
रामेछाप- सोमवार बिहान ९ः४७ बजेट सबैलाई अलविदा भन्दै लामो स्टाटस लेखर सम्पर्कविहीन भएका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौको बालाजुमा सकुशल फेला पारेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार केही बेरअघि उनी बालाजुमा भेटिएका हुन् ।
परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार श्रेष्ठलाई परिवारको जिम्मा लगाइँदैछ । डा. श्रेष्ठ सोमवार बिहान सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका थिए । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गर्दै लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए ।
२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शैयाबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनको स्टाटसलमा उल्लेख गरेका छन् ।
सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार गर्ने, धम्क्याउने र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराउँदा मन्त्रालयलेसमेत आफूमाथि नै अन्याय गरेको उनले उल्लेख गरेका छन् ।
उनकै कार्यकालमा रामेछाप अस्पताल बागमती प्रदेशको दोसो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । यस्तै उनले हरेक महिना राजधानीबाट ५ जना विशेषज्ञ चिकित्सक ल्याएर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए । अस्पताललाई आफ्नो कार्यकालमा बेरुजु शून्य पारेर उनले पारदर्शिता देखाएका थिए ।