
रामेछाप- विश्व रक्तदाता दिवसको अवसरमा जनस्वाथ्य कार्यालय रामेछापले रक्तदान तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वय तथा रामेछाप अस्पतालको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
विश्व रक्तदाता दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरे ।
रक्तदान कार्यक्रम पछि पत्रकार तथा सरोकारवालाहरुसँग रक्तदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले रक्तदान सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनको प्रस्तुति रक्तदान गर्न मिल्ने उमेरसमूह र रक्तदान गर्न योग्य व्यक्तिहरु सबैलाई रक्तदान गर्न प्र्रेरित गर्नुपर्ने कुरामा केन्द्रित थियो ।
जनस्वास्थ्य कार्यालय प्रमुखको प्रस्तुतिपछि केही पत्रकारहरुले जिज्ञासा राखे । पत्रकारले राखेको जिज्ञासामा उनले समाचार लेख्न लायक जवाफ भने दिएनन् । जनस्वाथ्य कार्यालय रामेछापका प्रमुख झाले टालटुले जवाफ दिएर कार्यक्रम सकाउनमा हतारिए । पत्रकारको जिज्ञासा मध्ये दुई वटा जिज्ञासा थिए, रामेछाप जिल्लामा गत वर्ष कति ब्लड सङ्कलन गरिए, कति खपत भए र वर्षमा सामान्यतया जिल्लामा कति ब्लड आवश्यक पर्ने रहेछ ? अर्को प्रश्न थियो, रक्तदान गर्दा मानिसको स्वास्थ्यमा फाइदा पुग्छ, यो–यो कारणले रक्तदान स्वास्थ्यको लागि फाइदा छ भनि रक्तदातालाई विश्वस्त पार्नको लागि रक्तदान सम्बन्धी गरिएको अध्ययन अनुसन्धानको प्रमाणहरु के के छन् भन्ने पत्रकारको जिज्ञासा थियो ।
यी दुवै जिज्ञासामा जनस्वास्थ्य कार्यालय प्रमुख झाले प्रमाणहरु प्रस्तुत गर्न सकेनन् । गत वर्ष जिल्लामा कति ब्लड सङ्कलन भए, कति खपत भए र वर्षमा रामेछापलाई कति ब्लड आवश्यक पर्ने रहेछ भन्ने जिज्ञासामा उनले आफूले यसको तथ्याङ्क नल्याएको जवाफ दिए । पत्रकारको दोेस्रो जिज्ञासको जवाफ दिंदै उनले भने– ‘यो ब्लड डोनेशन सम्बन्धी मैले एम.बि.बि.एस गरेका डाक्टर, विश्व विद्यायलका प्रोफेसर, स्वास्थ्य सम्बन्धी ब्याचलर्स, मास्टर्स गरेका व्यक्तिहरुसँग अन्तरक्रिया गरेको थिएँ भने ती सबै कुराको तयारी गर्थे तर यहाँ सामान्वय लेवलका मानिसहरुसँगको अन्तिरक्रिया भएकाले मैले त्यस्तो केही तयारी गरिन् । जनस्वास्थ्य कार्यालय प्रमुख झाले रक्तदान गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ त भने तर यो कारणले रक्तदान गर्दा स्वास्थ्यको लागि फाइदा हुन्छ भन्ने प्रमाण भने पेश गर्न सकेनन् । यी कारणहरुले रक्तदान गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ भन्ने कुरामा पत्रकारहरु नै विश्वस्त हुन नसकेपछि आम नागरिकलाई पत्रकारले के सन्देश दिने ? रक्तदान गर्नको लागि नागरिकलाई उत्प्रेरित गर्ने प्रमाणहरुको बारेमा आयोजकले जानकारी दिन नसक्दा अन्तरक्रिया कार्यक्रम अपुरो भएको पत्रकारहरुको बुझाई छ ।
हरेक वर्ष जुन १४ तारिखका दिन विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ तारिखको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिएको हो । विश्व रक्तदाता दिवस सन् २००४ बाट मनाउन थालिएको हो ।