
रामेछाप– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पढेकाले रोजगारी पाएमात्र शिक्षा हासिल गरेको महत्व हुने बताए । वर्तमान शिक्षा व्यवहारिक नभएको समेत सभामुख घिमिरेले बताए । शिक्षा आर्जन गरेपछि रोजगारी पाइन्छ भन्ने ग्यारेन्टी भएको शिक्षा प्रदान गर्न नसक्नु आज चिन्ताको विषय भएको सभामुख घिमिरेले बताए ।
‘सामुदायिक विद्यालयमा पढेकाले बेरोजगार बस्नु नपर्ने व्यवहारिक र प्राविधिक शिक्षा कसरी दिलाउन सकिन्छ भन्ने कुरा आजको चिन्ताको विषय हो’ सभामुख घिमिरेले भने – पढेकाले रोजगारी पाएमा मात्र वास्तविक अर्थमा शिक्षा हासिल गरेको महत्व हुनसक्छ ।
सभामुख घिमिरेले शनिवार रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको ज्यामिरेखानीमा रहेको श्री माध्यमिक विद्यालयको स्वर्ण महोत्वसवको उद्घाटन गर्दै यस्तो बताएका हुन् । शिक्षा सुधारका लागि शिक्षकलाई तालिम, श्रोत साधन, ऐन कानुनमा सुधार कसरी गर्न सकिन्छ भन्ने कुरा सबैको चासो र चिन्ताको कुरा हुनुपर्ने सभामुख घिमिरेको भनाइ छ ।
शिक्षा विधेयक प्रतिनिधि सभाको विधायन समितिमा छलफलको चरणमा रहेको बताउदै घिमिरेले उक्त विधेयक चाडै पारित होस भन्ने आफ्नो कोसिस रहने बताए । उनले शिक्षाबाट विमुखहरुलाई शिक्षाको पहुँचमा ल्याउन र सामुदायिक विद्यालयको सिकाइ उपलव्धिमा गुणात्मक सुधार ल्याउन सबै लाग्नुपर्ने कुरा औँल्याए । घिमिरेले विद्यालयको भौतिक पूर्वाधारले मात्र शिक्षामा सुधार भएको भन्न नसकिने भन्दै गुणस्तरमा सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
सङ्घीय राजधानी नजिकै भएर पनि विकासमा पछि परेको रामेछापले विगत ५÷७ बर्षमा पूर्वाधारको क्षेत्रमा धेरै फड्को मारेको वताउदै घिमिरेले जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुको विकासका लागि भएका प्रयत्नमा आफ्नो पनि सहयोग रहने बचन दिएका थिए । कार्यक्रममा स्थानीय विकास निर्माणका लागि जनप्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापन पत्र दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिकाको सभामुख घिमिरेले बिमोचन गरे । कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने चन्दादाता र विद्यालयको विकासका टेवा पु¥याउने विभिन्न व्यक्ति तथा शिक्षकहरुलाई घिमिरेले प्रशंशापत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ होमकुमार श्रेष्ठले विद्यालयको गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
२०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल झन्डै २ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयले केही समयदेखि विद्यालयमा अस्थायी छात्राबासको समेत व्यवस्था गरी विद्यालय शिक्षा सुधारका लागि कार्य गर्दै आएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कमलप्रसाद चौंलागाई, एमाले केन्द्रीय सदस्य माधव ढुंगेल, बागमती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महत, वडा नम्बर ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपाने लगायतले शिक्षा क्षेत्रका विविध आयामहरुका बारेमा प्रकाश पारेका थिए ।