Logo

खुर्कोट बेलिब्रिजमा बढ्दो जोखिम : मर्मतका लागि नेपाली सेना खटियो



रामेछाप- रामेछापलाई तराई र राजधानी काठमाडौँसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको सुनकोसी नदीमा गत वर्षमात्रै जडान गरिएको बेलिब्रिजमा समस्या देखिएपछि मर्मतका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली खटिएको छ ।

बेलिब्रिज मर्मतको लागि नेपाली सेना बर्दिवासको प्राविधिक टोली परिचालन गरिएको हो । बेलिब्रिज मर्मत कार्यको लागि समन्वय र सुरक्षा लगायतका व्यवस्था खड्ग दल गण रामेछापले मिलाएको छ ।
पुलमा कसिएका केही नटबोल्टहरु खुस्किएको र पुल केही लच्किएको स्थानीयको गुनासो आएपछि अघिल्लो महिना जिल्लास्थित सुरक्षा अधिकारीहरुले पुलको अवलोकन गरेका थिए । अवलोकनका क्रममा केही नटबोल्टहरु खुकुलिएको र पुल केही लच्किएको पाइएपछि सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले उक्त पुुल मर्मत गरिदिन नेपाली सेनालाई अनुरोध गरेको र सोहीअनुसार नेपाली सेनाको इन्जिनीयरिङ टोली आई मर्मत सुरु गरेको खड्ग दल गण रामेछापले जनाएको छ ।


बेलीब्रिज जडानमा प्रयोग गरिएका केही नटबोल्टहरु लुज भएकाले ती नटबोल्टहरु कस्ने काम भइरहेको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीकाका सव इन्जीनियर भूमेन्द्रकुमार यादवले बताए ।
आकस्मिक दुर्घटना तथा विग्रिएर नभई पुलको नियमित मर्मत अन्तर्गत मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । पुलको भारबहन क्षमताभन्दा बढी तौलका साधनसमेत पुलबाट वारपार गर्ने गरेकाले पुल लल्किएको स्थानीयले गुनासो गरेका थिए । तर त्यसमा सत्यता नभएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

सुरक्षा अधिकारीहरूका अनुसार पुलमा प्रवेश गर्नुअघि सवारी साधनको तौल जाँच गरी आवश्यक भएमा केही सामान झारेर मात्र पार गराउने गरिएको छ । तर, स्थानीयले सिधै सिन्धुलीको तौल काटाबाट प्रमाण देखाएर पुल पार गरिने गरेको आरोप लगाएका छन् । धेरैजसो मालवाहक सवारीले खुर्कोटमा सामान झार्ने गरेको देखिँदैन भने व्यवसायीहरू भने १५ टनभन्दा बढी तौल नबोकिएको दाबी गर्छन् । उनीहरूका अनुसार सामान्यतया ६ टनका ट्रकहरूले ९ टनभन्दा बढी सामान लोड गर्दैनन् र बिपी राजमार्गका लागि अनुमति प्राप्त ट्रकको अधिकतम लोड क्षमता १० टन हो ।

पछिल्लो समय पुलमा देखिएको गडबडीको मुख्य कारण भनेको अत्यधिक चाप नै भएको अनुमान गरिएको छ । यसअघि गत वर्ष असोज १२ गतेको बाढीले सुनकोशीको पक्की पुलको उत्तरी भाग बगाएपछि बिपी राजमार्गमार्फत काठमाडौँसँगको सिधा सम्पर्क विच्छेद भएको थियो । त्यसपछि तत्कालिन उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को पहलमा २८ दिनभित्रै बेलिब्रिज जडान गरिएको थियो ।

बाढीले पक्की पुलको रामेछापतर्फको भाग बगाएपछि गत वर्षपनि नेपाली सेनाको बर्दिवासबाट आएको ईन्जिनियरीङ टोलीले बेलीब्रिज जडान गरेको थियो । अहिले मर्मत कार्यपनि सोही टोलीले गरिरहेको छ । उक्त पुलमा अधिकतम १५ टनसम्मका साधन सञ्चालन गर्न मिल्ने नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी, बाढीले खैरेनीघाटको अर्को पुल पनि बगाएको थियो, जसले पश्चिमी रामेछापको सुनापति क्षेत्रलाई काठमाडौँसँग जोड्ने सम्पर्क अझै अवरुद्ध छ । हालसम्म त्यहाँ वैकल्पिक पुल जडान हुन सकेको छैन, जसले गर्दा स्थानीयवासीहरूलाई दैनिक आवतजावतमा ठूलो कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्