
सन्तोष ढुङ्गेल
रामेछाप- पुर्वगृहमन्त्री नेपाली काङ्ग्रेसका नेता एवम् राष्ट्रियसभाका संसद कृष्णप्रसाद सिटौलाले प्रचण्डले नेपाली काँग्रेसलाई धोका दिएकै कारण वर्तमान सरकार निर्माण भएको बताएका छन् । बुधवार नेपाली काङ्ग्रेस रामेछाप नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्न रामेछाप आएका सिटौलाले सदरमुकाम मन्थलीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेका प्रचण्डले काङ्ग्रेसलाई नै धोका दिएपछि सरकार परिवर्तनको वातावरण निर्माण भएको उनले बताए । संविधान संशोधन प्रक्रिया अगाडि बढिरहेको र सबै दलको सहमति जुटाएर गरिने पनि सिटौलाले जानकारी दिए ।
नेपाली काङ्ग्रेसले पूर्णरुपमा समर्थन गरेर वर्तमान सरकार निर्माण भएकोले काङ्ग्रेसबाट विश्वासघात नहुने सिटौलाले बताए । आगामी निर्वाचनसम्म नेपाली काङ्ग्रेस र एमालेबिच भएको सहमति अनुसार नै यही गठबन्धन कायम रहने पनि उनले बताए । प्रतिपक्षी दलहरूले हल्ला गरेजस्तो गठबन्धनमा समस्या नभएको पनि सिटौलाको भनाइ छ । आगामी निर्वाचनमा संगठन मजबुत बनाएर नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउनसमेत कार्यकर्तालाई सिटौलाले निर्देशन दिएका छन ।