
रामेछाप –रामेछापको रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानले उद्योग र कलकारखाना नखोली नेपालीलाई विदेश जानबाट रोक्न नसकिने बताए । राज्यसँग पैसा छैन, रोजगार दिनसक्ने हाम्रो क्षमता छैन । अहिले गाउँपालिका तथा नगरपालिकाहरुमा आएका विभिन्न शीर्षकमा पैसाहरु कटौती हुँदै छ, यसको कारण भनेको राज्य टाट पल्टिसकेको छ, नगरप्रमुख न्यौपानेले भने ।
उनले भने– रामेछाप नगरपालिकामा २५ प्रतिशत पैसा कम भइसक्यो, अन्त पनि त्यस्तै होला, त्यसकारण आयआर्जको माध्यय स्थानीय तहले होइन, राज्यबाटै व्यवस्थापन गर्नुपर्ने हुन्छ । नगरप्रमुख न्यौपानेले उक्त कुरा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा बताएका हुन् ।
उत्पादन वृद्धि नगरी उद्योगधन्दा खोलीदैन, उत्पादन वृद्धि गर्नका लागि राज्यले लगानी गर्नुपर्छ, उनले भने । राम्रो पढलेख भएमा मानिसहरु युरोप अमेरिका गएका छन्, पढलेख कम भएका मानिस खाँडीमूलुक गइरहेका छन्, यो प्रक्रियालाई रोक्नको लागि उत्पादन वृद्धि गर्नुपर्छ, उत्पादनमा वृद्धि नभइ रोक्न सकिँदै नगरप्रमुख न्यौपानेको भनाइ छ ।
न्यौपाने भन्छन्– “मान्छे विदेश नजाओस भन्ने हाम्रो चाहना हो तर विदेश जान बाध्य छन् ।” रामेछाप नगरपालिकामा जुनार र गेडागुडीले केही बजार लिएको तर प्रकृतिले ठगेको बताए । आगामी आर्थिक वर्ष २०८२÷०८३ बाट रामेछाप नगरपालिकामा सुरक्षित आप्रवास (सामी) कार्यक्रम लागू गर्ने पनि नगरप्रमुख न्यौपानेले बताए ।
घरमा पनि विभेद् भएपछि मानिस विदेशिने गरेको उनको भनाइ छ । नगरप्रमुख न्यौपाने भने– “गाउँघरमा फलानोले विदेश गएर पैसा कमायो, तँ चाँहि घरमै बस्छस् भन्छन्, अहिलेको पनि गाउँको अवस्था यही हो । घरमा पनि विभेद भएपछि मान्छे बाध्य भएर विदेश जान्छन् । उद्योग कलकारखाना स्थापना नगरी नेपालीलाई विदेश जानबाट रोक्न सकिँदैन ।”