रामेछाप- हालैका घटनाक्रम र अवस्था सामान्य हुँदै गएको निष्कर्षसहित रामेछाप जिल्लामा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबारदेखि जिल्लाभर लागू आदेश खारेज गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको २०८२ भदौ २७ गते बसेको बैठकले पछिल्ला दिनमा परिस्थिती शान्त रहेको मूल्याङ्कन गर्दै यस्तो निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी आदेश कारागार क्षेत्रको दङ्गाग्रस्त क्षेत्रमा भने यथावत रहने भए पनि बाँकी सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाइएको छ ।
सुरक्षा समितिले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न भूमिका निर्वाह गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गरेको छ । विशेषगरी, आन्दोलनमा संलग्न जेन–जी समूह, विभिन्न राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, व्यापारी, उद्योगी, सुरक्षाकर्मी र साधारण नागरिकहरूले संयमता अपनाउँदै वातावरण सामान्य बनाउन सहयोग पुर्याएको भन्दै कृतज्ञता व्यक्त गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु र निषेधाज्ञा हटाइसके पनि शान्ति–सुरक्षा कायम राख्न सबै पक्ष सतर्क रहनुपर्नेमा जोड दिएको छ । प्रशासनका अनुसार आगामी दिनमा कुनै पनि असामान्य गतिविधि देखिएमा आवश्यक कानूनी कदम चालिने चेतावनी पनि दिइएको छ ।
स्थानीय बासिन्दाले आदेश हटेपछि सामान्य जनजीवनमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । लामो समयसम्म निषेधाज्ञाले व्यापार, शिक्षा, यातायात र दैनिक क्रियाकलाप प्रभावित भएको भन्दै अब अवस्था क्रमशः सामान्यतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ । सुरक्षा समितिले नागरिकलाई आफ्नो अधिकार प्रयोग गर्दा जिम्मेवार र संयमित रहन आह्वान गर्दै, आगामी दिनमा पनि सबैको निरन्तर सहकार्य आवश्यक रहेको स्पष्ट पारेको छ ।
