
रामेछाप- रामेछाप जिल्लाबाट चालु आर्थिक वर्षको ९ महिनामा करिब ५ हजार मानिस वैदेशिक रोजगारीमा गएका छन् । गत साउनदेखि चैत महिनासम्म रामेछापबाट ४ हजार ७ सय २० पुरुष र १ हजार ३ सय ५६ जना महिला गरी ६ हजार ७६ जना वैदेशिक रोजगारीमा गएका हेल्वेटासकी कार्यक्रम संयोजक उमा पौडेलले जानकारी दिइन् । मन्थली नगरपालिका सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले बिहिवार मन्थलीमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उनले उक्त जानकारी दिएकी हुन् ।
पछिल्लो ६ वर्षको अवधिमा रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ३१ जनाले ज्यान ज्यानसमेत गुमाएको पनि उनले जानकारी थिइन् । कार्यक्रम संयोजक पौडेलकाअनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी ९ जनाले ज्यान गुमाएका छन् ।
सामी कार्यक्रमका रामेछापका संयोजक दीपककुमार केसीले आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाले ज्यान गुमाएका बताए । उनकाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३ जना, २०७६/०७७ मा ४ जना, २०७७/०७८ मा दुई जना, २०७९/०७९ मा २ जना, २०७९/०८० मा ११ जना र चालु आर्थिक वर्षको हालसम्म ९ जनाले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएको जानकारी दिए । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) लाई जानकारी भएका ३१ जना मात्रै भए पनि सो अवधिमा विदेशमा मृत्यु भएका अरु पनि हुनसक्ने उनको भनाइ छ ।
हेल्भेटासकी कार्यक्रम संयोजक उमा पौडेलले हालसम्म ७१ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको भनिए पनि वैदेशिक रोजगारीबाट फर्किनेको आधिकारिक तथ्याङ्क कसैसँग नरहेको बताइन् । पौडेलकाअनुसार हाल दैनिक २ हजार २ सय नेपाली विदेशमा रोजगारीको लागि जाने गरेका छन् । आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्मको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो क्रममा रहेको पौडेलको भनाइ छ ।
श्रम स्वीकृति लिएर जानेमध्ये सबैभन्दा बढी २६ प्रतिशत नेपाली संयुक्त अरब इमिरेट्स जाने गरेका छन् । त्यसपछि साउदी अरेबिया १९ प्रतिशत, कतार १८ प्रतिशत नेपाली वैदेशिक रोजगारमा रहेको पौडेलले बताइन् । यसबाहेक मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइनलगायतका देशमा पनि नेपालीहरू रोजगारी लागि जाने गरेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटना, वैदेशिक रोजगार ऐन बारे जानकारी गराएका थिए । सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सञ्चालित गतिविधिको नियमित अनुगमन तथा पृष्ठपोषण भइरहेको प्रजिअ थापाले बताए । मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लगिने बताइन् ।