
रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गाउँपालिकाले काम गर्न नसकेको गुनासो गरेका छन् ।
शुक्रवार राति सञ्चारकर्मीहरुलाई सन्देश पठाउदै नेकपा एमालेबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष श्रेष्ठले भनेका छन् – ८० प्रतिशत नेकपा एमालेका जनप्रतिनिधि हुदाँ पनि काम गर्न सकिएन । उनले वडा अध्यक्षहरुलेनै बारम्बार गाउँपालिकाको निर्णय र त्यसको कार्यान्वयनमा बाधा उत्पन्न गरिरहेको बताएका छन् । जनप्रतिनीधिकै असहयोगका कारण गाउँपालिकामा कुनै कर्मचारी नटिक्ने र जसका कारण पालिकाले कार्यसम्पादनमा समस्या झेल्नु परेको गुनासो श्रेष्ठको छ ।
पछिल्लो पटक गाउँपालिकाबाट नदीजन्य सामग्रीको ठेक्का नलागेपछि अमानतबाट पैसा उठाउने काम गरेको तर अमानतमा उठ्नु पर्ने जति रकम नउठेपछि असुल उपरका लागि ताकेता गर्ने भन्ने निर्णय गाउँ कार्यपालिकाबाट गराएकोमा उक्त निर्णयमा आफूलाई जानकारी नगराई ३ दिनपछि ५ जना वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतकोमा पुगेर नोट अफ डिसेन्ट लेखेको भन्दै श्रेष्ठले भनेका छन् – गाउँपालिकामा यति धेरै समस्या हुदाँ पनि पत्रकारहरु कता हुनुहुन्छ ? ।
अध्यक्ष श्रेष्ठले विगतमा नेकपा एमालेका जनप्रतिनिधिलेभन्दा आफूले राम्रो काम गर्न खोजेको भन्दै त्यसको प्रमाण गाउँपालिकाको बेरुजु रहेको औल्याएका छन् । पहिलेका जनप्रतिनिधिहरुले विभिन्न बेतिथि गरेको उनको आसय रहेको छ ।
श्रेष्ठ आफ्नै वडाका वडाअध्यक्ष पुष्कर कार्कीसँग अरुभन्दा बढी चिढिएका छन् । कार्की र उनको विभिन्न विषयमा यसअघि पनि मतमतान्तर हुँदै आएको छ । कार्कीकै नेतृत्वमा अन्य जनप्रतिनिधिहरुले आफूलाई असहयोग गरेको उनले दाबी गरेका छन् । साथै श्रेष्ठले यसअघि भएका समस्याहरुको समाधानमा पार्टीले पहलकदमी गरेको उल्लेख गरेका छन् ।