मेरो आमाले पूजा गर्नुहुन्थ्यो । पूजा गरेर पूजाको थालमा टीका लगाएर प्रसाद लिएर आउनुभयो । उहाँहरूलाई लगाइदिनुभयो । त्यसपछि कुरा छिनियो । त्यतिबेला त्यति सजिलै कुरा छिनिएको थियो । अहिले त्यस्तो स्थिति छैन । एउटा विवाहजस्तै गरेर कुरा छिनिने पनि हुन्छ ।
जगदीश घिमिरेको घरमा बेहुली भएर भित्रिँदाको पहिलो अनुभूति कस्तो थियो, सम्झना छ ?
त्यस्तो खास केही भएन । स्वाभाविक रूपमा गर्नुपर्ने रीतिरिवाज गर्यौँ । मैले घरको बारेमा त्यस्तो केही सोचिनँ । किनभने उहाँहरू धेरै उदार व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका बुबाआमाको सोच पहिलेको जमानाको जस्तो थिएन ।
उहाँहरूले एकदमै खुसीसाथ स्वीकार गर्नुभयो । केही गर्नुपर्दा पनि हौसला दिनुहुन्थ्यो । खाना पकाउने कुरामा चाहिँ म त्यति जान्दिनथेँ । घरमा मैले केही पनि गरेकी थिइनँ । तरकारी पोइलिनेबित्तिकै पानी हालिदिन्थेँ । मलाई पकाउने काममा खासै रुचि थिएन । जान्दा पनि जान्दिनथेँ । पहिले त ससुरा बुवाले मैले पकाएको खानु पनि भएन । पछि चाहिँ अलिकति घिउ हालेर पकाउनू, चोखो हुन्छ भन्नुभयो ।
जगदीश घिमिरे साथीभाइ लिएर घर आउँने र तपाईंलाई खाना बनाउन भन्नुहुन्थ्यो ?
एकदमै । म त धेरै बनाउँथेँ । उहाँका साथीहरू धेरै बोलाउनुहुन्थ्यो । घरमा आइरहनुहुन्थ्यो । विशेष गरेर भातभन्दा पनि खानेकुराहरू, जस्तै दहीबडा, मीठो लाग्थ्यो । उहाँका साथीहरू आउँदा दुर्गा भाउजू दहीबडा बनाइदिनु भन्नुहुन्थ्यो । साथीहरू आइरहन्थे, खाइरहन्थे ।
तर भात र तरकारी पकाउने काम चाहिँ मलाई त्यति आउँदैनथ्यो । अहिले पनि छोराछोरीले मलाई भान्सामा बस्न दिँदैनन् । किनभने मैले घरमा त्यस्तो काम गरेकै थिइनँ । हामी सात जना दिदीबहिनी थियौँ । भाउजूहरू पनि हुनुहुन्थ्यो । त्यसैले मैले खासै काम गर्नुपर्दैनथ्यो ।
मलाई त्यस्तो पकाउन जान्दिनँ भन्ने उहाँलाई पनि थाहा थियो । खानेकुरा पकाउने कुरा आमालाई भन्नुहुन्थ्यो । यसको हातले पकाएको मीठो हुँदैन, यसले पकाउन जान्दिनँ भन्नुहुन्थ्यो । तरकारी पकाएर पानी हालिदिन्छ भनेर पनि भन्नुहुन्थ्यो । अहिले पनि मैले पकाउन जान्दिनँ ।
घरमा जेठाजु, देवर, नन्द, आमाजु, देउरानी र जेठानीहरूसँग मनमुटाव भएको कुन घटना छ ?
कसैसँग त्यस्तो केही भएन । किनभने म धेरैजसो अफिस नै जान्थेँ । त्यतिबेला पनि खाना खाएर पूजा गरेर अफिस जान्थेँ र फर्किन्थेँ । काममा व्यस्त हुन्थेँ । त्यतिबेला म समाज कल्याण परिषदमा सदस्यसचिव थिएँ । त्यो धेरै महत्वपूर्ण पद थियो । त्यसैले त्यस्तो केही भएन । बरु म आउँदा के खाने भनेर उहाँहरूले पनि सहयोग गर्नुहुन्थ्यो ।
तपाईंहरू पुरस्कार ग्रहण गर्न विदेश जानुभएको समयमा जगदीश घिमिरेलाई मल्टिपल माइलोमा क्यान्सर भएको थाहा भयो । डाक्टरले पहिलोपटक उहाँलाई यो रोग लागेको छ भनेर सुनाउँदाको क्षणलाई कसरी सम्झनु हुन्छ ?
हामी त्यहाँ गइसकेपछि अमेरिकन सरकारले ‘आशाको प्रतिविम्ब’ भन्ने विषयमा एउटा ठूलो पुरस्कार दिएको थियो । त्यो पुरस्कार मलाई नै दिइएको थियो । महिलालाई दिँदा राम्रो हुन्छ भनेर उनीहरूले अरू देशमा पनि द्वन्द्व चलिरहेको अवस्थामा द्वन्द्व अन्त्य गर्न महिलाहरूले कस्तो भूमिका खेलिरहेका छन् र विकासको काम के गरिरहेका छन् भनेर हेर्ने गरेका रहेछन् । त्यस्ता देशका महिलाहरू पनि थिए ।
त्यसमध्ये उनीहरूले मलाई छानेका थिए । जगदीशजीले धेरै काम गर्नुभएको हो, यहाँ सबैलाई थाहा छ भनेका थिए । म त उहाँको पछि–पछि हिँड्ने मात्रै हो । धेरै डाँडाकाँडा हिँड्न सक्ने पनि होइन । जगदीशजीको योगदानकै कारण त्यो पुरस्कार पाएको हुँ ।

पुरस्कार पाउँदा एकातिर खुसी लाग्यो, अर्कोतिर दुःख पनि लाग्यो । मल्टिपल माइलोमाको कुरा गर्नुभयो । त्यतिबेला मलाई त्यसको विषयमा त्यति धेरै थाहा पनि थिएन । जगदीशजीले मलाई कहिल्यै भन्नुभएको थिएन । मलाई दुःख नहोस् भनेर उहाँले धेरै कुरा भन्नुभएन । डाक्टरले हामीलाई कोठामा बोलाउनुभयो । जगदीशजी र मलाई सँगै राखेर उहाँलाई मल्टिपल माइलोमा भएको छ भन्नुभयो । त्यो सुन्दा मलाई आकाशबाट खसेजस्तो भयो । यो रोग निको हुँदैन भन्ने कुरा मलाई थाहा थियो ।
उहाँले चाहिँ एकदमै सहज रूपमा स्वीकार गर्नुभयो । तर मैले स्वीकार गर्न सकिनँ । कति रोएँ, कति बौलाएँ, त्यो मलाई नै थाहा छ । त्यसपछि मैले पनि सहनुपर्छ भन्ने सोचेँ । उहाँलाई दुःख नहोस् भनेर मैले पनि आफ्नो पीडा देखाइनँ । उहाँले पनि मलाई दुःख नहोस् भनेर सहनुभयो । उहाँले सबै कुरा बुझेर सहज रूपमा स्वीकार गर्नुभयो ।
उहाँले जीवन र मृत्यु स्वाभाविक कुरा हो, जन्मेपछि मान्छे मर्छ नै, मलाई निको हुन्छ भनेर मलाई आत्मविश्वास दिनुभयो । तर मलाई यो रोग निको हुँदैन भन्ने कुरा राम्रै थाहा थियो । त्यतिबेला हामी विदेशमा थियौँ । छोराछोरी पनि हामीसँग थिएनन् । हामी दुईजना मात्रै त्यहाँ एउटा ठूलो अन्तर्राष्ट्रिय पुरस्कार लिन गएका थियौँ । पुरस्कारमा ३० लाख रुपैयाँ दिइएको थियो ।
अरू बेला कति खुसी लाग्थ्यो । तर त्यतिबेला बच्चाहरू पनि थिएनन् । काठमाडौँमै छोडेर गएका थियौँ । होटलको कोठामा जाँदा यस्तो विद्वान् मान्छेलाई यस्तो रोग लागेको रहेछ भन्थे । जीवन र मृत्युको कुरा सम्झेर म आफैँ मर्छु कि जस्तो लागेको थियो ।
त्यसपछि हामीले औषधी उपचारका लागि सिंगापुरदेखि बैंककसम्म धेरै ठाउँमा गयौँ । तर कतैबाट पनि यो रोग निको हुँदैन भन्ने कुरा आयो । त्यसपछि आफूलाई सम्हालेर जति सकिन्छ त्यति बाँच्ने, त्यतिन्जेल उहाँलाई सहयोग गर्ने र केयर गर्ने भनेर हामी घर फर्कियौँ ।
जगदीश घिमिरेलाई मन्थली र रामेछापमा जुन रूपमा जीवित राख्नुपर्ने थियो, उहाँको निधनपछि पनि त्यो काम हुन सकेको छ ? के लाग्छ ?
मलाई के लाग्छ भने जगदीशजी एउटा राष्ट्रिय व्यक्तित्व हो । उहाँले जीवनमा जे काम गर्नुभएको छ, त्यो एकदमै अनुकरणीय छ । हामीले जहिले पनि त्यही सम्झनुपर्छ । जगदीश घिमिरे फाउन्डेसन गठन गर्नुभयो । उहाँले बाँच्दै गर्दा नै त्यो काम गर्नुभएको थियो । आजसम्म पनि हामीले गरिरहेका छौँ । मलाई के लाग्छ भने उहाँ राष्ट्रिय व्यक्तित्व हो । उहाँ मन्थलीमा मात्रै सीमित हुनुहुन्न । राष्ट्रिय विभूतिजस्तो लाग्छ मलाई । किनभने उहाँले मानिसका आधारभूत आवश्यकतामा काम गर्नुभएको छ ।
जस्तो, यहाँ आउँदा खानेपानी थिएन । महिलाहरूले गाग्रीमा पानी बोकेर आउँथे । पेट बोकेका महिलाहरूले पनि पानी बोकेको मैले देखेकी छु । हामी सुरुमा यहाँ आउँदा त्यस्तो अवस्था थियो । त्यसबाहेक यहाँ औषधीहरू पनि थिएनन् । हामी औषधीको पोको बोकेर आउँथ्यौँ । बच्चाहरू दुईजना साना–साना थिए । त्यो औषधी अरू स्थानीय मानिसलाई पनि बाँडिदिन्थ्यौँ । कसैको बच्चा बिरामी भएको छ भने औषधी दिन्थ्यौँ ।
औषधी लिन जाने ठाउँमा पुग्न एक घण्टा, डेढ घण्टा लाग्थ्यो । स्वास्थ्य चौकी जान पनि त्यति नै समय लाग्थ्यो । रामेछाप जाँदा डेढदेखि दुई घण्टा लाग्थ्यो । त्यस्तो अवस्थामा उहाँले काम गर्नुभएको थियो, सहयोग गर्नुभएको थियो । यहाँ एकपटक आउँदा टाउको फुटेकीजस्ती एउटी महिला आएकी थिइन् । उनको उपचार यही भयो । उहाँले धेरै मानिसलाई जीवनदान दिनुभएको छ ।
जे जति उहाँले गर्नुभएको छ, आफ्नो निम्ति केही गर्नुभएको होइन । यहाँका जनताको दुःख कम गर्न र आर्थिक सशक्तीकरणका लागि काम गर्नुभएको हो । उनीहरूलाई कसरी आयआर्जन गर्न सक्ने बनाउने भनेर पनि विभिन्न गतिविधि गर्नुभएको थियो । त्यसैले उहाँलाई मन्थलीमा मात्रै सीमित गरेर हेर्नु हुँदैन । उहाँले गर्नुभएको काम राष्ट्रिय महत्वको छ ।
