रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले मन्थली बजारका सडक पेटी अतिक्रमण नगर्न र पैदल यात्रुको आवागमनमा अवरोध नपुर्याउन व्यवसायीलाई आग्रह गरेको छ । सङ्घले सडक पेटीमा पसलका सामान राख्ने, व्यापारिक सामग्री प्रदर्शन गर्ने तथा ठेला र अन्य सामग्री राख्ने कार्य रोक्न बुधवार सूचना जारी गरेको हो ।
सङ्घका महासचिव यज्ञप्रसाद सुवेदीद्वारा हस्ताक्षरित सूचनामा सडक पेटी पैदल यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमनका लागि निर्माण गरिएकाले त्यसको प्रयोजनविपरीत प्रयोग नगर्न व्यवसायी तथा सरोकारवाला पक्षलाई अनुरोध गरिएको छ ।
सडक पेटीमा व्यापारिक सामग्री राख्दा पैदल यात्रुको आवागमनमा अवरोध सिर्जना हुनुका साथै बजार व्यवस्थापनमा समेत समस्या हुने सङ्घले जनाएको छ । बजार क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीहरूले आफ्नो पसलका सामग्री सडक पेटीमा नराख्न र सार्वजनिक स्थानको अतिक्रमण नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।
सङ्घले मन्थली बजारका सम्पूर्ण व्यवसायी तथा सरोकारवाला पक्षलाई सडक पेटी खाली राख्न, पैदल यात्रुको आवागमनमा बाधा नपुर्याउन र बजार व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।
‘सफा, सुन्दर, व्यवस्थित र सभ्य बजार निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ सूचनामा भनिएको छ, ‘बजारको सौन्दर्य कायम राख्न, पैदल यात्रुको सहज आवागमन सुनिश्चित गर्न तथा मन्थली बजारलाई व्यवस्थित बनाउन सबै व्यवसायी तथा सरोकारवालाले आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।’
मन्थली बजार क्षेत्रमा सडक पेटीमा सामान राख्ने तथा व्यापारिक सामग्री प्रदर्शन गर्ने कार्यले पैदल यात्रुलाई आवतजावतमा असहज बनाएको र बजार व्यवस्थापनमा समस्या सिर्जना गरेको गुनासो बढेपछि सङ्घले यस्तो आग्रह गरेको हो ।
सडक पेटी पैदल यात्रुका लागि सुरक्षित र सहज बनाउन व्यवसायी तथा सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको सङ्घले जनाएको छ ।
