रामेछाप– रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापमा रहेको रामेछाप कारागारमा रहेका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउदा २ कैदीबन्दीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
बिहीवार बिहान कैदीबन्दीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले गोली चलाएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, सेनाले चलाएको गोली लागेर १४ जना कैदीबन्दी घाइते भएका थिए । ती घाइतेमध्ये दुई जनाको रामेछाप अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने बाँकी १२ जनाको उपचार भइरहेको छ ।
मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दामा र अर्का जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका थिए । प्रजिअ थापाकाअनुसार, कैदीबन्दीहरूले कारागारभित्रका ताला फोड्दै बाहिर निस्कने क्रममा मुख्य गेटसमेत तोडेर भाग्न खोजेपछि अवस्था नियन्त्रणभन्दा बाहिर जाने देखिएकाले सेनाले गोली चलाउनु परेको हो ।
रामेछाप नगरपालिका–८ डाँडामा रहेको जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन् । घटनापछि सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई घेराबन्दी गर्दै नियन्त्रणमा लिएको छ । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
हालै देशभरका विभिन्न कारागारमा भाग्ने घटना बढिरहेका बेला तुलनात्मक रूपमा शान्त मानिएको रामेछापमा पनि यस्तो प्रयास भएपछि सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको छ ।
