
सन्तोष ढुङ्गेल
रामेछाप – जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ दाई जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल निर्माण भइनसक्दै भाँचिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल शुक्रवार अपरान्ह भाँचिएको हो ।
५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केही दिनमा केही दिनमात्र बाँकी हुँदा पुल भाँचिएको हो । भाँचिएको भाग पनि त्यहि अन्तिम स्पान नै हो ।
सङ्घीय सरकारको सडक विभागको पुल महाशाखाले उक्त पुल निर्माण गरेको हो । २ सय ३० मिटर लामो र ११ मिटर चौडाइ रहेको उक्त पुल निर्माण अन्तिम चरणमा थियो । २०८२ असार मसान्तसम्म पुलबाट सवारी आवागमन खुलाउने तयारी निर्माण कम्पनीले गरेको थियो ।
पुल निर्माणका लागि २०७८ सालमा ठेक्का लागेको थियो । उक्त पुल कालिका–कल्पवृक्ष जेभिले बनाउदै थियो । कुल ४ स्पान भएको उक्त पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता भएको थियो ।
पुल भाँचिनुको कारण भने खुलेको छैन् । निर्माण व्यवसायीले तत्कालै साइटमा विज्ञ टोली ल्याएर पुल क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने तयारी गरेको छ । निर्माणाधीन पुल निर्माण नसकिँदै भाँचिएपछि स्थानीयमा शङ्का उपशङ्का उत्पन्न भएको छ ।