रामेछाप- जिल्लामा पूर्वाधारको काम गर्ने प्रमुख कार्यालय पूर्वाधार विकास कार्यालय मार्फत भएका काम नै रामेछापमा गुणस्तरहीन भएको पाइएको छ ।
सो कार्यालय मार्फत भएका काम निर्माणकार्य पुरा नहुँदै भत्किएपछि नागरिकको आक्रोश बढेको छ । सो कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानमा भएका पूर्वाधारका काम पुरा नहुँदै भत्किएका छन् ।
कार्यालय मार्फत गत वर्ष लिखु तामाकोसी गाउँपालिका–२ सैपु जाने सडकको भुर्सा पाखामा काम सकिने बित्तिकै ढलान भत्किएको भन्दै स्थानीयले गुनासो गरेका थिए । सो गुनासो पछि निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले भत्किएको ठाउँमा टालेर स्थानीयको आँखामा छारो हाल्ने काम गरेको थियो ।

यस वर्ष पनि कार्यालय मार्फत विभिन्न स्थानमा भएका काम गुणस्तरहीन भएका गुनासो आएका छन् । कार्यालय मार्फत ठेक्का लागेको मन्थली–सुनारपानी–सालु सडक खण्डको सुनारपानी भदौरेमा लगाइएको पर्खाल काम सकेर भुक्तानी लिने बित्तिकै भत्किएको छ ।
पहिरो नियन्त्रणका लागि लगाइएको सो पर्खाल माथिबाट खसेको सानो पहिरोले पुरै भत्काइको छ । सो सडकको भदौरेमा ३० मिटर र सुकेधारा माथिको गैरोमा २४ मिटर मेसिनरीवाल १० लाख रुपैँयामा निर्माण गरिएको थियो । निर्माणको काम एसकेएए कन्ट्रक्सन एण्ड सपलायर्सले गरेको थियो ।
त्यस मध्ये भदौरेमा लगाइएको पक्की पर्खाल कामै नलाग्ने गरी भत्किएको स्थानीय शम्भुकुमार कार्कीले बताए । गुणस्तरीय काम नहुँदा पर्खाल भत्किएको उनको भनाइ छ । ‘सिमेन्ट र बालुवाको गुणस्तर राम्रो नहुँदा पर्खाल भत्कियो, पर्खालमा लगाइएको सिमेन्ट बालुवा मकैको रोटी जस्तै भाँचिन्छ, असारमा ठेक्का लगाएर असारमा नै काम सक्नु पर्ने री कार्यालयले कमिसनमा काम लगाउँछ, अनि कहाँबाट राम्रो काम हुन्छ’ ?, उनले भने ।
काम राम्रो भएन भनेर आफूहरूले बारम्बार भन्दा पनि कामदारहरूले यस्तै हो, हामीलाई यस्तै गर्नु भनेको छ भनेर टारेका स्थानीय गणेशकुमारी कार्की बताउँछिन् ।

मन्थली नगरपालिका–५ सुनारपानीका वडाध्यक्ष रवीन कार्की यस विषयमा कार्यालयमा कुरा गरेको बताउँछन् । वर्षाको बेलामा हतार हतार काम गर्दा काम राम्रो नभएको उनले बताए । भत्किएको भाग पुनः बनाउन लगाउने आश्वासन कार्यालयले दिएको उनले जनाकारी दिए ।
यस विषयमा पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी दोर्णबहादुर चौधरीको नम्बरमा फोन गर्दा स्विच अफ भन्यो । कार्यालयको नम्बरमा फोन गर्दा उनी बिदामा बसेको जानकारी दिइयो ।

