रामेछाप- उमाकुण्ड गाउँपालिकाले स्वास्थ्य संस्थाको सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सामाजिक परीक्षणबाट आएका सुझावलाई आत्मसात् गर्दै स्वास्थ्य सेवा सुधारका लागि आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापन गरिने बताए। नागरिकको हितलाई केन्द्रमा राखेर स्थानीय सरकारले सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै उनले कर्मचारीलाई इमान्दार र जिम्मेवार ढंगले काम गर्न आग्रह गरे।
उमाकुण्ड गाउँपालिका र सान नेपाल रामेछापको सहकार्यमा गाउँपालिकाभित्रका आठ स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिएको हो। परीक्षणको नतिजा सार्वजनिक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले सामाजिक परीक्षणले स्वास्थ्य क्षेत्रको अवस्था सूक्ष्म रूपमा उजागर गरेको बताइन्। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव समावेश गरिने र तत्काल एउटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइने जानकारी दिइन्।

प्रमुख प्रशासकीय अधिकृत ङावा सेर्पाले सामाजिक परीक्षणका क्रममा देखिएका सकारात्मक पक्षलाई थप सुदृढ बनाउने तथा सुधार आवश्यक क्षेत्रलाई योजनाबद्ध रूपमा कार्यान्वयन गरिने बताए। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरिने तथा सेवाग्राहीका गुनासो सम्बोधन गरिने उनको भनाइ थियो।

स्वास्थ्य शाखा प्रमुख अभिजीत सुनुवारका अनुसार सामाजिक परीक्षणले सेवाग्राही र सेवा प्रदायकबीचको दूरी घटाउन सहयोग पुर्याएको छ। गाउँपालिकाका सामुदायिक स्वास्थ्य इकाइ क्यामा, गुम्देल, बाम्ती, कुभुकास्थली, प्रिती, गुप्तेश्वर, भुजी स्वास्थ्य चौकी तथा प्रिती अस्पतालमा सामाजिक परीक्षण गरिएको उनले जानकारी दिए।
सान नेपालका टिम लिडर तिलक कार्कीले स्वास्थ्य संस्थालाई महिला, गरिब, पिछडिएका तथा वञ्चित समुदायप्रति थप जवाफदेही र संवेदनशील बनाउने उद्देश्यले सामाजिक परीक्षण गरिएको बताए। स्थानीय आवश्यकता पहिचान गरी सरोकारवालाको सहभागितामा कार्ययोजना निर्माण र कार्यान्वयन गर्न सामाजिक परीक्षणले सहयोग पुर्याउने उनले बताए।

गाउँपालिकाले सीमित स्रोतसाधन र भौगोलिक जटिलताबीच पनि स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको दाबी गरेको छ। सामाजिक परीक्षणको नतिजाले पालिकाका गतिविधि, बजेट कार्यान्वयन, पारदर्शिता र सुशासनप्रति नागरिकको सकारात्मक अनुभूति देखाएको अध्यक्ष सुनुवारले बताए।
