रामेछाप –अर्नब चक्रवातको प्रभावले भारी वर्षा हुन सक्ने चेतावनी जारी भएपछि रामेछापका किसान त्रसित बनेका छन् । किसानहर यतिबेला काटेर खेतमा सुकाएको धानमा भित्र्याउने चटारोमा रहेका बेला चक्रवातको समाचारले किसानलाई बाकेको बाली भित्र्याउन नपाइने हो कि भन्ने चिन्ताले सताएको छ । वर्षाका कारण धान भिजेर कुहिने र दाना बिग्रने जोखिम बढेपछि किसानले खेतमा काटेर सुकाउन राखिएको धान उठाउन र सुरक्षित स्थानमा राख्न जुटेका छन् ।
जिल्लाका प्रमुख धान उत्पादन हुने फाँटमा करिब आधा धान काटिसकिएको अवस्थामा मौसम प्रतिकूल हुने सम्भावनाले किसानलाई चिन्तित बनाएको छ । दसैँलगत्तै धान काट्न सुरु गरेका किसानलाई पाकेको बाली भित्र्याउने समयमा वर्षा हुने भएपछि थप चटारो परेको हो ।
रामेछाप प्रशासनले अर्नब चक्रवातको प्रभावका कारण बिहीबारदेखि तीन दिनसम्म भारी वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले पाकेको धानबाली समयमै भित्र्याउन, यात्रा गर्दा सावधानी अपनाउन र नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जारी गरेको सूचनामार्फत सम्भावित वर्षा र हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो ।
किसानका लागि धान मुख्य खाद्यान्नसँगै आम्दानीको स्रोतसमेत हो । लामो समयको मेहनतपछि तयार भएको बाली भित्र्याउने समयमा मौसम प्रतिकूल भए उत्पादनमा क्षति पुग्ने जोखिम हुन्छ । विशेषगरी खेतमा काटेर राखिएको धान वर्षामा भिजेपछि सुकाउन समय लाग्ने, दाना बिग्रने र भण्डारण गर्न कठिन हुने समस्या देखिन सक्छ ।
गत वर्ष पनि धान काटेर सुकाउने क्रममा अविरल वर्षा हुँदा किसानले यस्तै समस्या भोग्नुपरेको थियो । खेतमा काटेर राखिएको धान भिज्दा कतिपय ठाउँमा धानका बाला कुहिनुका साथै दाना उम्रिएको किसानहरूको अनुभव छ । भिजेर दाना उम्रिएको धान खान र भण्डारण गर्न समस्या हुने भएकाले यस वर्ष किसानहरू मौसमको पूर्वानुमानप्रति थप सचेत बनेका छन् ।
धान पाकेर काट्ने समय भए पनि वर्षाको सम्भावनाले किसानले आफ्नो कामको प्राथमिकता परिवर्तन गर्नुपरेको छ । थप धान काट्नुभन्दा पहिले नै काटेर खेतमा राखिएको धान उठाउने र सुरक्षित स्थानमा पुर्याउने काममा उनीहरू जुटेका छन् । उपलब्ध जनशक्ति परिचालन गरेर मौसम बिग्रनुअघि नै बाली सुरक्षित गर्ने प्रयास भइरहेको छ ।
सम्भावित भारी वर्षाले नदी तथा खोलामा पानीको बहाव बढाउन र विभिन्न स्थानमा आवागमन प्रभावित पार्न सक्ने भएकाले प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पनि सचेत रहन आग्रह गरेको छ ।
धानबाली भित्र्याउने मुख्य समयमा मौसम प्रतिकूल हुने सम्भावनाले किसानको दैनिकी प्रभावित भएको छ । खेतमा पाकेको धान सुरक्षित गर्नुपर्ने बाध्यता र वर्षाले उत्पादन बिगार्न सक्ने चिन्ताबिच किसानहरू काटिसकेको बाली जोगाउन व्यस्त छन् । प्रशासनले जारी गरेको मौसमसम्बन्धी चेतावनीलाई ध्यानमा राख्दै किसानलाई बाली सुरक्षित गर्न र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
